चाडबाडमा परिवार छाडेर परदेशतिर

रिपोर्ट नेपाल | 2021 Sep 30 | 08:26 am 1265

‘गाई चर्ने बनेली पाखा, भैंसी चर्ने लेक
म कोपिला घरै छाडी, कसरी जाऊँ देश’

धनगढी, असाेज १४: मुगलान पस्नेहरूको लाममा बसी डोटेली भाकाको यही गीत गुनगुनाइरहेका थिए २६ वर्षीय भरत ताम्राकार। यो गीतले बाध्यतामा परी परदेश जानेहरूको पीडा व्यक्त गरेको छ। यसमा कोपिला अर्थात् स–साना छोराछोरी छाडेर कसरी पर्देसिने भन्ने आशय पाइन्छ।

यो पीडा भरत मात्रै होइन, थुप्रै युवाको हो। जो दसैंलगायत चाडबाड आउने बेला मुगलान जान बाध्य छन्। अहिले सोह्र श्राद्ध चलिरहेको छ। यो सकिनेबित्तिकै दसैंको रमझम सुरु हुन्छ। घटस्थापना अर्थात् नवरात्र असोज २१ गते आरम्भ हुँदैछ। राजधानीतिर पढ्न गएका र परदेश गएकाहरू दसैं मनाउन घर फर्किन थालेका छन्। नेपाल–भारत सीमा नाका गौरीफन्टामा एकाबिहानै भारतबाट फर्किनेको लर्को देख्न सकिन्छ। तर, साँझको समयमा त्यत्ति नै संख्यामा भरतजस्ता नेपाली भारत पसिरहेका छन्।

भरतको घर कैलालीको गोदावरी नगरपालिका–३ खमौरामा पर्छ। घरमा २ वर्षको छोरो, श्रीमती, आमा, बुवा र बुढी बज्यै छन्। ऐलानीमा दुई कठ्ठा जग्गा छ। त्यहाँ फल्ने अन्नले परिवारको छाक दुई महिना पनि टर्दैन। ‘भारत नपसे चुलो बल्दैन। यो रहर होइन बाध्यता हो। दसैंको मुखमा गाउँको रमझम, रमाइलो छोडेर परदेश जाने रहर कसलाई पो हुँदो हो ?’ गहभरि आँसु पार्दै उनले भने, ‘श्रीमती हात समातेर रोइन्। बज्यैले रुँदै दसैंपछि जानु भन्दै हुनुहुन्थ्यो। सानो छोरो बुझ्न त बुझ्दैन तर अरू देखेर रुँदै थियो। बाध्यताले भारत पसेको।’ आफू भारत गए पनि मन भने घरमै रहेको पीडा उनले व्यक्त गरे।

उनी भारतको बेंगलोरमा होटलमा काम गर्छन्। पाँच महिनाअघि घर आएका रहेछन्। ‘घरमा खानका लागि अब केही पनि छैन’, उनले भने, ‘झन् दसैंमा खर्च चाहियो। त्यहाँ गएर सेठसँग पेस्की मागेर परिवारका लागि दसैं खर्च पठाउनुपर्ने हो।’ निधारमा रातो टीका लगाएका उनी हातमा एउटा कालो झोला बोकेर भारततिर जाँदै थिए।

खमौराकै ध्रुवराज अवस्थी पनि बेंगलोर जान नाकामा लामबद्ध थिए। भारतमा चौकीदारीको काम गर्ने उनले भने, ‘नेपालमा काम पाउँदैन। दसैं मनाउन पनि त खर्च चाहियो नि ! सुको छैन। भारत नपसेर के गर्नु ?’

४५ वर्षीय अवस्थीको सात जनाको परिवार छ। तीन छोराछोरी स्कुल पढिरहेका छन्। ‘स्कुल खुलिसके। भर्ना गर्न सकेको छैन। घरमा नुनतेलका लागि पनि पैसो छैन’, उनले भने, ‘सेठ (भारतको मालिक)लाई फोन गरँें। काममा आइजा भनेका छन्। त्यसैले मुखैको दसैं छोडेर हिँडेको।’

उनी भारतमा कोरोना महामारीको दोस्रो लहर चलेका बेला घर आएका रहेछन्। परिवारका सदस्यले अहिलेसम्म फर्किन दिएनन्। ‘भारतमा कोरोना छ भनेर घरकाले जान दिएनन्। तर, अब भारतमा कोरोना पनि कम भइहाल्यो। यता घर खर्च चलाउने सबै विकल्प पनि बन्द भइहाले’, उनले भने, ‘दसैंमा कसले ऋण दिन्छ ? त्यसैले बाध्यताले भारत हिनेको।’

कैलालीकै धनगढी उपमहानगरपालिका–१७ उर्मा गाउँका २४ वर्षीय प्रवीण विष्ट काकासँगै भारततिर हिँडेका छन्। ‘नेपालमा नेताहरू भाषण मात्रै गर्छन्। काम दिँदैनन्। भारतमा जानेबित्तिकै काम पाइन्छ’, उनले भने, ‘दसैंमा घर छोडेर जाँदा पीडा त भएको छ। तर के गर्ने ? पीडाले, घरमा बसिराखे खान पुग्दैन।’

उनी पनि लकडाउनका बेला घर आएका थिए। मुम्बईको एक होटलमा वेटरको काम गर्छन्। ‘साहूले फोन गरेर होटल सञ्चालन भइसक्यो, आइजो भन्नुभयो’, उनले भने, ‘जाने खर्च पनि थिएन। साहूले पैसा पठाइ दियो। अनि बाध्य भएर भारत जान लागेको।’

गौरीफन्टा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारत आउजाउ गर्नेको तथ्यांक राख्ने गरेका छन्। जसअुनसार असोज १ देखि १० गतेसम्म भारतबाट फर्किनेको संख्या ४ हजार ९ सय ४२ छ। त्यसको आधाभन्दा बढी २ हजार ५ सय ५६ जना भारत पसेका छन्। यो तथ्यांक गौरीफन्टा नाकाको मात्रै हो। यो तथ्यांकमा महिला र बालबालिका पनि छन्। कतिपय महिला लालाबाला च्यापेर नाकामा लामबद्ध भेटिए।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट भारत–नेपाल आवतजावत गर्न पाइन्छ। विगतमा दसैंको मुखमा उपचार वा कुनै आकस्मिकबाहेक कामका लागि भारत जानेको संख्या न्यून हुन्थ्यो। तर, दुई वर्षयता कोरोनाका कारण अर्थव्यवस्थामा परेको नराम्रो असरका कारण चाडबाडको परवाह नगरी भारत पसिरहेका छन्।

छैन बैंक खाता
भारतमा काम गर्ने नेपाली कमाएको आधा रकम पनि घर पुगाउन सक्दैनन्। निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाश मडैका अनुसार आधाभन्दा बढीसँग बैंक खाता छैन। भन्छन्, ‘उनीहरू या आफैं घर आएका बेला रकम ल्याउने गर्छन् या त कुनै नजिकको मान्छेको हातमा घर पठाउँछन्।’

भारत जानेको परिवारमा बैंक खाता खोल्न कार्यक्रम सञ्चालन गरिएको उनी सुनाउँछन्। ‘अहिले रकम पठाउने धेरै माध्यम छन्। तर, भारतमा काम गर्ने नेपालीहरू अशिक्षित भएकाले पनि उनीहरूले बैंकबाट रकम पठाउन सकेका छैनन्’, उनी भन्छन्, ‘त्यसैले घर आएका बेला, उनीहरूसँग भएको नगद रकम लुटिने खतरा रहन्छ।’

किन जान्छन् भारत ?
स्ुदूरपश्चिम नौ जिल्लाको प्रदेश हो। कैलाली र कञ्चनपुरबाहेक ७ वटा (बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बझाङ र बाजुरा) पहाडी जिल्ला हुन्। त्यहाँको कृषि उत्पादनले चार महिना मात्रै धान्ने गरेको छ।

‘सात पहाडी जिल्लाको उत्पादन अनुपात हेर्ने हो भने हरेक नागरिकले वर्षमा ८ महिना खाद्य वस्तुको जोहो खेतीबाहेक गर्नुपर्छ’, कृषिविज्ञ यज्ञराज जोशी भन्छन्, ‘अनि खानाको जोहो गर्नै भारत हानिनुपर्छ।’

कैलाली र कञ्चनपुरमा केही खाद्य उद्योगबाहेक उद्योगधन्दा, कलकारखाना छैनन्। पहाडी जिल्लामा रोजगारीको अवसर छैन। त्यही भएर निम्न आय भएका व्यक्ति काम गर्न भारत जाने गरेका छन्।

डडेलधुराको भत्काँडा आलुको पकेट क्षेत्र हो। त्यहाँको बेमौसमी आलुले पाँच वर्षयता कैलाली र कञ्चनपुरको मागको आधा धान्छ। त्यहाँ बेमौसमी तरकारी काउली, बन्दा, सिमि, टमाटर सबै तराईको सीजनभन्दा फरक फल्ने गर्छ। तर, भत्काडाबाकेक सातै जिल्लाको हावापानी एउटै हो। उर्वराशक्ति पनि एकनासकै छ।

‘यस्तो उर्वर भूमिमा, युवालक्षित कृषि कार्यक्रम सरकारले ल्याउन सकेको छैन। भारतमा स्याउ टिप्नकै लागि लाखौं नेपाली जान्छन्। आँप टिप्नकै लागि लाखौं नेपाली जान्छन्’, अर्थविज्ञ शिवहरी मुडभरी भन्छन्, ‘तर तराईका जिल्लामा त आँप टिप्ने बगैंचा हामी पनि त बनाउन सक्छौं नि ! तर, इच्छाशक्ति भएन।’

सुदूरपश्चिमबाट भारत जानेको कुनै तथ्यांक छैन। तर, सामान्यतः जनसंख्याको ३० प्रतिशत नेपाली भारतमा सिजनअनुसार रोजगारी गर्न जाने गरेको जनाइन्छ। २०६८ सालको जनगणनाअनुसार यहो प्रदेशको जनसंख्या २५ लाख हाराहारी छ। त्यसको ३० प्रतिशत मान्ने हो भने सिजनअनुसार साढे ७ लाख जना भारतमा कामका लागि जाने गरेका छन्। यसको ९० प्रतिशतभन्दा बढी ज्यालामजदुरी गर्छन्।

‘सामान्यतः भारत गएका नेपालीहरू त्यहाँ गाई फाराममा काम गर्छन्। दूध दुहुने काम गर्छन्। फलफूल टिप्छन्। चौकीदारी गर्छन्। तरकारी लगाउँछन्। तरकारी गोड्छन्। पसलमा काम गर्छन्’, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्टार डा. हेमराज पन्त भन्छन्, ‘त्यही काम यता गर्दा फाइदा छ भन्ने कुरा सिकाउने निति चाहियो।’ अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.