२ कराेड ३२ लाख ठगी गर्ने तीन जना फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 17 | 05:58 pm 1701

काठमाडाैं, माघ ४ः यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर(चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका तीन जना ब्यक्तिहरुलाई बिभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगरका  ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका २, चिसापानीका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ का २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।

अभियुक्तहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नविल बैंक, सनराईज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको थियाे ।

प्रमोद ढुङ्गेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ् कसूर तीन थान मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनको मिति २०७६ पुस २५ गतेको फैसलाले जिल्ला चितवन भरतपुर मनपा १४ हनुमाननगर घर भई कामनपा २६ स्थित रानीबारी अटो प्रा.लि.का संचालक राम बहादुर अधिकारीलाई क्रमशः २१ दिन कैद तथा २ कराेड १६ लाख २४ हजार १ सय जरिवाना, १८ दिन कैद तथा ६ लाख ५० हजार-जरिवाना र १६ दिन कैद र
९ लाख ५० हजार जरिवाना गरी कुल जम्मा ५५ (पचपन्न) दिन कैद तथा २ कराेड ३२ लाख २४ हजार १ सय जरिवाना हुने
ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका निज प्रतिवादीलाई लुकिछिपी बसिरहेको अवस्थामा यस कार्यालयबाट खटीएको टोलिले  आइतबार खैरेनी-८, चितवनबाट पक्राउ गरी आजै सम्मानित चितवन जिल्ला अदालतमा
पेश गरिएको बताइएकाे छ ।

त्यस्तै वुना महत र गितादेवी अधिकारीको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ् कसूर दुई थान मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७ जेठ ३२ र २०७६ चैत १० मा भएको फैसलाले चन्द्रागिरी नपा २ चिसापानीका सुवास थापालाई क्रमश: १० दिन कैद तथा २९ लाख ७९ हजार जरिवाना र ७ दिन कैद तथा ३० लाख जरिवाना गरी जम्मा १७ दिन कैद तथा ५९ लाख ७९ हजार जरिवाना भएकोमा उक्त सजाय वेरुजू रही भागी फरार रहेका
निजलाई यस ब्यूरोबाट परिचालित टोलिले पुल्चोक, चितवनबाट लुकिछिपी बसिरहेको अवस्थामा हिजाे शनिबार फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको बताइएकाे छ ।

त्यसैगरी मिना कुमारी अंगाईको जाहेरीले बादी नेपाल सरकार भएको बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७५ असार २४ गतेको फैसलाले विष्णु अंगाईलाई १  महिना कैद र १० लाख रुपैया जरीवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका निजलाई यस ब्यूरोबाट परिचालित टोलिले लुकिछिपी बसिरहेको अवस्थामा मिति २०७७ माघ १ गते भरतपुर चितवनमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७७ माघ २ गते सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.