संखुवासभा, कात्तिक १८ ।संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको अप्पर अरुण जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको जम्बो टोली अपर अरुण आयोजना आएका हुन् । टोलीले अपर अरुणको ड्यामसाइड, पावरहाउस र सुरुङ मार्गको अवलोकन गरेको छ ।
हिजो शुक्रबार अर्थमन्त्री डा.प्रकाश शरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, संखुवासभाका संघीय सांसद दिपक कार्की, प्रदेशसभा सदस्य राजेन्द्र कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डे एशियाली विकास बैंक (एडिबी)का महानिर्देशक रमेश सब्रमण्यम सहितको टोलीले शुक्रबार आयोजनास्थलको निरीक्षण भ्रमण आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए ।
सरकारले प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ । भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजना गरिएको कार्यक्रममा अर्थ मन्त्री महतले माथिल्लो अरुण जलविद्युत आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनुभयो । स्रोतको सीमितता भएता पनि माथिल्लो अरुणलाई कार्यान्वयनको चरणमा लैजान राम्रो बजेट विनियोजन गरिएको उल्लेख गर्दै मन्त्री महतले स्रोतको अभावमा आयोजना अगाडि बढाउन नसक्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।
लगानीका लागि स्थानीयले चहिएजति सेयर पाउने बताउँदै पूर्वऊर्जा मन्त्रीसमेत रहनु भएका महतले देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना अब लगानी जुटाउने तहमा पुगेको उल्लेख गर्नुभयो । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने २ हजार २५ हेक्टर निजी जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुने छन् ।
(राजधानीबाट)