मकवानपुर, जेठ ७ः स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार मीना लामा विजयी बनेकी छन् । शुक्रबार राति सार्वजनिक मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले दुई हजार १६७ मत अन्तरसहित नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामाले २३ हजार ७५ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका थिए । बागमती प्रदेशको एक मात्र उपहानगरपालिकाको पहिलो महिला नगर प्रमुख लामाले आफ्नै नेतालाई पराजित गर्दै आगामी पाँच वर्षका लागि प्रमुखमा निर्वाचित भएकी छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित लामाले एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेसँगै एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि एमालेका सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । बानियाँ २०७४ को स्थानीय तह निर्वाचनमा हेटौँडा वडा नं. ५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
हेटौँडा उपमहानगरपालिकामा एक लाख चार हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४ मत खसेको थियो । गाेरखापत्र दैनिकबाट