हामीसँग के छ ?

रिपोर्ट नेपाल | 2023 Jan 25 | 08:32 am 661

तपाईं-हामी जतिसुकै ठुलो, असल, विद्वान् या पदीय दायित्व बोकेको ब्यक्ति भएपनि अस्पताल पुगेपछि हाम्रो परिचय उमेर, ब्लड ग्रुप, तौल र रोगसँग सम्बन्धित हुन्छ । देशको ठुलो ओहदावाला ब्यक्ति या सर्वसाधारण जो भए पनि अस्पतालमा तपाईं यति नम्बर बेडको बिरामी र मरेपछि लाश हो ।

बबिता बस्नेत

२०७८ साल असोजको कुरा हो, दाँत दुखेर हैरान भएपछि डेन्टिष्टकहाँ गएँ । दाँत दुखाइको पीडा कति हुन्छ त्यो भोग्नेहरूलाई थाहा हुन्छ । डाक्टरले दाँत बचाउन नसक्ने देखेपछि उखेलेर फाल्ने सल्लाह दिए । कुनै उपाय थिएन, दाँत निकालियो । त्यसअघि पनि केही दाँत निकालिएका र केहीचाहिँ जरादेखि नै भरेर बनाइएका थिए । खोलेको ठाउँमा दाँत राख्ने कुरा भयो, एउटा दाँत रोपेको ३५ हजारदेखि १ लाख रुपैयाँसम्म पर्दोरहेछ । ओहो… ! ३२ वटा दाँत हुनेले मुखमा मात्रै ३२ लाख रुपैयाँ बोकेर हिँड्दोरहेछ भन्ने लाग्यो । कपाल नहुनेहरूले केही महिनाका लागि कपाल लगाएको पाँच हजारदेखि २ लाख ५० हजारसम्म पर्नेरहेछ । हिजोआज कपाल रोप्ने प्रविधि पनि आएको छ । टाउकोमा नयाँ कपाल रोपेको एउटा कपालको २० रुपैयाँ र सोभन्दा माथि पर्छ भन्ने थाहा पाएपछि लाग्यो- ‘यही अनुपातमा हिसाब गर्ने हो भने हाम्रो टाउकोमा भएका हजारौँ कपालको मूल्य कति पर्दो हो ?’ हिजोआज कपाल झर्दा एकपल्टमा कपालसँगै सैयौँ/हजारौँ रुपैयाँ झरेजस्तो लाग्छ । कपाल या दाँत झर्दा मनमा हुने अनुभूतिको त पैसासँग तुलना गर्नै मिल्दैन ।

केही दिनअघि एउटा अस्पताल पुग्दा आफ्नो शरीरमा भएका विभिन्न अङ्ग गुमाउनुको दुःख झेलिरहेका मानिसहरू देखेँ, भेटेँ । फोक्सो स्वस्थ हुँदा सहज रूपमा फेरिएको सासको वास्तै गरिँदैन, जब अक्सिजन लाउनुपर्ने अवस्थामा पुगिन्छ अनि हामीले जन्मदैदेखि सित्तैमा लिइरहेको हावा र फेरिरहेको सासको महत्व हुन्छ । यही सास फेर्ने फोक्सोलाई मानिसले खान, मिल्ने, नमिल्ने, तान्न मिल्ने नमिल्ने अनेक कुराको प्रयोग गरेर दुःख दिइरहेका हुन्छन् । केही अपवादलाई छोडेर आफ्नो स्वास्थ्य बिगार्नुमा सबैभन्दा बढी हाम्रो आफ्नै भूमिका रहेको हुन्छ । प्रकृतिले हामीलाई के-के कुरा सित्तैमा दिइरहेको छ भन्ने मानिसले आफू बिरामी परेपछि थाहा पाउँछ । खानपान अहिले हाम्रो स्वास्थ्य बिग्रनुको मुख्य कारण हो । हामी प्राकृतिक कुराहरूबाट टाढा र कृतिम खानासँग नजिक हुन थालेपछि अस्पतालको सङ्ख्या बढ्दै गएको हो । हामीले आफ्नो जीवनशैली परिवर्तन नगर्ने हो भने अस्पताल र स्वास्थ्यकर्मीको सङ्ख्या भविष्यमा झनै बढाउनुपर्ने अवस्था आउनेछ ।

आनन्दले निदाउन सक्ने पूर्णतः आफूसँग रहेको सिङ्गो रातलाई हामी अबेलासम्म मोबाइल हेरेर छोटो बनाइरहेका छौँ । जसले समय मात्र नभइ हाम्रो जिन्दगी नै छोटो बनाउने अवस्था नआउला भन्न सकिन्न ।

हाम्रा पुर्खाहरूलाई अस्पताल र औषधिको बारेमा जानकारी थिएन । आयु राम्रै थियो । रोप्थे, उमार्थे, फलाउँथे, प्रकृतिसँग रमाउँथे, प्राकृतिक कुरा खान्थे । कतिपयले उपचारको अभावमा अल्पआयुमा ज्यान गुमाउनुपनि प¥यो होला, तर त्यस्तो सङ्ख्या सानो हुन्थ्यो । करिब सय वर्षअघिको मात्रै कुरा गर्ने हो भने पनि एउटै डाक्टरले कुनै मानिसको शरीरमा के भएको हो ति सबै हेर्थे । अहिले शरीरका अङ्गपिच्छे डाक्टर छन । औषधि त के-के हो, कति हो भनेर साध्य छैन । कतिपय अस्पताल औषधिको ब्यापारकै लागि खुलेका छन् । मानव शरीर औषधि ब्यापार बढाउने प्रयोगशाला बनिरहेका छन् । धेरैजसो अस्पतालमा गर्नैनपर्ने टेष्टहरू गरेर आम्दानीको प्रमुख श्रोत नै ल्याबहरू बनाइएको छ । हामीमध्ये कति मानिसहरू यस्ता कुरासँग जानकार भएरपनि केही गर्नसक्ने अवस्थामा छैनौंँ, कतिलाई यस्ता कुरा थाहा नै हुँदैन । हाम्रो जीवनशैली र खानपान स्वस्थ भयो भने पुस्तेनीलगायतका केही रोगबाहेक अरु लाग्नै नदिन सकिन्छ तर हामी त्यो दुःख गर्दैनौँ ।

मानिससँग जे छैन त्यसको महत्व धेरै हुन्छ । कतिलाई सन्तान बढी भए भन्ने चिन्ता हुन्छ, कतिचाहिँ गर्भपतनका लागि अस्पताल र क्लिनिकमा लाइन लागिरहेका हुन्छन् । आफ्नो सन्तान नहुनेहरूले सेरोगेसी या टेष्टट्युब बच्चा जन्माउँदा लाखौँ रुपैयाँ लाग्छ । सेरोगेसी बच्चाका लागि २५ लाखसम्म खर्च हुने रहेछ । प्रकृतिले हाम्रा हरेक अङ्गलाई उत्तिकै महत्वपूर्ण बनाइदिएको छ । योभन्दा त्यो कम महत्वको भन्ने नै छैन । मुटु, कलेजो, फोक्सो, आँखा, हात खुट्टा, बाहिरी-भित्री सबै अङ्गहरू उत्तिकै महत्वपूर्ण छन् । एउटा सरसाउँदो सग्लो जीवन बाँच्न पाउनु कति ठुलो कुरा हो भन्ने कुरा हामीलाई आफूसँग ती सबै अङ्ग हुन्जेल अनुभूति नै हुँदैन ।

‘स्वास्थ्य नै धन हो’ भन्ने भनाइ विश्वब्यापी छ । भागवत गीता यस्तो शास्त्र हो जहाँ जीवन र जगतका सबै विषयमा उल्लेख गरिएको छ । शारीरिक र मानसिक स्वास्थ्य हामीले खाने भोजनसँग सम्बन्धित छन् भन्ने कुरा बुझाउनलाई विभिन्न कथाहरूको सिर्जना गरिएको छ । पहिला-पहिला खाना खाँदा अलिकति सबै कुराहरू चढाएर खान सुरु गरिन्थ्यो जसलाई औसानी हाल्ने भनिन्थ्यो । गीतामा कृष्णले तिमी जे खान्छौ त्यो पहिला मलाई चढाउ भन्नुभएको छ । के चढाउने ? पनि उल्लेख छ । प्रेम र भक्तिका साथ पत्र, पुष्प, फल र जल भनिएको छ । यसको अर्थ फलफूल, पानी, सागपात बढी खाउ भनेको हो । तर हामीमध्ये धेरैले त फलफूल खाने भनेको बिरामी हुँदा हो । बिरामी नहुनलाई खानुपर्ने कुराहरू हामी बिरामी परेपछि खान्छौँ । ती पनि अनेक विषादि हालेर अस्वस्थ बनाइएका हुन्छन् ।

एउटा दाँत रोपेको ३५ हजारदेखि एक लाख रुपैयाँसम्म पर्दोरहेछ । ओहो… ! ३२ वटा दाँत हुनेले मुखमा मात्रै ३२ लाख रुपैयाँ बोकेर हिँड्दोरहेछ भन्ने लाग्यो । कपाल नहुनेहरूले केही महिनाका लागि कपाल लगाएको पाँच हजारदेखि २ लाख ५० हजारसम्म पर्नेरहेछ ।

हामी जुनसुकै पेशा, ब्यवसायका मानिस हौँ, ‘सेल्फ केयर’ अर्थात् आफूले आफैलाई गर्ने हेरचाह निकै महत्वपूर्ण छ । हामी आफैले आफ्नो वास्ता गरेनौँ भने अरुले आएर गरिदेला भनी सोच्नु बेकार हो । अरुले गरिदिएर साध्य हुने कुरा पनि होइन । मानसिक स्वास्थ्य झन् डरलाग्दो भएर बढ्दैछ । खनापान मात्र नभइ सामाजिक संजालको अत्याधिक प्रयोगले हामीलाई मानसिक बिरामी बनाउँदै छ । हाम्रा पुर्खाहरू घाम उदाउनुअघि उठ्थे, अस्ताउनुअघि बेलुकाको खाना खान्थे र रात परेपछि सुत्थे । हामीमध्ये धेरै अहिले राति अबेलासम्म मोबाइल हेरेर बस्छौँ, इन्टरनेटमा राम्रा, नराम्रा, रिस उठाउने, हँसाउने अनेक कुरा आउँछन् । भोजनले शरीरमा असर गरेजस्तै गरी सूचना, जानकारी, कुराकानीले हाम्रो मानसिकतामा असर पुऱ्याउँछ । एकातिर राति ढिलोसम्म बस्दाको असर अर्कोतिर हामीले हेर्ने सामग्रीको । आँखादेखि मानसिक स्वास्थ्यसम्मलाई मोबाइलले असर गरिरहेको छ । यो क्रम घट्ने अवस्था देखिँदैन । आनन्दले निदाउन सक्ने पूर्णतः आफूसँग रहेको सिङ्गो रातलाई हामी अबेलासम्म मोबाइल हेरेर छोटो बनाइरहेका छौँ । जसले समय मात्र नभइ हाम्रो जिन्दगी नै छोटो बनाउने अवस्था नआउला भन्न सकिन्न । हामीले खाने मात्र नभइ हेर्ने र पढ्ने कुरामा पनि ‘सेल्फ केयर’ आवश्यक छ । के हेर्ने, के नहेर्ने, कति समय हेर्ने या कस्तो सन्देश लिने ।

तपाईं-हामी जतिसुकै ठुलो, असल, विद्वान् या पदीय दायित्व बोकेको ब्यक्ति भएपनि अस्पताल पुगेपछि हाम्रो परिचय उमेर, ब्लड ग्रुप, तौल र रोगसँग सम्बन्धित हुन्छ । देशको ठुलो ओहदावाला ब्यक्ति या सर्वसाधारण जो भए पनि अस्पतालमा तपाईं यति नम्बर बेडको बिरामी र मरेपछि लाश हो । म अहिले पनि सम्झिन्छु, २०४७ सालको मङ्सिरमा स्वर सम्राट नारायण गोपालको शवयात्रामा म रिपोर्टिङमा थिएँ । त्यो विशाल भिडमा मानिसहरू नारायण गोपाललाई कहाँ पुऱ्याए होला भनेर सोधिरहेका थिएनन्, लाश कहाँ पुऱ्याए होला है भनिरहेका थिए । जिन्दगीमा पहिलोपल्ट मलाई यति ठुलो नामी मान्छेलाई पनि मरेपछि लाश मात्रै भनिँदोरहेछ जस्तो लागेको थियो । त्यसैले जिन्दगीका अनेक बाध्यता र दौडधुपका बीच आफूलाई समय दिऔँ । सवल शरीर र सही मानसिक अवस्था हुनु आफैंमा ठुलो कुरा हो । जीवनमा यो भएन, त्यो भएन भनेर आफूसँग भएको अमूल्य शरीर, मन र मष्तिष्कसँग खेलबाड नगरौँ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.