स्वस्थानीको खास सन्देश

| 2024 Jan 26 | 08:07 am 161

विश्वनाथ खरेल

काठमाडौँ, माघ १२। नेपाली समाजमा श्रीस्वस्थानीको व्रत चलिरहेको छ। महिनाभर स्वस्थानी व्रत विधिअनुसार एक छाक खाएर मध्याह्नकालमा श्रीमहादेव र स्वस्थानी परमेश्वरीको पूजा गरी व्रत बस्ने काम भइरहेको छ। फलतः विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा स्वस्थानीको विशेष पूजा आराधना गर्दैछन्। यसरी स्वस्थानी व्रत चलिरहँदा समाजमा विभिन्न किसिमका तर्कवितर्क चलिरहेछन्।

मूलतः स्वस्थानी व्रतले महिला हिंसालाई प्रश्रय दियो, पुरुषवादी सोचले लेखिएको कथा किन अहिलेका महिलाले किन पढ्ने ? पुरुषवादी सोचको व्रतलाई किन निरन्तरता दिने ? लगायतका प्रश्न उठेका छन्। व्रत स्वस्थानीको भन्ने गरिए पनि महिनाभरि महादेवको पूजा गर्ने गरेको अर्थात् महिलाको नामको व्रत भए पनि पुरुषकै पूजा भएको एकथरीको भनाइ छ। आफूलाई आधुनिक देखाउन विभिन्न प्रसंग उठाएर तर्क गरे पनि सनातन हिन्दु धर्ममा महिला र पुरुषलाई बराबर मान्यता दिएको बुझिन्छ। यसमा व्रतालु महिनाले पौष शुक्लपूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत सुरुवात गर्छन्। माघ शुक्लपूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एक छाक चोखो खाई १०८ पान, १०८ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ।

व्रत समाप्तिको दिन ती रोटी, पानसुपारी श्रीमान्, नभए छोरा, नभए मितछोरा, उनी पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ। यसरी स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति र समृद्धि मिल्नुका साथै रोगव्याधि पनि नष्ट हुने विश्वास गरिन्छ। अतः काठमाडौंको उत्तर–पूर्व रहेको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्छ।

स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घरघरमा गरिन्छ। नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परम् पवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रतकथा हो। यो नेपालमा स्वस्थानी माताको पूजाको ठूलो महत्त् छ। अखण्ड सौभाग्य, उत्तमपति, ऐश्वर्य एवम् शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ। स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ। यो स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन्। यसमा पनि प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ। यो कथा एक महिनामा सक्नुपर्छ। यो नसकिएमा कुनै दिन दुई–दुई अध्याय भनेर पनि सक्नुपर्छ।

स्वस्थानी व्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन्। तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्न्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ८० वर्षको बूढो तेरो पति होस् भन्ने श्राप पाइन्। त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो।
(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.