स्थानीय चुनाव समयमै गर्न राष्ट्रपतिको आग्रह

रिपोर्ट नेपाल | 2022 Jan 28 | 07:52 am 341

काठमाडौं, माघ १४: राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सुझाव दिएकी छिन्। बिहीबार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानअनुसार समयमै निर्वाचन गर्न सुझाव दिएकी हुन्। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका थिए।

सो क्रममा निर्वाचनका विषयमा चासो राख्दै भण्डारीले संविधानको मर्मअनुसार समयमै तीनै तहका निर्वाचन गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए। ‘संविधानको मर्मबमोजिम स्थानीय निर्वाचन गर्नुपर्छ भन्नुभयो,’ राष्ट्रपतिको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार ढकालले भने, ‘संविधानको कार्यान्वयन हुनुपर्छ भन्ने राष्ट्रपतिको जोड रह्यो।’

प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे दलहरूसँग परामर्श भइरहेको जवाफ दिएका थिए। ‘संविधानको कार्यान्वयनमा सरकार अडिग छ,’ देउवाको जवाफ थियो, ‘संविधानको भावनाबमोजिम नै निर्वाचन हुन्छ।’

करिब एक घण्टा भएको छलफलमा प्रधानमन्त्री देउवाले बुधबार सम्पन्न भएको राष्ट्रियसभाको चुनाव, संसद् अवरोध र देशको समसामयिक विषयमा राष्ट्रपतिलाई जानकारी गराएको ढकालले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.