चिसोले मेरो र बच्चाको मुख, आँखा, हातखुट्टा सुन्निएका छन्, न न्याना लुगा पाएकी छु, न त पेटभरि खान नै : विमला तिरुवा (१९ दिनकी सुत्केरी)
जाजरकोट, मङ्सिर ४।जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उनी बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।
चिसोले शरीर दुख्नुका साथै रुघाखोकीसमेत लागेको उनले बताइन् । ‘मेरो र बच्चाको बिजोग छ,’ उनले भनिन्, ‘पर्याप्त खानेकुरा छैन, भएको चामल पनि सकिन थालेको छ । न्याना कपडा छैनन्, रातभर शरीरमाथि शीत चुहिन्छ ।’ चिसोले रुघाखोकी बढेपछि केही दिनअघि बच्चालाई अस्पताल लिएर गएको उनले बताइन् ।
‘सुत्ने ठाउँमा शीत चुहिन्छ, चिसोले बच्चा र मलाई स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भनिन्, ‘बच्चा र मेरो मुख, आँखा, हातखुट्टा सुन्निएका छन् । न न्याना लुगा पाएकी छु, न पेटभरि खान नै ।’
भाडामा बस्दै आएको घर भूकम्पमा भत्किएर बस्न नमिल्ने भएपछि उनको परिवार पालमा बस्न थालेको हो । भूकम्प आएको दिन उनी ३ दिनकी सुत्केरी थिइन् । ज्याला मजदुरी गर्ने उनका श्रीमान् भूकम्पपछि काममा जान पनि पाएका छैनन् । अहिले ५ जनाको परिवारलाई के खाने भन्ने चिन्ता रहेको उनले बताइन् । भाडामा बस्ने भएकाले स्थानीय सरकारले पनि चासो नदिएको उनको गुनासो छ । त्रिपालमा बस्न थालेपछि सन्चो नभएको दल्लीकी ९ महिनाकी गर्भवती १९ वर्षीया पूजा पुनले बताइन् । ‘मंसिर १४ मा डाक्टरले सुत्केरी हुने मिति दिएका छन्,’ उनले भनिन्, ‘अहिलेदेखि नै शरीर दुख्ने, हातखुट्टा सुन्निने समस्या देखिएको छ ।’ रातभरि चुहिने शीतले दिन प्रतिदिन गाह्रो हुँदै गएको उनले बताइन् ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनको क्रममै रहेको उनले बताइन् ।
रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् । सल्यानमा भूकम्पबाट ज्यादै प्रभावित दार्मा गाउँपालिका हो । पालिकाले भूकम्पबाट प्रभावित बालबालिका, गर्भवती र सुत्केरीको लगत संकलन जारी रहेको बताएको छ । तीन सयभन्दा बढी बालबालिका प्रभावित भएको अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार १ सयको हाराहारीमा गर्भवती र सुत्केरी प्रभावित भएका छन् ।
भूकम्पका कारण घर भत्किएपछि जाजरकोटका झन्डै ६७ हजार परिवार घरबारविहीन बनेका छन् । त्यसमध्ये ३० हजार ४ सय १३ परिवारले राहतस्वरूप एक/एक थान त्रिपाल मात्र पाएका छन् । एउटा त्रिपाल र कम्बलको भरमा मंसिरको चिसो रात कटाउन सास्ती भएको छ । ‘यस्तो ठिहिरोमा ५/६ जनाको परिवार एउटा कम्बलको भरमा त्रिपालमुनि कसरी रात कटाउने ?,’ लुहादहस्थित आधारभूत विद्यालयका शिक्षक प्रकाश नेपालीले भने, ‘यो हिमपात हुने ठाउँ हो, रातभरि शीत चुहिन्छ, बिहान तुसारो जमिरहेको हुन्छ ।’ उनका अनुसार कतिपय भूकम्प प्रभावित त चिसो छल्न रातभरि आगो तापेर जाग्राम बस्न बाध्य छन् ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले हिमपात हुने ठाउँमा भूकम्प प्रभावितलाई चिसो थेग्नै मुस्किल भइरहेको बताए । ‘यहाँ पुस/माघमा सधैं हिउँ पर्छ, यस्तो ठाउँमा एकसरो त्रिपालले कसरी चिसो धान्ला ?,’ उनले भने, ‘अधिकांश पीडितको पालमुनि पनि शीत चुहिन्छ, स्वस्थ मान्छे पनि एक रात त्रिपालमुनि सुते बिरामी हुने अवस्था छ, कसरी बचाउने ?’ उनका अनुसार सबैजसो वडामा झन्डै ५० देखि एक सय जना भूकम्पपीडित चिसोका कारण बिरामी परेका छन् । भूकम्प प्रभावितको उपचारका लागि सबै वडामा औषधिसहित प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
चिसोका कारण गाउँगाउँमा भूकम्प प्रभावितहरू थलिन थालेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि बताए । एकसरो लुगाको भरमा रहेका भूकम्प प्रभावितलाई रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेको उनले सुनाए । भने, ‘पालिकाभरि झन्डै ४ हजार ३ सय घर भत्किएर बाहिर खुला स्थानमा बसेका सबैजसो परिवारमा स्वास्थ्य समस्या नभएका मानिस भेट्टाउनै मुस्किल भएको छ । त्रिपालैपिच्छे बिरामी छन् ।’ अध्यक्ष गिरीले आइतबारदेखि उनीहरूको उपचारका लागि प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी खटाएको बताए ।
भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको नलगाड नगरपालिकामा चिसोका कारण झाडापखाला, ज्वरो, रुघाखोकी बढिरहेको छ । नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेको बताए । भेरी नगरपालिका प्रमुख चन्द्रप्रसाद घर्तीले पनि बालबच्चा, गर्भवती र ज्येष्ठ नागरिकको त्रिपालको बसाइ कष्टकर बनेको बताए ।
जिल्ला अस्पताल प्रमुख डा. प्रतीक्षा भारतीले दैनिक एक सय जनासम्म बिरामी जिल्ला अस्पतालमा उपचारका लागि आइरहेको बताइन् । चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिगि्रँदै गइरहेको उनको भनाइ छ । ‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको छ,’ उनले भनिन्, ‘बालबालिकामा पनि निमोनिया, ज्वरो र रुघाखोकीको समस्या पनि बढिरहेको छ ।’
उनका अनुसार अस्पतालमा आउने झन्डै ८० प्रतिशत बिरामी चिसोकै बिरामी छन् । ‘जटिल अवस्थाका झन्डै २ दर्जन बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको छ,’ उनले भनिन्, ‘तर औषधि र स्वास्थ्यकर्मी पर्याप्त भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने छैन ।’
(कान्तिपुरबाट)