सशस्त्र प्रहरीद्धारा गाजाँसहित चार जना पक्राउ

| 2021 Oct 09 | 09:45 pm 217

झापा, असाेज २३ः जिल्लाको मेचि नगरपालिका ८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करिब  १० के.जी ४ सय १० ग्राम  गाजाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका ४ बस्ने २९ बर्षीया फुलमाया स्याङ्गतान र अर्जुन मोक्तान रहेका छन् । त्यसबेला सशस्त्र प्रहरीले फुलमाया स्याङ्गतान बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करिब ५ सय ५५ ग्राम गाजाँ भेटेपछि सोही नगरपालिका १० बस्ने ५२ बर्षीय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको छ ।

मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाजाँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद गाजाँ तथा अटोसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब  ३ के.जी  गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अबैध रुपले आउदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ८ बस्ने ४५ बर्षीय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए ।

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित कवलपुर ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड लत्ताकपडा र सुर्ती  बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी रौतहट जिल्लाको पहोर नगरपालिका ८ स्थित नरकटीयाबाट सशस्त्र प्रहरीले करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाइलसेट बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त मोवाइलसेट  सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश नरकटियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा, मोटरपार्टस तथा किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.