माेरङ, माघ ६ः प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए।
अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिनेछ। छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो। ‘सदन चल्ने कुरो हो, जे पनि हुन सक्छ। पहिलेका उदाहरणबाट पाठ सिकेको हो’, सचिवालयका एक कर्मचारीले कुर्सी मिलाउँदै भने।
पहिले प्रतिपक्षी दल नेपाली कांग्रेस अल्पमतमा हुँदा प्रदेशमा नेकपाको दुई तिहाइ बहुमतको सरकार थियो। बहुमतमा अधिकांश प्रस्ताव पारित हुँदै आए पनि अहिले बहुमतभित्रै दुई समूह भएकाले यसपटकको सदन अलि विशेष हुन सक्ने कुरालाई ध्यानमा राख्दै सुरक्षाको दृष्टिकोणमा पनि मजबुत बनाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए।
बर्खे अधिवेशन कोरोना भाइरस संक्रमणका कारण ‘स्क्रिन सेयरिङ’मार्फत दुई हलमा सांसदलाई राखेर सम्पन्न गरिएको थियो। यसपटक भने कोरोना संक्रमण घटेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै साविककै हलमा सबैलाई राखेर बैठक सञ्चालन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि एकले अर्को समूहका सांसदलाई कारबाही र निलम्बन गर्ने लहर चलेको छ। सांसद निलम्बन गर्दै प्रदेशसभामा उपस्थित नै नहुने र छेक्नेसम्मका योजना बन्न थालेको पाइएपछि तयारी मजबुत पारिएको सचिवालयले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट