– एमालेको चियापानमा देउवाले मुस्कुराउँदै फोटो खिचाए, प्रतिक्रिया दिएनन्
– प्रचण्डसँगको सम्बन्धबारे ओलीले भने– राम्रै लक्षण छ अहिले त
काठमाडौँ, कात्तिक १६ । प्रमुख दलले शान्ति प्रक्रियाको मुख्य सरोकार रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल टुंगो लगाउने गरी समझदारी बनेको सन्देश दिएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमण सकेर अमेरिका फर्किएलगत्तै ‘निर्णायक’ छलफलमा जुटेका शीर्ष नेताहरूले यस्तो सन्देश दिएका हुन् ।
दसैँसहितका राष्ट्रिय चाडहरूको सन्दर्भमा बुधबार एमालेले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा उनीहरूले संक्रमणकालीन न्याय टुंग्याउने एउटा समझदारी बनेको दाबी मात्र गरेनन्, यसअघि नै नटुंग्याएर केही कमजोरी गरेको स्वीकारसमेत गरे । बुधबारै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारीनिवास बालुवाटारमा सत्यनिरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विधेयककेन्द्रित छलफल राखेका थिए ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको उक्त छलफलपछि एमालेको चियापानमा सहभागी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले विधेयक टुंग्याउने दिशामा अगाडि बढेको सन्देश दिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने सञ्चारकर्मीलाई प्रतिक्रिया नदिई बाहिरिएका थिए ।
राउन्ड टेबलमा शीर्ष नेता
एमालेले बुधबार आयोजना गरेको चियापानमा शीर्ष नेताहरू । तस्बिर : रासस
प्रधानमन्त्री प्रचण्डले शीर्ष तहमा संक्रमणकालीन न्यायका विषयमा एउटा समझदारी बनेकाले छिट्टै टुंगो लाग्ने दाबी गरे । ‘आज बिहान मात्रै नेपाली कांग्रेसका सभापति, एमालेका अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्टान्डिङ बनेको छ, छिट्टै टुंगिन्छ यो,’ प्रधानमन्त्रीले भने, ‘हामीले पटक–पटक भिक्टिम नै सेन्टरमा रहने भनेका छौँ । विधेयकमा पनि त्यही कुरा छ ।’
एमाले र कांग्रेस दुवैले गरेको चियापान कार्यक्रमले पार्टीहरूको बीचमा समझदारीको वातावरण बनाएको र आफूले पनि त्यसका लागि पहल गरेकोसमेत प्रधानमन्त्रीले बताए । ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । सकारात्मक भएको छ । अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु,’ उनले भने ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले पीडितकेन्द्रित भएर सहमतिका साथ छिट्टै संक्रमणकालीन न्याय टुंगो लगाइने बताए । संक्रमणकालीन न्याय टुंगो लगाउँदा सर्वोच्च अदालतको आदेश र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले व्यवस्था गरेका सीमाहरूलाई समेत ध्यान दिइनुपर्ने उनको भनाइ छ ।
‘अब छिट्टै सहमतिका साथ टुंग्याउने हो र भिक्टिम सेन्ट्रिक (पीडितकेन्द्रित) भएर टुंग्याउनुपर्छ । सर्र्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानव अधिकार काउन्सिलका कुरा पनि ध्यान दिनुपर्छ,’ ओलीले भने । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटघाट भएको बताउँदै उनले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा परिस्थिति सकारात्मक दिशातिरै अगाडि बढेको संकेत पनि गरे । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणअगावै टुंग्याइएको भए सकारात्मक सन्देश जाने ओलीको संकेत थियो । ‘हामीले अलिकति के मिस्टेक गरेछौँ भने योभन्दा अगाडि नै टुंग्याउनुपथ्र्यो,’ सहमतिको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने ।
देउवाले मुस्कुराउँदै फोटो खिचाए, प्रतिक्रिया दिएनन्
एमाले चियापानमा केपी ओलीसँग हात उठाएर र संयुक्त अभिवादनमार्फत खुसियाली साटेका कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन देखिए । पछिल्लो राजनीतिक परिस्थिति र शान्ति प्रक्रियाका सन्दर्भमा सञ्चारकर्मीहरूले जिज्ञासा राख्न खोज्दा पनि देउवा केहीबेर मात्र मञ्चमा देखा परेर कार्यालय परिसरको पछिल्लो भागमा रहेको भिआइपी कक्षतिर गएका थिए । ओलीले सञ्चारकर्मीतिर फर्किएर सम्बोधन गर्न इसारा गरे पनि देउवाले फोटो मात्रै खिचाए, प्रतिक्रिया दिन रुचाएनन् । उनी प्रधानमन्त्री प्रचण्ड पुगेको करिब एक घण्टापछि चियापानमा पुगेका थिए ।
प्रफुल्ल मुद्रामा प्रचण्ड–ओली
प्रचण्डसँगको सम्बन्धबारे ओलीले भने– राम्रै लक्षण छ अहिले त
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बढेको राजनीतिक दूरी पनि घट्दै गएको संकेत एमाले चियापानमा देखियो । दुई नेता निरन्तर मुस्कानसहित भलाकुसारी गरिरहेका देखिन्थे । अहिले प्रचण्डसँगको सम्बन्ध सुमधुर रहेको व्याख्या ओली स्वयंले गरिदिए ।
प्रचण्डसँग कुनै तिक्तता नरहेको भन्दै ओलीले सुनाए, ‘अघि प्रधानमन्त्री र म सँगै थियौँ । तपाईंहरूले देखिहाल्नुभो, हाम्रो चेहरा, हाउभाउ देख्नुभो, हात हल्लाएको, मिलाएको देख्नुभो । मुस्कुराएको, खुसी भएको देख्नुभो । एउटै चाडमा, एकै ठाउँमा खुसियाली मनाएको देख्नुभो, राम्रै लक्षण छ अहिले त ।’
ओलीले चाडपर्वका अवसरमा आयोजित शुभकामना कार्यक्रममा राजनीतिक विषयमाथि टिप्पणी गर्नु वाञ्छनीय नहुने पनि बताए । ‘चाडपर्व, शुभकामनाको कार्यक्रममा अरू खालका कुरा कहाँनेर कसको के कमजोरी रह्यो आदि कुराहरू निकाल्दा चाडको महŒव, गरिमामा अलिकति प्रश्नचिह्न खडा गर्छ,’ उनले भने, ‘हामी सँगै बसेर चिया खायौँ, सँगै बसेर खुसियाली मनायौँ, सँगै बसेर उत्सव मनायौँ, त्यसपछि कुनै प्रकारका टीकाटिप्पणी वाञ्छनीय हुँदैन । सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु ।’
चियापानमा भिआइपीसहितको बृहत् राजनीतिक जमघट
चियापान र शुभकामना आदान–प्रदान कार्यक्रममा एमाले नेता–कार्यकर्ताबाहेक विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूदेखि राज्यका निकायका व्यक्तित्वहरू, पूर्वराष्ट्रसेवक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बृहत् जमघट भयो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्नि सापकोटा, रास्वपा अध्यक्ष रवि लामिछाने, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, जसपा अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, माले महासचिव सिपी मैनालीलगायत नेताहरू, मन्त्री तथा सांसदहरू, राज्यका विभिन्न निकाय र कूटनीतिक निकायका प्रमुखहरू, उद्योगी व्यवसायी, पेसाकर्मीसहितको जमघट थियो । कार्यक्रममा कर्मचारी क्षेत्रबाट उपल्लो तहका अधिकारी, राष्ट्रिय कलाकारहरूको भने उल्लेख्य उपस्थिति थिएन ।
चिनियाँ राजदूत चेन सोङ चियापानमा पुग्दा भारतीय राजदूत नवीन श्रीवास्तव बाहिरिसकेका थिए । भारतीय राजदूत बाहिरिएलगत्तै ओलीले चिनियाँ राजदूतलाई स्वागत गर्दै छोटो संवाद गरेका थिए ।
चियापान र शुभकामना कार्यक्रममा ओलीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा‘बादल’, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष अमृत बोहोरालगायतले आगन्तुकलाई स्वागत गरेका थिए ।
चियापानमा गएनन् माधव नेपाल र घनश्याम भुसाल : ओलीसँग झलनाथको कानेखुसी, झाँक्रीले दिइन् बुकी
पार्टी फुटसँगै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी र उसका नेताप्रति कटु टिप्पणी गर्दै आए पनि चियापानमा भने सहभागिताका लागि निम्ता गरेका थिए । तर, एमाले चियापानमा उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत अधिकांश नेता सहभागी भएनन् ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्रीलगायत केही नेता मात्र सहभागी भए । खनालले मञ्चमा रहँदा ओलीसँग पटक–पटक कानेखुसीसहित संवाद गरेका थिए । त्यस्तै, झाँक्रीले बुकीफूलसहित अध्यक्ष ओलीलाई शुभकामना दिएकी थिइन् ।
समझदारी बनेकाले संक्रमणकालीन न्याय छिट्टै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड
आज बिहान मात्रै कांग्रेसका सभापति, एमालेका अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिन्छ । हामीले पटक–पटक भिक्टिम नै सेन्टरमा रहने भनेका छौँ । विधेयकमा पनि त्यही कुरा छ । मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । सकारात्मक भएको छ । अस्ति कांग्रेसले गरेको र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।
हामीले यसअघि नै नटुंग्याएर अलिकति गल्ती गरेछौँ : केपी ओली
पीडितकेन्द्रित भएर सहमतिका साथ छिट्टै संक्रमणकालीन न्याय टुंगो लगाउनुपर्छ । सर्र्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनुपर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानव अधिकार काउन्सिलका कुरा पनि ध्यान दिनुपर्छ । हामीले अलिकति के मिस्टेक गरेछौँ भने यसलाई योभन्दा अगाडि नै टुंग्याउनुपथ्र्यो ।
(नयाँ पत्रिकाबाट)