लिमीलगायत उच्च क्षेत्रमा हिमपात हुँदा कैलाशको दर्शन गर्ने पर्यटक प्रभावित

रिपोर्ट नेपाल | 2022 Sep 18 | 01:09 pm 129

हुम्ला असोज २ः नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीलगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातीबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा शनिबार रातीबाट हिमपात भएको बताए । उनले शुक्रबार लाप्चा, न्यालु लगाएका उच्च स्थानमा हिमपात भएको भए पनि रातीबाट ताक्ची, तुम्लिङ र लिमीका तीनवटै गाउँमा हिमपात भएको बताए ।

लिमीका गाउँ हिमपात पछि सेताम्मे देखिन थालेका छन् । उनले लिमीको गाउँमा चार इन्ची हिउँ जमेको र अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताए । उनले चिसो भने निक्कै बढेको बताए ।

वर्षापछि हिउँ पर्न सुरु हुँदा पाक्नै लागेको बालीलाई समेत क्षति  पुर्याएको उनले बताए । ताक्चीबाट लाप्चा गएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरु प्रभावित भएका छन् ।

त्यसैगरी, अग्ला पाटनमा पाल्दै आएका चौंरीलगायत पशुलाई समेत समस्या भएको छ । यो हिमपात उत्तरी हुम्लाका उच्च क्षेत्र सबैतिर परेको छ र सदरमुकाम सिमकोटका उच्च स्थानमा हिमपात भएको छ । यस वर्षको यो हिमपात पहिलो हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.