लामखुट्टेबाट बच्न प्रयोग गरिने सामग्री अभाव

| 2022 Oct 02 | 08:32 am 457

काठमाडौं, असाेज १६ :नयाँ बानेश्वरकी सीता थापाले एक साताअघि बजारमा ओडोमोस क्रिम खोज्दा पाइनन् । ‘डेंगीको संक्रमण बढ्दै गएपछि विद्यालयले नै शरीरका खाली भागमा ओडोमोस क्रिम लगाएर मात्र बालबालिका पठाउन भन्यो,’ उनले भनिन्, ‘स्कुलले नै भनेपछि क्रिम खोज्दा बजारमा पाइएन, त्यसपछि छोरालाई यत्तिकै पठाएँ ।’ अहिले उनका श्रीमान्लाई डेंगी भएको छ । यसबाट बच्चालाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको उनले बताइन् ।

‘एउटै कोठामा बसेपछि उहाँलाई टोकेको लामखुट्टेले हामीलाई पनि टोक्न सक्छ, आफ्नो भन्दा बच्चाको धेरै डर छ,’ उनले भनिन्, ‘अहिले लामखुट्टे मार्ने धूप र लिक्विड बालिरहेका छौं, क्रिम अझै पाइएन ।’

डेंगीको महामारी फैलिएपछि प्राय: सबै स्कुलले आफ्ना बालबालिकालाई ओडोमोस क्रिम लगाएर पठाउन आग्रह गरेका थिए । काठमाडौं बुद्धनगरस्थित रोजबड स्कुलमा अध्ययनरत साम्भवी श्रेष्ठका अभिभावकलाई पनि स्कुलले यस्तै म्यासेज पठायो । साम्भवीकी आमा ज्योतिले शंखमूलका सबैजसो फार्मेसी चहार्दा पनि ओडोमोस क्रिम पाइनन् । तर, किराना पसलमा भने डा. मोस क्रिम फेला पारिन् । ओडोमोसको जस्तै काम गर्ने भएकाले उनले उक्त क्रिम लिए पनि त्यसको गन्धका कारण छोरीले लाउनै नमानेको उनले बताइन् । ‘अझै पनि फार्मेसीमा ओडोमोस क्रिम पाइएको छैन, सिटामोल त नपाइने ठाउँमा क्रिम के पाइएला र ?’ उनले भनिन् ।

डेंगी संक्रमितको संख्या बढेसँगै बजारमा लामखुट्टेको टोकाइबाट बच्न प्रयोग गरिने सामग्रीको अभाव भएको छ । ओडोमोस क्रिम/स्प्रेको अभाव बढ्दो छ । अल आउट, गुड नाइट, मोरटेन जस्ता लिक्विड भने पाइरहेका छन् । जुनसुकै बेला प्रयोग गर्न सकिने, बोकेर हिँड्न मिल्ने यस्ता क्रिमहरूको अभाव भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुुसार मंगलबारसम्म देशभर २७ हजार ५ सय ६९ जना डेंगी संक्रमित छन् । दसंैमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने हुँदा डेंगीको प्रकोप देशव्यापी हुने जोखिम रहेको विज्ञहरू बताउँछन् ।

डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो । त्यसैले लामखुट्टेबाट बच्न विगतमा ‘ओडोमोस’ क्रिम र स्प्रे प्रयोग गरिन्थ्यो । तर यस वर्ष डेंगी संक्रमण फैलिनु अगावैदेखि ‘ओडोमोस’ क्रिम अभाव भएको फार्मेसी सञ्चालकहरूको भनाइ छ । यद्यपि ‘ओडोमोस’ क्रिम पाइहाले पनि थोक बजारले नै ‘एमआरपी’ मूल्यमा किन्नुपर्ने अवस्था आएको अर्चना सर्जिकल सप्लायर्सका सञ्चालक अमिर खतिवडाले बताए । ‘क्षेत्रपाटीका केही पसलमा ओडोमोस क्रिम नै पाइन्छ,’ उनले भने, ‘यद्यपि एमआरपीभन्दा बढी मूल्य तिर्नुपर्छ । त्यसैले मैले ल्याउनै छोडें । आफैंले एमआरपी मूल्य तिरेर ग्राहकलाई कुन मूल्यमा बेच्नु ?’

अहिले ओडोमोस क्रिमको विकल्पमा डा. मोस, मस्क रेप (मस्किटो रिप्लेमेन्ट), रेमोस क्रिम बजारमा पाइन्छन् । मस्किटो सेफ, नेपमिक्स नेचरल, मस्किटो रेपिलेन्ट स्प्रे पनि पाइन्छन् । पसलमा ‘ओडोमोस’ अभाव हुन थाले पनि केही ई–कमर्स वेबसाइटमा अझै पनि उपलब्ध छ । लामखुट्टेको टोकाइबाट बच्न शरीरका खाली भागमा यो क्रिम लगाइन्छ । डेंगीको संक्रमण बढेसँगै ओडोमोसलगायत विविध क्रिमको समेत अभाव हुन थालेको शंखमूलस्थित डायमन्ड फार्मेसीकी सञ्चालक रोजिना सुवालले गुनासो गरिन् । ‘पहिला प्रशस्त मात्रामा ओडोमोस पाइन्थ्यो । तर यस पटक पाइएको छैन,’ उनले भनिन्, ‘दिनकै १५ देखि २० जना ओडोमोस क्रिम/स्प्रे खोज्न आउँछन् तर सामान नभएपछि बेच्नै पाइएन ।’

बिस्तारै डा. मोस पनि अभाव हुन थालिसकेको अर्चना सप्लायर्सका सञ्चालक खतिवडाले बताए । ‘अहिले घरघरमा बिरामी छन्, बच्नकै लागि क्रिम लिन आउने धेरै छन् । तर डा. मोस पनि अभाव हुन थालिसक्यो,’ उनले भने, ‘दिनप्रतिदिन यस्ता क्रिमको माग बढ्दै गएको छ ।’ डेंगी एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा संक्रमण हुन्छ । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेंगीको संक्रमण हुन्छ । त्यसकारण मानिसहरू लामखुट्टेको टोकाइबाट बच्न क्रिमको प्रयोग गर्छन् । जसको अभाव हुन थालेको छ ।

झन्डै तीन महिनादेखि ओडोमोस क्रिम पाइन छाडेको कोटेश्वरस्थित कोटेश्वर मेडिकल हलका नानीराम बस्नेत बताउँछन् । ‘धेरै ग्राहकले ओडोमोस क्रिम नै खोज्छन् । तर त्यो क्रिम नै पाइँदैन,’ उनले भने, ‘ओडोमोसको विकल्पमा डा. मोस आए पनि धेरैले रुचाउँदैनन् । त्यही पनि मागभन्दा कम पाइरहेको छ ।’

बजारमा अभाव खट्किए पनि भन्सार विभागको तथ्यांकले गत वर्षको तुलनामा यस वर्ष मूल्य बढेको र परिमाण घटेर आयात भएको देखाउँछ । चालु आर्थिक वर्षको साउन–भदौमा ८ करोड ९५ लाख १ हजार रुपैयाँको लामखुट्टे र कक्रोचलगायतका घरायसी कीटनाशक उत्पादन भित्रिँदा गत वर्ष ८ करोड ७५ लाख ३३ हजार रुपैयाँको आयात भएको थियो । तर परिमाणको हिसाबले गत आर्थिक वर्षको साउन–भदौमा १ लाख ७९ हजार ४ सय १० किलो भित्र्याउँदा यस वर्ष १ लाख ४० हजार ८ सय ८५ किलो मात्रै आयात भएको विभागको तथ्यांक छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी संक्रमण देखिएको थियो । आजको कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.