लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ, गाँजा बरामद, काठ बरामद तथा चोरीपैठारीको लत्ताकपडा  बरामद

| 2021 Nov 23 | 08:05 pm 221

पर्सा, मंसिर ७ः जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका ४ निजगढ बस्ने २५
वर्षीय कृष्ण गौतम रहेका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका निज गौतमलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ८ वटा, नोफिन ८ वटा, फेनारागन ८ वटा र ईन्जेक्सन ४ वटा फेला पारेको हो । पक्राउ परेका गौतमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
बारा जिल्लाको पचरौता नगरपालिका ६ पकडिया तथा पिपरपाती सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५० के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलदारीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला गाँजा लैजाँदै गरेका ब्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

काठ बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका ८ स्थित नारायण चोकबाट सशस्त्र प्रहरीले करीव ४२ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका काठ बरामद गरेको छ । ना ४ ख १५११ र ना ४ ख ८८९४ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त काठको कागजपत्र नभेटेपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त काठ ल्याउन प्रयोग भएको दुई वटै ट्रक समेत बरामद गरिएको छ । बरामद काठ तथा ट्रक आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लालबन्दीमा बुझाईएको छ ।

यसैगरी कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित मानपुर खोलाबाट सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको सिसौको काठ बरामद गरेको छ । उक्त खोलाको किनारमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ७० क्यूफिट सिसौको काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सब डिभिजन वन कार्यालय कपिलबस्तुमा बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा  बरामद
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ स्थित बाँसगढीबाट सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार रुपैयाँ बराबरको चोरपैठारीको
लत्ताकपडा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गुलरियामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.