राष्ट्रपति पौडेलले दिए क्रिकेट टिमलाई बधाई

| 2023 May 02 | 04:56 pm 637

काठमाडौं, वैशाख १९ः राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।

विज्ञप्तिमा एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन्। नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको विज्ञप्तिमा प्रशंसासमेत गरिएको छ। क्रिकेट खेलाडीले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताको लागि शुभकामना दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली क्रिकेट टोलीले विजय हासिल गरी एसिया कपमा छनौट भएकोमा म खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’’

सोमबार सुरु भएर वर्षाका कारण मंगलबार मात्रै टुङ्गिएको फाइनलमा एसोसिएट क्रिकेटको पावर हाउस यूएईलाई हराएसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ।

समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टिम सुपर फोरमा पुग्ने छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.