महामूर्खको उपाधि नगरप्रमुख साहलाई

| 2023 Mar 08 | 08:43 am 153

धनुषा, फागुन २४ः होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष हुने महामूर्ख सम्मेलन मंगलबार सम्पन्न भएको छ । मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई ‘महामूर्ख’को उपाधि प्रदान गरेको हो । उनलाई प्रशस्तिपत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला लगाएर सुशोभित गरी सम्मान गरिएको हो ।

मिनापले २०६१ सालदेखि भाषा, संस्कृति, कला, सामाजिक रूपान्तरण, राजनीतिजस्ता विधामा उत्कृष्ट प्रदर्शन गरी समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवालाई सम्मान गर्ने गरेको छ ।

यसपटक सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख, रत्नेश्वरलाल कर्णलाई डपौर शंख, मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डललाई बैशाख नन्दन, राजनीतिकर्मी विभा ठाकुरलाई गंधपसारैन, अरूणलाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख, रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, सुनचाँदी व्यवसायी बलराम साहलाई बज्रसोटा, सञ्चारकर्मी वीरेन्द्र रमणलाई शोटानन्द, साहित्यकार किरण झा रश्मिलाई टुनमुसरी र मोनास्टिक अवासीय उच्च माविका प्रिन्सिपल डा.सोनुकुमार साहलाई बज्रकिटको उपाधि प्रदान गरिएको छ ।

होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत मंगलबार महामूर्ख सम्मेलनको आयोजना गरिएको हो । जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा मिनापले २२ र २३ फागुनमा होली महोत्सवको आयोजना गरेको थियो  । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता र महामूर्ख सम्मेलन सम्पन्न भएको हो ।

महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यंग्यात्मक पदवीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ ।

यस सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झाले भने, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको हो ।’

समाजमा रहेका विकृति विसंगतिलाई समाप्त गर्न व्यंग्यले निकै ठूलो भूमिका खेल्ने उनको भनाइ थियो । महामूर्ख सम्मेलनजस्तै कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ ।

महामूर्ख सम्मेलन नेपालका विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ । यस सम्मेलनको प्रारम्भ वीरगन्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए ।

अहिलेसम्म को–को भए महामूर्ख ?
२०६१ सालदेखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा तत्कालीन नेकपा (एमाले)का नेता शीतल झा, २०६३ सालमा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बीसी, २०६४ सालमा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा महामूर्ख भएका थिए । यसैगरी, २०६५ सालमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सीके लाललाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

यस्तै, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ सालमा श्मसानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियाले सो उपाधि प्राप्त गरेका थिए ।

२०७३ सालमा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । २०७४ सालमा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । त्यस्तै, २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

यसरी छनोट गरिन्छ महामूर्ख ?
महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । महामूर्ख बन्न धेरै दिमाग खियाउनुपर्ने परिषद्का पूर्वअध्यक्ष मदन ठाकुरको भनाइ छ । महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी सुरु भइहाल्छ । यसका लागि एक समिति गठन गरिन्छ र त्यसैले निर्णय गर्दै आएको छ । महामूर्ख बन्नका लागि धेरैको चाहना रहन्छ ।

जनकपुरधामका स्थानीय पत्रिकामा एक साता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाइएको हुन्छ । नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झाले भने, ‘महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो, यसलाई सञ्चारमाध्यमले महत्व नदिने कुरै आउँदैन ।’ सञ्चारमाध्यममा चर्चा भएपछि कार्यक्रको आकर्षण अझ बढ्ने गर्छ । समान्यतया धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ ? तर, आश्चर्यको कुरो यो रहेको छ कि धेरैको इच्छा रहन्छ यसपालि म महामूर्ख बन्न सकूँ ।

२०६५ सालका महामूर्ख उपाधि प्राप्त एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले भने, ‘उपाधि प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि रहेको छ, यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।’ फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.