भूकम्पमा परे ९७३ पशु

| 2023 Nov 13 | 10:37 am 773

पशुपन्छी र खोर–गोठ गरी साढे २ करोड रुपैयाँको क्षति 

काठमाडौँ, कार्तिक २७। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार पशु मरेका छन् । कात्तिक १७ मा जाजरकोटको बारेकोट रामीडाँडालाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि दुई जिल्लामा गरी ९ सय ७४ पशु मरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।भूकम्पबाट ६७ खोर–गोठको संरचनामा क्षति पुगेको छ । मरेका पशुपन्छी र खोर–गोठसहित साढे २ करोडभन्दा बढीको क्षति भएको मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहराले बताए ।

‘भूकम्प गएपछि पशुपन्छीको अवस्थाबारे अध्ययन गर्न संघीय मन्त्रालयबाट ३ वटा टोली खटाएका थियौं । भत्केका घरहरूको संरचना र मान्छेको मृत्युअनुसार धेरै पशु मरेको हुन सक्ने आकलन गरेका थियौं,’ सहप्रवक्ता बोहराले भने, ‘पशुपन्छी क्षेत्रमा प्रक्षेपण गरिएको भन्दा कम क्षति देखिन्छ । दुई जिल्लामा गरी ९ सय ७४ पशु परेका छन् । खोर–गोठ भत्किएको संरचनासहित २ करोड ५१ लाख २३ हजारको क्षति भएको छ ।’

सबैभन्दा बढी जाजरकोटमा ६ सय २२ पशुपन्छी मरेको मन्त्रालयको तथ्यांक छ । भूकम्पमा परी ११ वटा गाई/गोरु, १९ वटा राँगा/भैंसी, १ सय ६८ भेडा/बाख्रा र ४ सय ५९ पन्छी मरेको मन्त्रालयले जनाएको छ । ‘जाजरकोटमा मात्रै ५९ लाख ७७ हजारका पशुपन्छी मरेको देखिन्छ,’ उनले भने, ‘घाइते भएका करिब ६ सय पशुको उपचारसमेत गरिएको छ ।’ मन्त्रालयको विवरणअनुसार भूकम्पले ५ सय ९२ पशुपन्छी घाइते भएका छन् । यसमध्ये ८६ गाई–गोरु, १४ वटा राँगा–भैंसी, ४ सय ९२ भेंडा–बाख्रा छन् ।

भूकम्पले जाजरकोटमा १ करोड ५८ लाख २७ हजार बराबरका ६७ खोर–गोठमा क्षति पुर्‍याएको छ । भूकम्पबाट रुकुम पश्चिममा १७ लाख १८ हजार बराबरका ३ सय ५१ पशुपन्छी मरेका छन् । तीमध्ये ६ गाईगोरु, ८ राँगा–भैंसी, २८ भेडा–बाख्रा र ३ सय ९ वटा पन्छी मरेका छन् । रुकुम पश्चिममा १६ लाख रुपैयाँ बराबरका ४ खोर–गोठमा क्षति पुगेको छ ।

भूकम्पका कारण गोठमा बाँधिएका पशुपन्छीमा बढी क्षति देखिएको नेपाल पशु चिकित्सा परिषद्का रजिस्ट्रार मनोजकुमार शाहीले बताए । ‘जाजरकोट र रुकुम क्षेत्रमा सामान्यतः सर्वसाधारण माथिल्लो तल्लामा बस्ने र पशुपन्छीलाई तल्लो तल्लामा राख्छन् । चिसो नबढेकाले धेरैजसो पशुपन्छी गोठबाहिरै थिए, जसले गर्दा क्षति कम देखियो,’ शाहीले भने, ‘अब चिसो बढ्न थालेको छ । सर्वसाधारणसँगै पशुका लागि पनि टेन्ट–गोठको व्यवस्था आवश्यक छ ।’

कृषि गणना ०७८ अनुसार नेपालमा ३४ लाख ५ हजार किसान परिवारले पशुचौपाया पालेका छन् । १७ लाख ८ हजार किसान परिवारले ४५ लाख ५९ हजार गाई–गोरु पालेका छन् । १४ लाख १७ हजार किसान परिवारले २९ लाख २३ हजार राँगा–भैंसी पालेका छन् । बाख्रा, च्यांग्राको संख्या भने १ करोड ४२ लाख ४२ हजार रहेको मन्त्रालयको तथ्यांक छ ।

व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण ०७८ अनुसार मध्यम तथा ठूला किसानले पालेका पशुमध्ये बर्सेनि साढे ५ हजार पशु मर्ने गरेका छन् । प्राकृतिक विपद् एवं प्रकोपका कारण १० वर्षमा ३ हजार ६ सय ३६ पशुको मरेको सर्वेक्षणमा उल्लेख छ । १० वर्षमा सबैभन्दा बढी बाख्रा १९ हजार ८ सय ८०, सुँगुर/बंगुर १३ हजार १ सय ८९, भेडा/भेडी १० हजार ७ सय ६१, गाई–गोरु ४ हजार ९ सय ६०, च्यांग्रा ४ हजार ४३ र राँगा–भैंसी ३ हजार २ सय ६८ वटा मरेका छन् । तर किसानलाई दिइने राहत, क्षतिपूर्ति भने नगण्य हुन्छ ।

पछिल्लो समय लम्पी स्किन रोगका कारण हजारौं गाई–गोरु, राँगा/भैंसी मरे । तर, किसानले क्षतिपूर्ति पाएनन् । साताअघि भूकम्पबाट मरेका पशुपन्छीको हकमा पनि किसानले राहत पाउने/नपाउने अन्योल नै छ । विगतमा थोरै/थोरै राहत दिने गरिएको सहप्रवक्ता बोहरा बताउँछन् । चालु आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयले राहतकै लागि करिब १ करोड रुपैयाँ विनियोजन गरेको छ । तर वितरण गर्न कार्यविधि बनेको छैन ।

‘सरकारको पहिलो प्राथमिकता मान्छे नै हो, मरेको पशुपन्छीको राहत/क्षतिपूर्तिका विषयमा अहिले नै भन्न गाह्रो छ,’ सहप्रवक्ता बोहराले भने, ‘गैरसरकारी संस्थाबाट पनि कस्तो प्रकारको सहयोग रहन्छ, त्यहीअनुसार हुन्छ । यद्यपि कृषि मन्त्रालय केही न केही गर्ने सोचमा छ ।’

संघीय सरकार, प्रदेश र स्थानीय तहले केही न केही घोषणा गर्नुपर्ने परिषद्का रजिस्ट्रार शाहीले बताए । भूकम्प प्रभावित क्षेत्रमा पर्याप्त भेटेरिनरी डाक्टर पठाउनुपर्ने उनको भनाइ छ । ‘९५ प्रतिशत पालिकामा भेटेरिनरी डाक्टर छैनन् । भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत भेटेरिनरी ल्याबको टोली खटिएको छ । तर पर्याप्त छैन,’ शाहीले भने, ‘समयमै यसको व्यवस्थापन गर्न नसके महामारी फैलिन सक्छ ।’

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.