प्रमुख राजनीतिक दलका एक दर्जन युवा नेता भारतको अध्ययन भ्रमणमा

| 2023 Dec 11 | 12:07 pm 429

काठमाडौँ, मंसिर २५ – विभिन्न राजनीतिक दलसम्बद्ध एक दर्जन युवा नेताहरु भारत सरकारको निमन्त्रणामा अध्ययन भ्रमणको लागि भारत प्रस्थान गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकका अनुसार सो टोली भारतको राजनीतिक, आर्थिक तथा सामाजिक विकासको बारेमा अध्ययन गर्ने उद्देश्यले दश दिवसीय भ्रमणको लागि आइतबार भारतको नयाँ दिल्लीतर्फ लागेको हो ।

नेपालका प्रमुख राजनीतिक दलका युवा नेता सहभागी रहेको सो प्रतिनिधि मण्डलले भारतीय विदेशनीति र यसको रणनीतिक रूपरेखा, ग्लोबल इकोनोमी र दक्षिण एसिया, आर्थिक तथा औद्योगिक विकास, उद्यमशीलता, दक्षिण एशियामा प्रविधिको विकास, केन्द्रीय भिस्टा पुनर्विकास परियोजना, लुहरी स्टेज जलविद्युत परियोजना लगायतका क्षेत्रको भ्रमण तथा अध्ययन गर्नेछ ।

सो प्रतिनिधि मण्डलले नयाँ दिल्लीस्थित नयाँ संसद् भवन र परराष्ट्र मन्त्रालयमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सो टोली मुम्बई, सिम्लालगायत प्रमुख राजनीतिक, सांस्कृति तथा औधोगिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।

टोलीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी) लगायतका पार्टी प्रतिनिधिहरु समावेश छन् ।

प्रतिनिधिमण्डलमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का केन्द्रीय कमिटी सदस्य डा. सूर्यप्रसाद पाठक, रास्वपाका सहमहासचिव कविन्द्र बुर्लाकोटी, रास्वपाका केन्द्रिय सदस्य क्रान्तिशिखा धिताल, जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह, जसपाका प्रदेशसभा सदस्य रामआशिष यादव, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, नेका के.स. अनिलकुमार रुङ्टा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य सुश्री गोमा बिष्ट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का केन्द्रीय सदस्य सुनिता बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी प्रवेश)का केन्द्रीय समिति सदस्य रेणु चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजयशंकर नायक रहेका छन् ।

भ्रमणपछि सो प्रतिनिधि मण्डल आगामी डिसेम्बर २० तारिख मुम्बई हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको छ ।

( घटना र बिचारबाट )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.