काठमाडौं, माघ १६ः सर्वोच्च अदालतले अवहेलना गरेको आरोप लागेको मुद्दामा आफै लिखित जवाफ पेस गर्न बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अदालतको आदेशमा बाटाको म्यादबाहेक आदेश प्राप्त भएको मितिले सात दिनभित्र आफै लिखित जवाफ पेस गर्नु भन्ने उल्लेख गरिएको छ । अदालतको अवहेलना गरेको आरोप लगाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए ।
वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेद्वारा दायर गरिएको मुद्दामा प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी जथाभावी बोल्दै हिँड्नुभएको उल्लेख गर्दै उनीमाथि अवहेलनामा कारबाही गर्नुपर्ने माग गरिएको थियो । ती मुद्दामा बहसका लागि न्यायाधीश शर्माको इजलास तोकिएको थियो ।
प्रधानमन्त्री ओलीले केही दिनअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले इजलासमा गरेको बहसलाई लिएर टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यस्तो खालको टिप्पणीले अदालतकै मानमर्दन भएको उल्लेख गर्दै उनलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग पनि मुद्दामा गरिएको थियो ।
अदालतले गरेको आदेशमा ‘आफै लिखित जवाफ पेस गर्नु’ भन्ने वाक्यांश परेका कारण अब प्रधानमन्त्री ओलीले लिखित जवाफ लिएर आफै अदालतमा जानुपर्ने हुन्छ भन्ने टिप्पणी गरिएको छ । नेपाल समाचारपत्रबाट