काठमाडाैं, माघ ५ः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ ।
अर्धवार्षिकरुपमा निगमलाई रु ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।