लखनउमा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको बताइएको छ । तर, पूर्वको झापाबाहेक अन्य जिल्ला भ्रमणमा ननिस्किएका पूर्व युवराज पारस भने निर्मल निवासमै रहेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेकाे बताइएको छ । उनले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङगो लागेको छैन । उच्च स्रोतका अनुसार भ्रमणको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन् भने ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तरप्रदेश सरकारले नै लिएको छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सुरक्षाकर्मी नेपालगञ्जमै रहनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा नेपालगञ्जको विभिन्न कार्यक्रममा सहभागी हुन नेपालगञ्ज पुगेका ज्ञानेन्द्र परिवार स्थलमार्गबाट लखनउ भ्रमणमा जानेछन् । भ्रमणमा केही सहयोगी, निजी सचिव डा. सागर तिमल्सिना र परिवारका सदस्यबाहेक अन्य कसैलाई पनि भारत भ्रमणमा निम्तो गरिएको छैन । भारत रहँदा पूर्वराजाले गोरखनाथ मन्दिरलगायत धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय भएको छ भने सबै कार्यक्रम गोप्य राखिएको छ । लखनउ पुगेपछि मात्रै थप कार्यक्रम तय हुने स्रोतले नेपाल समाचारपत्रलाई बतायो।
धार्मिक भ्रमणको नाम दिइए पनि केही राजनीतिक भेटघाट हुनसक्ने स्रोतको भनाइ छ । भारत भ्रमणबाट फर्किएपछि राजपरिवार सदस्य धनगढीमा आयोजना हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यसलगत्तै पूर्व राजा परिवारसहित दाङ, सुर्खेत, जुम्लालगायतका जिल्लामा जाने कार्यक्रम रहेको स्रोतको भनाई छ । नेपालगञ्जको होटल सोल्टीमा बसेका पूर्व राजपरिवारलाई बुधबार रामलीला मैदानमा नागरिक अभिनन्दन गरिएको थियो । यसअघि चैत २० गते पूर्वाञ्चलको सुनसरीस्थित इनरुवा मैदानमा नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दन मूल समारोह समितिका संयोजक एवं पूर्वमन्त्री केशरबहादुर विष्टको संयोजकत्वमा गठित नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजालाई अभिनन्दन गरेको हो ।
पूर्वराजालाई सक्रिय बनाउन आन्दोलन गर्ने तयारी गरेको राप्रपाले देशभर सम्मानलगायत कार्यक्रम आयोजना गरिरहेको छ । दुई महिनाअघि अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवलशम्शेर, उपाध्यक्ष रविन्द्र मिश्रसहितको टोलीले झापास्थित चिया बगानमा भेटगरी राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।
राप्रपाले आन्दोलनको तयारी थाल्नु र पूर्वराजालाई नागरिक अभिनन्दन गर्नु आन्दोलनको स्वरूप भएको राजावादीको भनाइ छ । यद्यपि, अहिलेको अवस्थामा नागरिक अभिनन्दन गर्न नहुने सुरक्षा निकायको ठम्याइ छ । पछिल्लो तीन महिनायता राजनीतिमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र देशैभर भ्रमणमा निस्कने तयारीमा रहेका छन् ।
राप्रपा नेपालले संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलन गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र भने नागरिकसँग नजिक भइरहेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा मौन नबस्ने संकेत गरेका पूर्वराजा ज्ञानेन्द्रले सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दामा दलहरूलाई सहकार्यका निम्ति आह्वान गर्दै शुभकामना सन्देश जारी गरेका थिए ।
मंसिर ६ देखि झापामा रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र दुई साता अघिदेखि नेपागञ्जमा रहेका छन् । पछिल्लो समयमा राजनीतिमा सक्रिय देखिएका ज्ञानेन्द्र राजतन्त्र सहितको प्रजातन्त्रको पक्षमा खुलेरै लागेका छन् । करिब अढाई महिनाअघि दुर्गा प्रसाईंले आयोजना गरेको अभियानको प्रमुख अतिथि बन्दा भने पूर्वराजा ज्ञानेन्द्रले आलोचना खेप्नुपरेको थियो । नेपाल समाचारपत्रबाट