पश्चिम नेपालमा लगातार ठूला भूकम्प, सबैभन्दा धेरै बझाङमा

| 2023 Nov 05 | 07:12 am 501

काठमाडौँ, कात्तिक १९ । पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । यो २०७२ सालको भूकम्पयता भएको सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति हो । भूकम्पको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो । गत वर्षको माघ महिनायता पश्चिम नेपालका तीन जिल्लामा केन्द्रबिन्दु भएर ठूला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर पाँच वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन् । गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५ दशमलव ९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठूला भूकम्पहरू गए । २०८० असोज १६ गते एकैदिन ६ दशमलव ३ म्याग्निच्युड र ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको चार दिनपछि पुनः ५ दशमलव ३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबीचमा ५ वा सोभन्दा बढीका थप परकम्पहरू गएका थिए । कात्तिक ५ गते मध्यनेपालको धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन ५ दशमलव १ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर अर्को ठूलो भूकम्प गएको छ । शुक्रबारको भूकम्पको तीव्रता ६ दशमलव ४ म्याग्निच्युडको रहेको थियो । ठूलो भूकम्पपछि त्यहाँ पनि लगातार परकम्पहरू गइरहेका छन् ।

पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठूलो जोखिम रहेको विज्ञहरूले बताउँदै आएका छन् । पछिल्लो समय धेरै भूकम्पहरू सोही क्षेत्रमा केन्द्रित रहेको देखिन्छ । यी ठूला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युड बीचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लमजुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा रहेको विज्ञहरू बताउँदै आएका छन् । हाम्रो भूसतहमुनि इण्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ । त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ । ठूलो भूकम्प जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ । त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ । सानो–सानो भूकम्प जाँदा जमिनमुनि थुप्रिएको शक्ति सबै बाहिर निस्कन पाउँदैन । त्यो शक्ति कतिखेर बाहिर निस्कन्छ भन्ने अहिलेसम्म पूर्वानुमान गर्ने प्रविधि पत्ता लागेको छैन ।

२०७२ साल वैशाख १० गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भुइँचालो गएको थियो । उक्त भुइँचालोको प्रभाव गोरखाबाट काठमाडौं हुँदै दोलखासम्म पुग्यो । यसबाट मध्य-नेपालको भूसतहमुनि लामो समयदेखि थुप्रिएर बसेको ठूलो शक्ति बाहिर निस्क्यो । त्यो शक्ति अझै पूरै निख्रिएको छैन भनेर भूगर्भविद्हरू बताउँदै आएका छन् । त्यसको केही हिस्सा काठमाडौंको सतहमुनि थुप्रिएर बसेको भौगर्भिक अध्ययनले देखाएको छ । त्यही थुप्रिएर बसेको शक्तिले काठमाडौंमा अहिले पनि स–साना भुइँचालो ल्याइरहेको छ । यति हुँदाहुँदै ७ दशमलव ८ म्याग्निच्युडको भुइँचालो गइसकेकाले अब काठमाडौंसहित मध्य–नेपालमा त्यति नै शक्ति जम्मा भएर त्यति नै ठूलो भुइँचालो जान केही समय लाग्नसक्छ भन्ने भूगर्भविद्हरूको आँकलन छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ । त्यहाँ सन् १५०५ मा ८ दशमलव ४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो । भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ । सय वर्षमा त्यो दुई मिटर हुन्छ । यसको अर्थ विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो । तर, पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इण्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन । यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इण्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ । भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ । २०७२ सालमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा मध्य–नेपालमा इण्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो ।

यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर स¥यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविद्हरूको भनाइ छ । भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन । पश्चिम नेपालका हकमा पनि इण्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ । विज्ञ भन्छन्, ‘महाभूकम्पको जोखिम टरेको छैन’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प ‘मझौला भूकम्प’ हो । ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । शुक्रबार रातिको भूकम्पको धक्काले महाभूकम्पको जोखिम कम नभएको तर सचेत भने गराएको उल्लेख गर्दै अधिकारीले भन्नुभयो, ‘ठूलो भूकम्पको जोखिम कम भएको छैन । मझौला भूकम्पले त्यहाँ सञ्चित शक्ति कम गर्दैन ।

सानातिना र मझौला भूकम्प गइरहनु भनेको त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित छ भन्ने हो । शुक्रबार रातिको भूकम्पले सचेत गराएको छ ।’ ८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिन्छ । ८ म्याग्निच्युडको सञ्चित शक्ति क्षय हुन ६ म्याग्निच्युडका हजारौँ भूकम्प जानुपर्ने बताउँदै वरिष्ठ भूकम्पविद् अधिकारीले भन्नुभयो, ‘८ को शक्ति सञ्चय भएको ठाउँमा त्यो क्षय हुन ६ को हजारौँवटा भूकम्प जानुपर्छ । साना र मझौला केही भूकम्प जाँदैमा जोखिम कम हुँदैन ।’ ६ भन्दा ७ म्याग्निच्युडको भूकम्प ३२ गुणा ठूलो हुने भूकम्पविद्हरूको भनाइ छ । ६ भन्दा ८ म्याग्निच्युडको भूकम्प हजार गुणा ठूलो र शक्तिशाली हुन्छ । सोहीअनुसार क्षति पनि बढी हुन्छ । भूकम्पको म्याग्निच्युडसँगै केन्द्रविन्दु, भौगोलिक अवस्था, भौतिक संरचनाको स्थितिलगायत कारणले क्षतिमा प्रभाव पर्ने वरिष्ठ भूकम्पविद् अधिकारीको भनाइ छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.