काठमाडौं, १७ असार : नेपाल र भारतबीच बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले आफ्नो प्रतिवेदन सम्पन्न गरेका छन् । प्रतिवेदन सम्पन्न गरेलगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले राजनीतिक भेटघाट थालेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गरेका हुन् ।
नेपाल-भारतबीच भएको १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्विपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको कार्यकाल सकिँनैलाग्दा उपप्रधानमन्त्री पोखरेलको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्बन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायत विषयमा छलफल भएको पोखरेलको सचिवालयले जनएको छ ।
साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतले चाहेको बताएका थिए ।