काठमाडौं, जेठ १७ : लामो समयदेखि संगठित सुन तस्करी, लागू् औषध कारोबार र ओसारपसारजस्ता आपराधिक घटना बढ्दै गएको बेला नक्कली नोटको बजारमा बिगबिगी हुन थालेको छ । गत दुई साता अघि देशको राजधानी काठमाडौंबाट ठूलो परिमाणमा नक्कली नोट बरामद भयो ।
प्रहरीले काठमाडौंको गंगबू र बागबजार तथा ललितपुरको धापाखेलबाट २ करोड ६० लाख ६३ हजार नेपाली नक्कली नोट बरामद गरे । नक्कली नेपाली नोट ठूलो मात्रामा बरामद गरेको सम्भवतः यो पहिलो घटना हो ।
लूटका निर्माताकै ‘लूटधन्दा’
नक्कली नोटसहित ‘लुट’ फिल्म निर्माता माधवराज वाग्ले, छापाखाना सञ्चालकद्वय प्रकाश सुवेदी र विकेश नापित पक्राउ परेका हुन् । सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ र साजन तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
समाजमा यस्तो बढ्दो आपराधिक घटनाले थपिँदो सुरक्षा चुनौतीलाई उजागर गरेको छ । पछिल्लो समय नक्कली नोटको धन्दा मात्रै होइन, सरकारी कागजातलगायत अन्य नक्कली दस्तावेज बनाउने ‘अपराध’ समेत बढ्दै गएको प्रहरीले जनाएको छ। बिगता लामो समयदेखि नै नक्कली कागजातको धन्दा मौलाएको बताउने प्रहरी अधिकारीहरूले यसको नियत्रर्णको लागि प्रयाप्त कानुन नभएको बताउछन् ।फिल्मी शैलीमै नक्कली धन्धामा लूटकै निर्माता संलग्न रहेको भेटियो । फिल्ममार्फत समाजको चित्र उदांगो पार्ने र सचेतनाका लागि सन्देश दिनुपर्ने मान्छे आफै ‘लूटधन्धा’मा समातिएपछि यसले समाजको मनोविज्ञान कता मोड्ला ? गम्भीर प्रश्न सृजना भएको छ ।
हालसम्म राजधानीबाट नक्कली नोट, सरकारी कागजात, शैक्षिक योग्यताका प्रमाणपत्रहरू बनाउनेलगायतका घटनामा संलग्न एक सयजना भन्दा बढी पक्राउ परिसकेको समेत महानगरीय प्रहरी परिसरले जनाएको छ । यसरी संगठित तवरमै नक्कली कागजात एवं दस्तावेज बनाउने स्थानहरू धेरै भएको आशंका गरेको प्रहरीले छापाखानाहरूमा निगरानी बढाएको जनाएको छ ।
नक्कली कागजातको धन्दा बढ्दै
पछिलो सपया नक्कली कागजात बनाउने धन्दा पनि मैलाउदै गएको छ । राजधानीका अधिकांश छापाखाना र स्टाम्प हाउसमा नक्कली कागजात बनाउने, नक्कली छाप तथा लेटरप्याड बनाउने ‘अपराध’ समेत बढ्दै गएको अनुसन्धानबाट खुलेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले सरकारी कागजातहरू, विवाह दर्ता, जन्मदर्ताका प्रमाणपत्र, शैक्षिक योग्यताका कागजात सबै नक्कली बनाउने गरेको फेला परेको बताए । वैदेशिक रोजगारीमा जानेहरूले पनि धेरै नक्कली कागजातहरू पेश गर्ने गरेको उनको भनाइ छ ।
प्रहरीलाई चुनौती
पछिल्लो समय ठूलो परिमाणमा सुन तस्करी भएको घटना र सो घटनामा अपराध अनुसन्धान प्रहरी उच्च अधिकारीहरूकै मिलेमतो देखिन आएपछि यसले गम्भीर प्रश्न उब्जाएको छ । सो घटनाले सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीप्रति जनताको विश्वास घट्दै गएको देखिन्छ ।
सुन तस्करी प्रकरण सेलाउन नपाउँदै ठूलो परिमाणमा नक्कली नोट बरामद हुनुले अर्को प्रश्न सृजना गरेको छ । सरकारी कागजात, जग्गाधनी पूर्जालगायत प्रमाणपत्रहरू समेत नक्कली बनाएर जालसाजीका घटना बढिरहेकै बेला नक्कली नोट नै छाप्ने छापाखाना भेटिएपछि प्रहरी झस्किनु असामान्य पनि होइन । यस घटनाले प्रहरीमाथि झन् ‘चुनौती’ थपिदिएको छ ।
नक्कली नोट, नक्कली प्रमाणपत्र र अन्य सरकारी दस्तावेज बनाउने छापाखानाहरू धेरै रहेको सुचना प्रहरीसम्म पुग्ने गरेको भए पनि भरपर्दो सूचना र प्रमाणको अभावमा प्रहरीले ‘अप्रेसन’ चलाउन सकेको छैन । प्रहरीले संवेदनशील भएर ‘खोजतलास र अनुसन्धान’ गरिरहेको जनाएको छ ।
अनुसन्धान फितलो
समाजमा आपराधिक गिरोहका नयाँ–नयाँ ‘टेक्निक’ विकसित भइसक्दा पनि नेपाल प्रहरीचाहिँ आधुनिक प्रविधिको पहुँचमा अझै पुग्न सकेको छैन । विश्वविद्यालयकै प्रमाणपत्र, संवेदनशील सरकारी कागजातहरू नक्कली बनाउने र विदेशसम्म पठाउने धन्धा मौलाएको बर्षौ भइसकेको छ । यस्ता घटनामा बेलाबेला उजुरी पर्ने समेत गरेका छन् तर उजुरीकै आधारमा विभिन्न कागजात र दस्तावेज भेटिएपछि नक्कली हुन् या होइनन् भन्ने छुट्याउन प्रहरीलाई समस्या हुने गरेको बताइन्छ ।
यस्ता घटनामा अनुसन्धान प्रभावकारी बनाउन तथा नक्कली र सक्कली प्रमाणित गर्न आवश्यक प्रविधिको आवश्यकता रहेको प्रहरी अधिकारीहरू नै बताउने गर्छन् । प्रविधिको अभावमा सबै घटनामा अनुसन्धान प्रभावकारी हुन नसक्ने र आवश्यक प्रमाण जुटाउन नसक्दा वा ढिलो गर्दा अपराधी उम्किन सक्ने सम्भावना धेरै हुन्छ ।
कहिले कति नक्कली नोटसहित को–को पक्राउ परे ?
गत जेठ दुई गते लुट फिल्मका निर्माता माधव वाग्लेलाई साढे दुई कारोड नक्कली नोटसहित प्रहरीले पक्राउ गरे । वाग्लेको प्रोडक्सन हाउस ‘प्रिन्सेस मुभिज’को कोठामा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि वाग्ल सहित अन्य पाँचजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । त्यस्तै गत चैत ८ गते ११ थान १ हजार दरका नक्कली नेपाली रुपैयाँसहित टोखा नगरपालिका–१३ लक्ष्मीनगर स्थित पोखरा ताल वराही गेष्ट हाउसबाट काभ्रे कासीखण्ड नगरपालिका–४ घर भई बालाजु वोहराटार बस्ने ३१ वर्षीय श्रीकृष्ण श्रेष्ठ पक्राउ परेका थिए ।
गत १४ कात्तिक १४ गते मलंगवा नगरपालिका–१० जिल्ला प्रशासन कार्यालय अगाडिबाट हरिवन नगरपालिका–६ डेरा गरी बस्ने ४१ वर्षीय मानबहादुर घलानलाई नक्कली रुपैयाँ १ हजार दरका १ सय १० थान, ५ सय दरका १ सय ५५ थान, १ सय दरका २ सय ५६ थान, ५० दरका ३६ थान, २० दरका ३५ थान, ५ दरका २ थान तथा भारतीय रुपैयाँ ५ दरको १ थान, अमेरिकी डलर १ सय दरका २ थान र नक्कली नोट छाप्ने मेशिनसहित उनलाई पक्राउ गरेको थियो ।
त्यास्तै गत मंसिर चार गते बारा प्रहरीले नक्कली भारतीय रुपैयाँ सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालीका वडा नं १ पथलैयाको एक होटलबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भारतको लखनउ, नवस्थाका ५० बर्षिय कृष्णपाल सिंह, सोही स्थानका ४२ बर्षे भुषण सिंह र भारत सितापुरका २६ बर्षे सन्नी सिंह रहेका थिए । उनीहरुले प्रयोग गरेको एक भारतीय नम्बर प्लेटको बलेरो गाडी समेत प्रहरीले बरामद गरेको थियो ।
स्मरण रहोस २०६० सालमा तत्कालिन प्रहरी निरीक्षक दयानिधि ज्ञवालीले पाकिस्थानि दुतावासका प्रथम सचिव र त्यसअघि तत्कालीन प्रहरी नायव उपरीक्षक माधव थापाले सोही दुतावासका कर्मचारीलाई पक्राउ गरेका थिए । यसरी पटक पटक बिभिन्न देशका नक्कली नोटको धन्दा गर्ने र प्रहरीको जुहारी कहिले सकिने हो त्यो हेर्न सर्वसाधरण आतुर छन् ।