चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2022 Sep 20 | 08:41 am 109

सर्लाही, असाेज ४ः सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर-१२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलान रहेका छन् । घटनामा मृतककी पत्नीसहित चार जना घाइते भएका छन् ।

सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।

पानी परेका बेला घलान दम्पती ज्वाइँ नाता पर्ने वुद्धबहादुरको घरमा गएर गफ गरेर बसिरहेको ठाउँमा चट्याङ परेको स्थानीयले बताएका छन् । घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.