गणतन्त्र पक्षधर दलहरूको बैठक : लोकतान्त्रिक गणतन्त्रप्रति सामूहिक प्रतिबद्धता

| 2023 Nov 08 | 07:47 am 637

काठमाडौँ, कार्तिक २२।१२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने प्रमुख राजनीतिक दलहरूले संघीय लोकतान्त्रिकको रक्षाका लागि प्रतिबद्धता जनाएका छन् । १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टीका प्रमुख नेताहरूले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्धता जनाएका हुन् । मंगलबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठित रूपमा जनतामा उत्तेजना फैलाउने काम भइरहेको निष्कर्ष निकालेको हो । यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको उनीहरूको निष्कर्ष थियो । उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् ।

बैठकमा शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्केको नेकपा (माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताउनुभयो । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरि लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिबद्ध छौँ,’ उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्‍याउने गरी गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । छिट्टै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक भेलाको आयोजना गर्ने उहाँले बताउनुभयो ।

यस्तै, एमाले सचेतक महेश बर्तौलाले बैठकमा व्यवस्था जोगाउने कुरामा सबैको एकमत देखिएको बताउनुभयो । ‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकपछि उहाँले भन्नुभयो, ‘विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एकमत देखियो ।’

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, महेश बर्तौला, पदम गिरी, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा नेता शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरूको उपस्थिति थियो । रास्वपा र राप्रपालगायत दलहरू भने बैठकमा सहभागी भएनन् ।

संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भयौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै दलहरू एकै ठाउँमा आइपुगेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको परिवर्तनकारी दलहरूको बैठकपछि उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै दलहरू एकै ठाउँमा आइपुगेको बताउनुभएको हो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आएको उहाँले बताउनुभयो । ‘नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई गणतन्त्रसम्म ल्याउने दलहरूको बैठक भएको हो,’ उहाँले भन्नुभयो, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आयो ।’ उहाँले गणतन्त्रको रक्षाको सन्दर्भमा यस्तो बैठकलाई फेरि निरन्तरता दिने सहमति भएको पनि जानकारी दिनुभयो ।

सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखियो : एमाले
प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखिएको बताएको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले सरकारलाई विधिबाट अघि बढ्न एमालेले आग्रह गरेको बताउनुभयो । ‘सरकार गलत ढंगबाट अघि बढेको छ । सरकारले डेलिभरी दिन नसक्दा निराशा छाएको छ,’ उहाँले भन्नुभयो, ‘चाडबाडमा चिनी पाइँदैन । यो देशमा सरकार छ ? सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश आयो । सरकारलाई कानुन विधिबमोजिम हिँड्न हामीले भन्यौँ ।’
सामाजिक सञ्जालमा छाडापन मौलाएको, भड्काउने कामहरू भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण उहाँले बताउनुभयो । जनताले लडेर ल्याएको व्यवस्था कसैले खोस्न नसक्ने उहाँको भनाइ थियो । ‘नागरिकले लडेर ल्याएको व्यवस्था हो । दाइजो आएको व्यवस्था होइन । कसैले खोस्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘सरकारका कारण नागरिकमा बढेको वितृष्णा हटाउन जरुरी छ ।’

दलहरूमा एकता आवश्यकता छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरूबीच एकता आवश्यक रहेको बताउनुभएको छ । मंगलबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वास प्राप्त गरेको व्यवस्थाबारे कसैले केही भन्दैमा त्यसको पछि लाग्न नहुने बताउनुभयो । ‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन,’ नेपालले भन्नुभयो । व्यवस्थामा सुधार गरेर अवस्थामा आमूल परिवर्तन ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.