खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

| 2021 Jan 09 | 08:49 am 1581

काठमाडौं, पुस २५ः कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनासाथ सबैभन्दा पहिला कोभिड संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने गरी स्वास्थ्यकर्मीको विवरण तयार पार्न थालिएको छ । स्वास्थ्य सेवा विभागले कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाउन मातहतका निकायलाई पत्राचार गरेको छ ।

विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० पुसमा भएको निर्णयअनुसार सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयलाई विवरण पठाउन भनेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताललगायत सबै तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो विवरण पठाउन भनिएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय कोल्ड चेन (खोप भण्डारण केन्द्र)को अनुगमन गरेका छन् । मन्त्री त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनको पनि निरीक्षण गरेका थिए ।

नेपालमा २ देखि ८ डिग्री तापक्रममा खोप भण्डारण गर्न मिल्ने संरचना बनाइएको छ । पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन खरिद गरी कोभिडको उपचारमा खटिएका फ्रन्ट लाइन र सामाजिक दुरी कायम गरी काम गर्न नसक्ने व्यक्तिलाई भ्याक्सिन दिने योजना मन्त्रालयको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.