खाद्यान्न बोकेर हेलिकोप्टर लिमीतर्फ

रिपोर्ट नेपाल | 2021 Nov 29 | 11:21 am 241

हुम्ला मङ्सिर १३ः खाद्यान्न समस्या देखिएको हिमालपारीको गाउँ लिमीका लागि खाद्यन्न बोकेर नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ लागेको छ । सो खाद्यान्न सहित हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद रंगमति शाही विहानै त्यसतर्फ लागेकी हुन् ।

सिमकोट विमानस्थलमा सांसद शाहीले खाद्यान्न समस्या देखिएको नाम्खा गाउँपालिका–६ लिमीका लागि राज्यका तर्फबाट खाद्यान्न पुर्याउने कार्य सुरु भएको बताइन् । आइतबार बेलुका मात्र सिमकोट आइपुगेको सेनाको एमआई सेभेनटिन हेलिकोप्टरले खाद्यान्न ढुवानी सुरु गरेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सिमकोटमा रहेको ३४ क्वीन्टल खाद्यान्न ढुवानी हेलिबाट सुरु भएको बताए ।

उच्च क्षेत्र भएको कारण एउटा उडानमा हेलिले ११ क्वीन्टल खाद्यान्न मात्र ढुवानी गर्नेछ । सिमकोटबाट हेलिले तीन उडान भरेर लिमीमा खाद्यान्न पुर्याउनेछ । त्यसपछि हिल्सामा रहेको चार सय साठी क्वीन्टल मैदा तथा बीस बोरा चामल पनि ढुवानी गर्नेछ । सोमबार दिनभरि सिमकोट र हिल्साको खाद्यान्न ढुवानी हुने उनले बताए । त्यसपछि आज हेलि सिमकोटमा बस्ने र बाँकी खाद्यान्न मंगलबार पनि ढुवानी गर्ने उनले बताए ।

खाद्यान्नसँगै सांसद शाही र लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ पनि गएका छन् । खाद्यान्न समस्या हुने देखिएपछि हिउँ छिचोल्दै सिमकोट पुगेका लिमीवासीले प्रदेश र संघीय सरकारलाई यो समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए ।

केही दिन अगाडी २७ सदस्यीय लिमीवासीको टोली चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर आइपुगेको थियो । यसका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सांसद छक्कबहादुर लामा र सांसद शाही र प्रमुख जिल्ला अधिकारी आचार्यको विशेष पहल रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.