किन अपांगलाई हाँसोको पात्र बनाइन्छ ?

रिपोर्ट नेपाल | 2021 Sep 21 | 07:56 am 1529

  • वसन्त भुजेल

सृष्टिको सबै भन्दा माथिल्लो दर्जामा मानव जातिलाई राखिएको छ । अहिलेसम्म मान्छेले पत्ता लगाएका प्राणी मध्ये सबै भन्दा माथिल्लो दर्जामा मान्छेलाई राखिएको हो । सोच्न र सिर्जना गर्न सक्ने मस्तिस्क र अरु प्राणीहरुको तुलनामा मानिसको सबै भन्दा अब्बल मानिन्छ । शारिरिक क्षमताको रुपमा भन्ने हो भने जन्मदा मान्छे सबै भन्दा कमजोर हुन्छ । अरु प्राणीहरु जन्मदै सवलांग हुन्छन्, तर मानिस जन्मदा कुनै पनि सबै अंग सवल हुँदैनन् । क्रमश विकसित हुँदै मानिसका अंगहरु सवल बन्दै जाने हुन् । तर पनि अरु प्राणीका तुलनामा मानिसका अंगहरु कमजोर हुन्छन् । सामान्य दुर्घटनामा पनि मान्छे अंगभंग हुन्छ । अधिकांश प्राणीहरुको भन्दा मानिसको उमेर लामो हुन्छ । उमेर घर्कँदै जाँदा अरु अरु प्राणीहरुका अंग सवल नै रहन्छन् तर मानिसका अंगहरु बने दुर्वल हुँदै जान्छन्, आँखाले ठम्याउन छाड्छ, कानले सुन्न छाड्छ, हात गोडाहरु लुला हुँदै जान्छन्, बोली अप्रष्ट हुँदै जान्छ । यसरी मानिसलाई प्राकृतिले केही वरदान पनि दिएको छ । केही अभिसाप पनि दिएको छ । सिर्जना गर्ने क्षमता बरदान हो, तर बुढ्यौलीका कारण अपांगता हुनु, सामान्य दुर्घटनामा पर्दा पनि अपांगताको शिकार हुनु प्राकृतिकले मानिसलाई दिएको अभिसाप हो ।

तर शरीरका कुनै कुनै अंगले काम नगरे पनि मानिसको सिर्जनात्मक क्षमता भने अन्तिमसम्म पनि रहिरहन्छ । त्यसैले मान्छे भनेको शरीरका अंग भन्दा पनि मस्तिस्क हो रहेछ । मानिसले आफ्ना निर्वल अंगको विकल्पमा मस्तिस्कले सजिलै नयाँ नयाँ सिर्जना तथा आविश्कार गरिरहेको हुन्छ । मानिस भएर मानिसको यर्थाथता बुझ्न मद्धत पुर्याउने भनेको शिक्षा र चेतनाले हो । तर हाम्रो जस्तो अशिक्षित र चेतना शुन्य मुलुकमा अपांगतालाई मानिसको स्वभाविक र अपरिहार्य नियतिको रुपमा लिन नसक्ने दिमाग भएका मानिसहरु पनि छन् । उदाहरणका लागि अपांगताको अभिनय गरेर दर्शक हसाँउने तुच्छ शैली अपनाउनेहरुलाई हास्य कलाकरको दर्जा समेत दिइने गरिएको छ । अपांगताको क्यारिकेचर गर्नुलाई कलाकारिता ठान्नेहरुको जमात अझै पनि हाम्रो मुलुकमा छ । अरुको त के कुरा गर्नु ? हाम्री महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं पनि करिव एक वर्ष ह्वील चियरमा हिँड्नु भएको देखिएकौ हो । भगवानका कृपाले उहाँ ठिक हुनु भयो । राष्ट्रपतिको जस्तो गरिमामय पदमा पुग्नु भयो, तर अपांगतालाई हासोको पात्र बनाउनु हुँदैन भन्ने चेतना उहाँलाई आएन । घटना करिव डेड वर्ष अघिको हो । एक समारोहमा तत्कालिन प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाले बोलेको अष्पष्ट भयो भन्दै उहाँ हास्नु भयो । जनअधिकार प्राप्तिको आन्दोलनमा लाग्दा तत्कालिन प्रशासनले उहाँको जिब्रोमा करेन्ट लगाइ दियो । जिब्रो सवल हुन नसक्दा देउवाको बोली अप्रष्ट भयो । यो यर्थाथता थाहा पाउँदा पाउँदै पनि बोली बुझिएन भन्दै महामहिम ज्यु अट्टाहास गर्नु भयो ।

अहिले पनि केही कलाकारहरु देउवाको क्यारिकेचर गरेर दर्शक हसाउनुलाई बहादुरी ठान्छन् । बास्तवमा यसरी हसाउने त बेबकुफ हुँदै हुन् हास्नेहरु समेत बेवकुफ हुन् । जिब्रोले थोरै काम नगरेर के भयो त ? देउवा जत्तिको चतुर राजनीतिकर्मी त अरु देखिएनन् नि । माहिर भाषणबाज केपी शर्मा ओली दुई तिहाई बुहमत ल्याउँदा पनि सत्तामा टिक्न सकेनन् तर देउवा आधा दर्जन भन्दा बढी पार्टीहरु जोडजाड गरेर बल्ल तल्ल बहुमत पुर्याई पाँच पटकसम्म प्रधानमन्त्री भइसके । बेलायतमा उच्च शिक्षा हासिल गरेका हाम्रो मुलुकका एक मात्रै प्रधानमन्त्री हुन् देउवा । विश्वका करिव ८९ वटा देशका समाजवादी पार्टीहरुको संगठनले देउवालाई उपाध्यक्ष र एशिया प्रसान्त क्षेत्रको अध्यक्ष बनाएका छन् । वीपी कोइराला पछि त्यो सम्मानित पदमा पुग्ने एकमात्र नेपाली नेता हुन् देउवा ।

नैतिकता बिहिन राजनीतिले आक्रान्त मुलुकमा विपक्षीहरुले देउवाको जिब्रोलाई लिएर कांग्रेसको विरोध गर्नुलाई अन्यथा लिन पनि मिल्दैन, तर नेपाली कांग्रेस भित्रकै कतिपयले आन्तरिक दाउपेचका क्रममा देउवाको जिब्रोलाई मुद्धा बनाएको समेत देखिएको छ ।

समाजलाई दिने योगदानका सन्दर्भमा सवलांग र अपांगता भएकाहरुको तुलना सामान्यतया गरिँदैन । तर विज्ञानका पिता मानिने आइन्सटाइन पनि पुरै सवलांग थिएनन् । प्रसिद्ध बैज्ञानिक स्टेफन हकिङकै कुरा गर्ने हो भने पनि उनी शारिरिक रुपमा त चल्न चल्मलाउन नसक्ने अवस्थामा पुगेका थिए । उनले अधिकांश आविस्कार यस्तै अवस्थामा पुगेपछि गरेका हुन् । शरीरका कुनै अंगले काम नगर्दैमा सिर्जना क्षमता कमजोर हुँदैन भन्ने ज्वलन्त उदाहरण खोज्न विदेश जानै पर्दैन । हाम्रै मुलुककी सुप्रसिद्ध सािहत्यकार पारिजातको ढाडदेखि तलको अंग चल्दैनथ्यो । झमककुमारी घिमिरेकै कुरा गरौं । उनले देब्रे गोडाको दुई वटा आँंलाको सहारामा कस्ता कस्ता किर्तिहरु सिर्जना गरेकी छिन् । तर धरातलीय यर्थाथतालाई सबै मानिस वीच पुर्याउन नसक्दा अहिले पनि अपांगता भएका कारण हाम्रो मुलुकमा धेरै दाजुभाई तथा दिदीबिहनीहरुलाई पशु सरह खोरमा थुनेर राखेको पनि देख्न सकिन्छ । राज्यले अपांगता भएकाहरुका लागि घरमै पुगेर सेवा सुविधा दिने कानुन बनाएको छ, तर त्यो कानुन कार्यान्वयन गर्न हाम्रो कर्मचारी संयन्त्रले सकेको देखिन्न । कतिपय जनप्रतिनिधिहरु समेत तयार देखिँदैनन् ।

नागरिकता प्रमाणपत्र बनाउन र अपांगताको परिचयपत्र बनाउन नसक्दा समाजिक सुरक्षा भत्ता पाउन नसक्नेहरुको सूचि निकै लामो छ । केही महिना अघि एक जना पत्रकारले फेसबुकमा लेखेको देखेको थिएँ । लमजुङ स्थायी घर भएका उनी काठमाडौंमै बस्दा रहेछन् । आफ्नो पूर्ण अपांगता भएको १९ वर्षको छोराको नागरिकता बनाउनका लागि लमजुङ जान सक्ने अवस्था लकडाउनका कारण भएनछ । काठमाडौंकै सिडिओ सँग समस्या राखेछन् । सिडओले काठमाडौंका वडा अध्यक्षले काठमाडौंकै मतदाता भएको प्रमाणित गरेको अवस्थामा यहीबाट नागरिकता बनाइ दिने बचन दिएछन् । सिडिओ कालिप्रसाद पराजुलीको उक्त बचन पछि उनी आफैले भोट दिएका काठमाडौं १६ का वडा अध्यक्ष मुकन्द रिजाल कहाँ गएर मतदाता परिचय पत्र देखाउँदै सिफारिसका लागि आग्रह गरेछन् । तर वडा अध्यक्ष रिजालले मानेनछन् । यसरी उनी लकडाउनका बेला अनेक सास्ती खेप्दै गाडी रिर्जभ गरेर जिल्ला प्रशासन कार्यालय लमजुङ पुगेछन् । नागरिकता बनेछ, तर भोलिपल्ट प्रशासकीय अधिकृत जनकमान कर्माचार्यले अपांगता भएकालाई नागरिकता दिए भन्दै फेसबुकमा सेल्फी पोष्ट गरेछन् ? के उनको निगाहले नागरिकता प्राप्त भएको हो ? के उनले घरमै गएर नागरिकता दिएका हुन् ?

सानो अर्थतन्त्र भएको गरिव मुलुक नेपालले अपांगता भएकाहरुलाई समाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । राज्यको तर्फबाट गरिएको यो सह्राहनीय काम हो । तर आफ्नो शरीरको हेरचाह सुमेत आफँै गर्न नसक्ने, अर्कैले खुवाई दिनु पर्ने, दिशापिशाव समेत अर्कैले गराई दिनु पर्ने अवस्थामा रहेका अति अशक्तहरुका लागि वृद्ध भत्ता सरह मासिक चार हजार रुपैंया दिनु न्यायोचित हो त ? भन्ने तर्फ हाम्रो मुलुकका नीति निर्माताहरुको ध्यान कहिल्यै गएन । यस्तो प्रकारको अपांगता भएकाहरुका लागि राज्यले विशेष व्यवस्था गरिदिनु पर्छ ।

सौभाग्यले मैले विश्वका धेरै मुलुक पुग्ने अवसर पाएको छु । अपांगता भएकाहरुलाई राज्यको तर्फबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा धेरै मुलुकहरुको अवस्था अध्ययन गर्ने मौका पाएको छु । यस हिसावले संयुक्त राज्य बेलायत सबै भन्दा अगाडि छ । बेलायतका सडक मात्रै होइन सार्वजनिक स्थल तथा कार्यालयहरु अपांगता मैत्री छन् । अपांगता भएकाहरुलाई घरमै गएर सेवा उपलव्ध गराउने नियम छ । नियमति स्वास्थ्य चेक जाँच तथा औषधी उपचार घरमै हुन्छ । ठुलोस्वास्थ्य समस्या पर्यो भने सरकारले नै अस्पताल लैजाने व्यवस्था मिलाउाछ । तर त्यही बेलायतको संस्था व्रिटिश वेलफेयर सोसाइटीको नेपाल स्थित शाखाको कुरा गर्ने हो भने अपांगता भएकाहरुलाई प्रवाह गर्नुपर्ने सुविधा हाम्रो मुलुक नेपालको भन्दा पनि गए गुज्रेको छ । घरमै स्वास्थ्य जाँच र औषधीको व्यवस्था गर्ने दायित्व त परै जाओस् आफैले औषधी उपचार गरेको विल बोकेर बेलफेयरको कार्यालयमा जाँदा समेत भिख माग्न आएको जस्तो व्यवहार गर्ने गरेको पाइन्छ । आज फुर्सद छैन भोली आउ, आज खाना खाने समय भयो फुर्सद छैन, आज मेसिनले काम गरेन भन्दै नाना थरी जवाफ दिएर दुःख माथि दःुख दिने काम हुन्छ । भिख माग्न गएको जस्तो व्यवहार हुन्छ । आफ्नै पूर्वगोर्खाहरुलाई समेत हेला गरेको देखियो ।

आफ्नो देशमा सुविधा जे जसरी प्रवाह हुन्छ, त्यसरी नै नेपालको शाखामा सेवा सुविधा प्रवाह गर्न व्रिटिश वेलफेयरका कर्मचारीहरुmले किन सकिरहेका छैनन् ? नेपाल स्थित बेलायती दुतावास किन बेखवर छ ? काठमाडौंमा बस्ने गोर्खा भूपुहरुको त यस्तो हालत छ भने गाउँका दुरदराजमा बस्नेहरुको हालत के होला ? तसर्थ सम्वन्धित अफिसरको ध्यान जानु जरुरी छ । सेवाका लागि नभएर ट्रष्टको कोष सक्न मात्रै हो भने यस्ता संस्थाहरु बन्द गरिदिए पनि हुन्छ । भूपुको सेवा सुविधाका नाममा भूपुलाई नै आहात दिने यस्तो सेतो हात्ति पाल्नु जरुरी छैन । यति कुरा लेख्दै गर्दा गोर्खा भूपु वेलफेयर ट्रष्टले अन्य क्षेत्रमा राम्रा र उदाहरणीय काम गरेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । झोलुंगेपुल निर्माण, स्कुल भवन निर्माण लगायत विकासका थुप्रै उदाहरणीय काम वेलफेयर मार्फत भएका छन् ।
तर अब ट्रष्टले गर्नुपर्ने जिम्मेवारी फेरिएको छ । सडक, पुल, स्कुल भवन, खानेपानीको काम गर्न अव आवश्यक छैन । नेपाल आफै सक्षम भइसकेको छ । वेल फेयरले अब गर्नु पर्ने भनेको अपांगताको क्षेत्रमा हो ।

सर एडवर्ड कादुरी ट्रष्टलाई अरु सक्रीय बनाउनु पर्छ । साविकका भौतिक संरचनाहरुलाई अपांगता मैत्री बनाउने, पूर्ण अपांगता भएकाहरुलाई सहज जीवन यापनको व्यवस्था गर्ने तर्फ अब वेलफेयर ट्रष्ट जुट्नु पर्छ । ता की नेपालका नीति निर्माण तथा कार्यान्वयन तहमा बसेकाहरुको पनि दिमाग खुलोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.