– आकृती पाण्डे
घामपानी झरी बादल नभनेर ट्राफिक व्यवस्थापनका लागि अहोरात्र खटीने ट्राफिक प्रहरीका दुःख र वेदना अत्यन्तै दयनीय र करुणादायी छन। ट्राफिक व्यवस्थापनदेखि दुर्घटना न्यूनीकरणका लागि सडकमा देखिने ट्राफिकका थुप्रै कथा र व्यथा छन् । तराईको प्रचण्ड गर्मी देखि हिमालको मुटु कमाउने जाडोमा आफ्नो कर्म गर्ने ट्राफिक प्रहरीले सबैको स्यावासी पाउनु पर्ने हो तर दुर्भाग्यका साथ भन्नुपर्छ जसले ट्राफिक नियम उलंघन गर्छ त्यो मध्ये असी प्रतिशतको धाक धम्की र गाली खानुपर्छ । ट्राफिक नियम उलंघन गरेपछी कारवाही गर्नु ट्राफिकको प्रमुख कर्तव्य हो । उसलाई संगठनले जुन कार्यको लागि खटाएको हुन्छ त्यसै संगठन भित्रका हाकीमका मान्छे परे भने उसले फोनका भरमा छाड्नुपर्ने हुन्छ।
दिउसोको गर्मीमा वर्दी भित्रको एउटा क्यापको भरमा तपतप पसिना चुहाएर डिउटीमा खटीएको तल्लो दर्जाको ट्राफिक प्रहरीलाई माथिल्लो तहबाट गरीने व्यवहार पनि सुहाउदो छैन। दिशा पिसाव च्यापेर ट्राफिक व्यवस्थापनका लागि सडकमा खटेका तल्लो दर्जाका कर्मचारी शौच गर्न गएका समय दुर्घटना भयो भने माथिबाट खानुपर्ने खप्कीलाई पनि उसले मौन स्विकृती दिएर सडकमा खट्नु पर्छ । मुसलधारे पानी पर्दा वर्षादी लगाउदा लगाउदै सबै शरीर भिजेर लुथ्रुक्क भइसकेको ट्राफिक साँझ घर पुग्दा धुवाँ धुलो र थकानले लथ्रक्क परेको हुन्छ। उसको यो पीडा कसले बुझ्ने ।
ट्राफिक प्रहरीलाई जति दुःख र पीडा छ । नेपाल प्रहरीलाई नभएको होइन तर लडाई भिडाई दंगा जुलुस भएन भने ट्राफिकको तुलनामा उसको खटाई कम हुन्छ । ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रका ट्राफिक प्रहरीको जिम्मेवारी धेरै हुन्छ । बढ्दो सवारी, साँघुरो सडक त्यसमा पनि भिभिआईपी र भिआइपीको सवारी कम कस्ट हुदैन। सार्वजनीक सवारीका चालक सह-चालकसँग अनावश्यक वादविवाद यी सबै कार्य गर्दा ट्राफिक प्रहरी कति थकीत हुँदो हो कल्पना मात्रै गरौ त । ट्राफिक व्यवस्थापनका लागि भोक प्यास नभनि लाग्ने राज्यको एक वर्दीधारी सिपाहीले हामीले गल्ती नगर्ने हो भने किन कारवाही गर्छ ?
हामीसँग उसको न चिनजान छ न रिस राग । त्यसैले ट्राफिक प्रहरीलाई गाली होइन की हाम्रो सवारी हाँक्ने शैलीलाई अनुशासीत बनाएर तालीले स्वागत गर्नुपर्छ। सडकमा आफ्नो कर्तव्यमा खटेका बेला अनियन्त्रीत सवारी चलाउने चालकले दुर्घटना गराउदा कति ट्राफिकले ज्यान गुमाएका छन् भने कतिले अंगभंग हुनुपरेको पनि त हामीले देखेका छौ नि । अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको राज्यले मासिक स्वास्थ्य जाँच गरिदिनु पर्छ भने हामी चालकले पनि अनुशासीत भई ड्राइभिङ गरेर उनीहरूको थकानलाई थोरै भएपनि आराम दिन सक्यौ भने मात्रै हामी सच्चा नागरीक ठहरीने छौ ।
जय ट्राफिक !