काठमाडौं, असार ३ : संसदमा मन्त्रीका क्रियाकलापहरुमाथि चर्को आलोचना हुन थालेपछि मन्त्रीहरु नै अनुपस्थित हुन थालेका छन् । बजेटपटि निकै आलोचित बनेका अर्थमन्त्री डा युवराज खतिवडा र सञ्चारमन्त्री गोकुल बाँस्कोटा केही दिनदेखि सदनमा उपस्थित भएका छैनन् भने अन्य मन्त्रीहरु पनि अनुपस्थित भएका छन् ।
विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आइतबारको संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अनुपस्थित रहे ।
आइतबारको बैठकमा सांसद अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्यता नभएको बताएका थिए ।
ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका नेकपा नेता योगेश भट्टराईले यस्तो विषय संसद्मा नियमापत्तिको वातावरण बन्ने गरी मन्त्री अनुपस्थित रहनु नहुने ट्विटमार्फत् उल्लेख गरेका छन् ।
‘संसद्लाई संसदीय व्यवस्थाको मुटु मानिन्छ, जहाँ मन्त्रीको उपस्थिति बाध्यता होइन, उत्तरदायित्व र कर्तव्यका रूपमा मन्त्रीहरूले बुझ्नुपर्छ,’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘यसलाई प्रतिपक्षको नियमापत्ति पर्खेर बस्नु उपयुक्त होइन, ध्यान जाओस् ।’