एनआरएनए कार्यालयमा पत्रकार कुटिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति (विज्ञप्ति सहित)

| 2023 Nov 02 | 11:17 am 881

काठमाडौं । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालयमा युवा संघका कार्यकर्ताले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

कात्तिक १४ गते मंगलबार बालुवाटारस्थित एनआरएनए कार्यालयमा नेकपा एमालेको भ्रात्रीसंस्था, राष्ट्रिय युवा संघ नेपाल, ले आयोजना गरेको कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पुगेका पत्रकार शर्मामाथि आक्रमणको घटना अत्यन्त निन्दनीय, अशोभनीय साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको स्पष्ट पारेका छन् ।

‘महासंघ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । घाइते पत्रकार शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको सबै व्यवस्था गर्न महासंघले माग गरेको छ ।

मंगलबार अपरान्ह डा बद्री केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका शर्मालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेका थिए । शर्माको दाँतमा चोट लागेपछि उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै मुख्यालयमा पुगेका संघका अध्यक्ष आरके शर्मा लगायतका अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको शर्माले जानकारी दिए । विवादपछि घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न महानगरीय वृत्त दरबार मार्गमा उजुरी परेको छ ।

झन्डै दुइ साता पहिले एनआरएनएको नयाँ नेतृत्व चयन गर्न गराइएको अनलाइन चुनावमा व्यापक धाँधली भएको भन्दै आर के शर्मा नेतृत्वको बहुमत पक्षले छानबिनको माग गरे पछि स्वघोषित रुपमा आफैलाई अध्यक्ष घोषित गरेका बद्री केसीले संघका कर्मचारीहरुलाई घर पठाएर अफिसमा युवा संघको कार्यक्रम संचालन गरेका थिए। नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अनलाइन चुनावमा गरिएको धाँधलीको छानबिन गरिरहेका बेला कर्मचारीहरुलाई घर पठाएर निवर्तमान अध्यक्ष केसीले प्रमाण नष्ट गर्नुका साथै छानबिनमा अवरोध पुराउन खोजेको आशंका गरिएको छ। केसीले केन्द्रीय कार्यालयको चाबी आफैसंग लिएर गएको संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतले एनआरएन अभियन्ताहरुलाई बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.