काठमाडौं, बैशाख २०: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे पक्राउ परेका हुन्। बयानका क्रममा पक्राउ परेकाहरूले पाण्डेको नाम मुछेपछि सोधपुछका लागि पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनी गृहसचिव हुँदा नक्कली भुटानी शरणार्थी बनाउन संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।
यसअघि मंगलबार मात्रै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
पक्राउ परेका व्यक्तिहरूले बयानमा पाण्डेको संलग्नता रहेको बताएपछि उनी पक्राउ परेका हुन्। त्यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।