काठमाडौं, माघ ९ः चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौडेल सम्मानीत भएकी छिन् । लायन्स क्लब अफ काठमाडौं अभियानद्वारा आयोजित एक विशेष कार्यक्रममा गायिका पौडेललाई सम्मान गरिएको हो ।
विगत लामो समय देखि विभिन्न स्थानमा उद्घोषण एवं गायन क्षेत्रमा क्रियाशिल रहेर देशमा पुर्याएको योगदानको कदर गर्दै क्लबले पौडेललाई सम्मान गरेको हो ।
क्लबद्वारा चर्चित कला र गलाकी धनी पौडेललाई दिइएको सम्मान पत्रमा मुलुक भित्र उद्घोषण सेवाको काम गर्दै समाजको हरेक क्षेत्रमा सेवाको भावले दत्तचित्त भएर समृद्ध नेपाल निर्माणमा खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै सर्वश्री नारी सम्मान २०७९ बाट सम्मान गरिएको जनाइएको छ ।
गुल्मी जिल्लाको माटोमा जन्मीएकी पौडेलले मुलुकको लोक संस्कृतिको संरक्षण र महिलाले पनि अवसर पाए जस्तो सुकै ठूलो मञ्चलाई नियन्त्रण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेकी छिन् ।