आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

| 2021 Jan 24 | 08:42 am 1753

रसुवा, माघ ११ः चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

चालु आर्थिक वर्ष ०७७/७८ को साउनदेखि पुस मसान्तसम्म रसुवा भन्सारले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सयभन्दा बढी गाडीमा सामग्री आउथ्यो,’ उनले भने, ‘अहिले दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन्।’

कार्यालयले पुस मसान्तसम्म पाँच अर्ब ६७ करोड आठ लाख चार हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ७२ करोड २३ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको ३०.४ प्रतिशत मात्र हो।

यो वर्ष कार्यालयले ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। हालसम्म कार्यालयले वार्षिक लक्ष्यको १५.२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएपनि आयात बढ्न सकेको छैन। नागरिक दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.