संखुवासभा जेठ ३० : अरुण तेस्रो जलविद्युत आयोजना प्रभावित पार्ने गरि सकेट बम प्रहार भएको छ । संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको हो ।
आयोजनाको कार्यालयभन्दा केही पर विष्फोट भएका कारण क्षति भएन । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भोजपुरबाट आएर बम पड्काएर फर्किएको हुन सक्ने बताउनुभयो । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए । अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।