अन्य व्यक्तिलाई राउटे बस्तीमा प्रवेश रोक

रिपोर्ट नेपाल | 2021 Jun 07 | 04:28 pm 257

सुर्खेत, जेठ २४ः जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो। बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ।

पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएकाे बताइएकाे छ ।

बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए । आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.