अक्सिजनका भरमा बाँचेका पूर्व प्रमुख आयुक्त बस्नेत

रिपोर्ट नेपाल | 2021 May 04 | 02:30 pm 9009

काठमाडाैं, बैशाख २१ः विगत चार पाँच महिनादेखि जेलमा रहेका अख्तियारका पूर्व प्रमुख दीप बस्नेत मुटु रोगबाट पीडित हुन पुगी हाल उपचारार्थ ओम अस्पतालमा रहेका बेला कोरोनाबाट समेत संक्रमित भएकाले उनको अवस्था अत्यन्त नाजुक एवम् क्रिटिकल हुन पुगेको कुरा उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ ।

चिकित्सकका अनुसार करिब ५ वर्ष अघि दिल्लीको म्याक्स अस्पतालमा उपचार गर्दा मुटुमा STENT राखी फर्केका बस्नेतलाई उपयुक्त उपचार गर्ने अवस्थाबाट समेत बंचित गराई जेलमै राखेका कारण मुटुको समस्या बल्झनुका साथै कोरोनाबाट समेत संक्रमित भई निमोनिया भएको बताइएको छ ।

उनलाई बचाउन अहिले रेडमिसिबिर इन्जेक्सन दिइदै छ भने यसको मात्र भर नपरी प्लाज्मा पद्धतिबाट समेत उपचार गर्ने तयारी भइरहेको छ ।

ललिता प्रकरणका १ सय ७५ जना मध्ये उनी बाहेक सबैले धरौटीको सुविधा पाएका थिए भने उनलाई चाँही उपयुक्त उपचार गर्नबाट समेत बंचित हुने गरी थुनामा राखिएको थियो ।

बस्नेतकी श्रीमती, छोरा, छोरी सबै कोरोनाबाट पीडित भई उपचारारत रहेको बताइएको छ ।

बस्नेतको उपचारमा संलग्न चिकित्सकका अनुसार यथा समयमै बस्नेतले उपयुक्त उपचार नपाए जीउ ज्यान नै अत्यन्त क्रिटिकल अवस्थामा पुग्न सक्ने लक्षण उनको शरीरले देखाइसकेको छ ।

परिवारका सबै जसोलाई रेडमिसिबिरबाट मात्र नहुने देखिए प्लाज्मा पद्धतिमै जानुपर्ने अवस्था उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

संबैधानिक अंगका पूर्व पदाधिकारीहरु भागेर वा देश नै छाडेर जान्छ भन्ने जस्तो व्यवहार राज्यबाट नै हुन्छ भने सर्वसाधारणको के हविगत होला ? कानुनको नजरमा उनले गलत गरेको भेटिएमा सजायको हकदार हुन तयार रहेका व्यक्तिलाई यसरी अमानवीय तरिकाले राज्यबाट नै दुर्व्यवहार गरिनु अत्यन्त दुःख लाग्दो विषय हुन पुगेको कुरा संबैधानिक अंगका पूर्व पदाधिकारीहरुले गुनासो समेत गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.