काठमाडौं, माघ २३ : मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता सुरु भएको छ। बाँकी कामको लागि कसरी प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल सुरु गरेको हो।
सिएमसी कम्पनीले राखेका केही मागहरूका विषयमा छलफल भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ। यसअघि अनौपचारिक रूपमा ठेक्का तोडेको खानेपानी मन्त्रालयले माग २० गतेसम्म छलफलको लागि र काम गर्ने/नगर्ने भन्ने विषयमा पत्राचार गरेको थियो।
खानेपानी सचिव गजेन्द्र ठाकुरले माग २० गतेसम्म सम्पर्कमा नआएमा ठेक्का तोडिने बताएका थिए। तर, बोर्डले मेलम्चीको काम छिटोभन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने, नभए विकल्प राखेर पनि छलफल गर्ने योजना छ।
आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो। बिहीबारसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भइरहेको खानेपानी मन्छत्रालयले जनाएको छ।
यसअघि सीएमसीले काम गरिसकेपछि पाउनुपर्ने भुक्तानी (विवाद निरुपण बोर्डले तय गरेको रकम ३६ करोड रुपैयाँ) मेलम्ची बोर्डले नदिएको भन्दै गत डिसेम्बर १७ मा एकतर्फी ठेक्का रद्द भएको नोटिस जारी गरेको थियो । ठेकेदारले उक्त नोटिस जारी गरेपछि सचिव ठाकुरले ठमेलस्थित होटलमा बसिरहेका सीएमसीका कर्मचारीलाई ३० जना प्रहरी परिचालन गरी पक्राउ गराएका थिए ।
खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई ती विदेशीहरुको राहदानी जफत गरेका थिए । त्यसपछि यता उनीहरु नेपालमा बस्नु असुरक्षित ठानी वार्तासमेत नेपालबाहिर गर्नुपर्ने माग गर्दै आएका थिए ।
सरकारले दुई साताअघि ठेकेदारलाई ठेक्का रद्द भएको पत्राचार गरेको थियो । ठेक्का सम्झौता अनुसार उक्त पत्र काटेको १४ दिनसम्म वार्तामा बसी सहमति गर्न नसके स्वतः ठेक्का रद्द हुने प्रावधान छ ।
रकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाडौं आउने घोषणा गरेको थियो । त्यसअघि दशैंको पूर्वसन्ध्यामा आउने भनिएको थियो । दशैंमा पनि नसकिएपछि उसले तिहार लगत्तै आउँछ भन्दै काठमाडौं उपत्यकाका ४० लाख वासिन्दालाई आश्वासन दिएको थियो ।
हाल सीएमसीले साढे २६ किलोमिटर सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । तर मेलम्ची खोलाबाट सुरुङमा पानी हुल्न बनाउनुपर्ने मुख्य संरचना मुहान (हेडवक्र्स) को निर्माण कार्य अझै सुरु भएको छैन । खोलामा अस्थायी बाँध हालेर पानी फर्काउने र त्यही पानी उपत्यकामा आउँछ भन्ने हतारो सरकारलाई पटक, पटक भइरहेको थियो ।