चल्न थाल्यो चोभार सुक्खा बन्दरगाह

| 2022 Apr 06 | 08:42 am 293

काठमाडौँ चैत २३ : निर्माण सकिएको करिब १० महिनापछि चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । मुलुकको आर्थिक उन्नति गर्ने उद्देश्यसहित विश्व बैंकसँग २०७० जेठ २८ मा आयोजना निर्माणका लागि सम्झौता भएको थियो । त्यसको करिब ८ वर्षपछि बन्दरगाह सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाह परिसरमा वीरगन्जबाट आएको मालवाहक कन्टेनर । तस्बिर : अनिश रेग्मी/कान्तिपुर
विगतमा व्यवसायीले भारतलगायत विभिन्न मुलुकबाट आयातित सामानलाई वीरगन्ज, विराटनगर, भैरहवालगायत भन्सार नाकामै जाँच, क्वारेन्टाइन, राजस्व भुक्तानीलगायत प्रक्रिया पूरा गर्नुपर्थ्यो । तर अब सिधै काठमाडौंका चोभार बन्दरगाहमा ल्याएर जाँच्न सकिनेछ । निर्यातयोग्य सामान पनि चोभारमा जाँच भएपछि सिधै विभिन्न मुलुक पठाउन सकिन्छ ।

२०७५ असारमा निर्माण कम्पनीसँग बन्दरगाह निर्माण सम्झौता भएको थियो । माघ ३ मा शिलान्यास भएको बन्दरगाह निर्माण डेढ वर्षमा सक्ने लक्ष्य थियो । तर स्थानीयको अवरोध, कोरोना महामारीलगायत कारण ढिलाइ भएको थियो । विभिन्न अवरोधबीच २०७८ असारमा निर्माण सकिए पनि बन्दरगाह भन्सार नबस्दा तत्काल सञ्चालन हुन सकेन । भन्सार कार्यालय बसेपछि भने औपचारिक सञ्चालनमा आएको हो ।

वीरगन्जबाट आएका चार मालवाहक कन्टेनरलाई प्रवेश गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहको उद्घाटन गरे । उक्त अवसरमा प्रधानमन्त्री देउवाले आयात–निर्यातमा भइरहेको प्रक्रियागत कठिनाइ अब समाधान हुने बताए । ‘चोभार सुक्खा बन्दरगाहले काठमाडौंबाट हुने व्यापार व्यवस्थित गर्न सघाउँछ,’ देउवाले भने, ‘औद्योगिक वस्तुमा प्रतिस्पर्धी क्षमता बढाएर अन्तर्राष्ट्रिय बजारमा व्यापार बढाउन सकिन्छ ।’ बढ्दो व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ र सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ छ । अन्य ठाउँमा पनि सुक्खा बन्दरगाह निर्माणमा जोड दिइने उनले जानकारी दिए ।

बन्दरगाह सञ्चालनले व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान गर्ने र लोडअनलोडमा लाग्दै आएको लागत पनि घट्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ छ । ‘हामी रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रमा छौं,’ उनले भने, ‘तर अब श्रम स्रोतलाई पुँजीमा बदलेर विशेष किसिमले अघि बढ्ने बेला आएको छ ।’

बन्दरगाह आयात–निर्यात क्षेत्रको विकासमा कोसेढुंगा नै सावित हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘पछिल्लो समय व्यापार घाटा ठूलो समस्या बनेको छ,’ उनले भने, ‘बन्दरगाहले लागत घटाउँछ । तर फास्ट ट्र्याक चाहिन्छ । यसमा रेलवे पनि जोडिनुपर्छ । त्यसपछि मात्र बन्दरगाह सान्दर्भिक हुन्छ । यद्यपि बन्दरगाह सञ्चालनले हामी उत्साहित छौं ।’

बन्दरगाह सञ्चालनमा आउनुले वाग्मती प्रदेशको आयात–निर्यात सहज हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । बन्दरगाहमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब, डिजिटाइजेसन, अनलाइन पेमेन्टलगायतको व्यवस्था पनि हुनुपर्ने उनको भनाइ छ । बन्दरगगाह सञ्चालनले सरकारले निजी क्षेत्रमैत्री नीति लिएको प्रस्ट देखिएको नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णु अग्रवालले बताए । बन्दरगाहको संरचना मात्रै नभई उद्योगी व्यवसायीका लागि सहजीकरण, लागत घटाउने काम पनि हुनुपर्ने उनको भनाइ छ । उनले पनि रेलवे र फास्ट ट्र्याकलाई पनि सँगै जोड्न सके बन्दरगाहको सान्दर्भिकता अझ बढी हुने उनको भनाइ छ ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले व्यापार घाटा बढ्दो क्रममा रहेकाले सरकारले रेलवेमा तत्काल लगानी गर्न सक्ने अवस्था नरहेको बताए । कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेलवेमा लगानी गर्न सक्ने उनको भनाइ छ । ‘यहाँ कुरा आयो, रेलको आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैंले रेलवे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने ।

सुक्खा बन्दरगाहमा ५ सय कन्टेनर तथा ५ सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भान्सार, क्वारेन्टिन, सुरक्षा र अपरेटर कम्पनी राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । बैंकलगायतका अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन वटा एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन वटा धर्मकाँटा, विद्युतीय सबस्टेसन, वाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ ।

२६० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा आयोजना क्षेत्रको ६ प्रतिशत स्थानमा हरियालीलगायत सुविधा हुनेछन् । ‘१ अर्ब ५४ करोड लागतमा निर्माण भएको सुक्खा बन्दरगाहको निर्माण तथा सञ्चालनले बढ्दो व्यापार घाटा कम गर्न र निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्नेछ,’ गजुरेलले भने । आजको कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.