धनकुटामा एक्स्काभेटर बोक्ने टेलर पल्टिँदा सह चालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 11 | 04:17 pm 47

धनकुटा, पुस २६ः जिल्लाको चौबिसे गाउँपालिका–८, एसपीमोडमा शनिबार एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय राजकुमार राई रहेका छन् ।

ना ७ ख ७९१७ नम्बरको टेलर एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फ जाँदै गरेको अवस्थामा सडकमा पल्टिँदा च्यापियर सह–चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुल्न सकेको छैन ।

कच्ची सडकमा घुम्ती मोड्ने क्रममा टेलर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले जानकारी दिए ।

सडकमा टेलर पल्टिएपछि ६ नम्बर बुधबारे, राजारानी, भेडेटार सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएका छन् । अहिले गाडी हटाएर पूर्णरुपमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

घटनापछि टेलर चालक संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ वर्षीय बिन्दुराज महतलाई इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ भने मृतक राईको शव पोष्टमार्टमको लागि धनकुटा ल्याउने तयारी गरिएको एसपी कोइरालाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.