हुम्लामा फेरि भारी हिमपात, हिमपातका कारण चिसो बढ्दै

| 2020 Mar 02 | 10:47 am 2780

हुम्ला, फागुन १९: आईतबार बेलुकाबाट हुम्लामा फेरि भारी हिमपात सुरु भएको छ हिमपातका कारण हुम्लामा चिसो बढेको छ ।

सोमबार सिमकोटको तापक्रम माईनस ६ मा झरेको छ । हुम्लाको उत्तरी भेगमा हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हो ।

आईतबार बिहान मौसम सफा भएर घाम लागेको थियो तर दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात सुरु भएको हो । मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात भएको हुम्ला प्रहरी प्रमुख रामप्रशाद घर्तिमगरले बताए ।

हिमपात हुँदा जिल्लाका उत्तरी क्षेत्रहरु सेताम्मे भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ । यस वर्षको हिउँदमा बेलाबो हिमपात भइरहेकाले जेठमा पाक्ने गरी मंसिरमा लगाइएको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै हुम्लाका कृषकहरु उत्साहित भएका छन् ।

खेतबारीमा लगाइएको गहुँ, जौँ, उवा लगायतका बालीलाई पुसदेखि जेष्ठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यसवर्ष समय(समयमा वर्षासँगै हिमपात भएको छ, जसका कारण बाली सप्रिनेमा हुम्लाका कृषकहरु धेरै हर्षित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.