हाम्रो भान्सामा के छ ? : शारीरिक सिस्टम र प्रकृतिको कुरा

| 2019 Nov 13 | 07:54 am 2555

■ बबिता बस्नेत

के खाने, के लाउने भन्ने कुरा मानिसको नितान्त व्यक्तिगत रोजाइको विषय हो । कसलाई के खान मन लाग्छ, कसलाई के लाउन मन लाग्छ । कसैलाई यही खाने र लाउने कुराले त संसार यति रङ्गीन छ जस्तो लाग्ला, कसैलाई यी सामान्य कुरा हुन्, जिन्दगीमा महत्वपूर्ण कुरा अरू नै धेरै छन् भन्ने लाग्ला । मानिसको सोचले उसको जीवनशैली निर्धारण गरिरहेको हुन्छ । लाउने कुरा सामान्य रोजाइ भए पनि खानपिनले भने हाम्रो जिन्दगीमा धेरै ठूलो फरक पारिरहेको हुन्छ । हामी के खान्छौँ ? कस्तो खानेकुरा खान्छौँ ? कतिबेला खान्छौँ ? केमा खान्छौँ ? भन्ने कुराले शरीर र सोच दुवैमा प्रभाव पार्छ ।

हिजोआज हाम्रा कतिपय भान्सामा विगत लामो समयअघि पाक्ने गरेका खानेकुराले फेरि प्रवेश पाउन थालेका छन् । जुन खानेकुराहरू बीचमा पूरै विस्थापित भएका थिए । फापरको ढिँडो, रोटी, किटको कराहीमा मासको दाल, मकै र कोदोको परिकार, सकेसम्म शाकाहारी खाना । विश्वका विकसित मुलुकले बढ्दो रोग र अकस्मात् मृत्युमा खानपिनलाई जिम्मेवार ठानी विभिन्न अभियान चलाइरहँदा हाम्रा भान्साहरू पहिल्यै कति सुरक्षित थिए भन्ने महसूस हुन्छ ।

खानाले मात्र होइन, केमा खाने भन्ने कुराले पनि शरीरमा फरक पार्ने रहेछ । अहिले अल्जाइमर (बिर्सने रोग) को मुख्य कारण अल्मुनियमको भाँडा हो भनी प्रमाणित भएको छ । हाम्रा पुर्खाले झर्काको थाल प्रयोग गर्थे, किटको कराही, पित्तलको भाँडा, तामाको गाग्री हाम्रो भान्सामा प्रयोग हुन्थ्यो । आधुनिकताले हामीलाई यसरी छोप्यो कि पुराना भाँडाहरू अँध्यारो कोठामा थन्क्याएर हामी आल्मुनियमका झिलिमिली भाँडाहरू प्रयोग गर्न थाल्यौँ । परिस्थिति नै यस्तो बन्यो तामाको गाग्रीको ठाउँ प्लास्टिकका जारले लिए, लिइरहेका छन् ।

आधुनिकताले हामीलाई यसरी छोप्यो कि पुराना भाँडाहरू अँध्यारो कोठामा थन्क्याएर हामी आल्मुनियमका झिलिमिली भाँडाहरू प्रयोग गर्न थाल्यौँ । परिस्थिति नै यस्तो बन्यो तामाको गाग्रीको ठाउँ प्लास्टिकका जारले लिए, लिइरहेका छन् ।

न्युयोर्कमा रहेकी एक साथीले गत वर्ष तिमीहरूकोमा यो राम्रो पाउँछ भन्ने सुनेको छु, कहाँ पाउँछ होला ? मलाई चाहिएको थियो भनिन् । उनले भनेको स्पष्ट नबुझेपछि के चिज रै’छ भनेर गुगल गर्दा बेसार रहेछ । जवाफमा ‘यो त हाम्रो भान्सामा पाउँछ’ भनेँ । भियनामा बसोवास गरिरहनुभएकी संस्कृतकी विद्वान् अल्का आत्रेयले यही २०७६ सालको साउन महिनामा काठमाडौंमा आयोजित एक कार्यक्रममा भन्नुभएको थियो– ‘युरोपका मानिसहरू अहिले बेसारको पछि यसरी लागेका छन् कि जेमा पनि उनीहरूलाई बेसार चाहिन्छ ।’ बेसार धेरै कुराको औषधि हो र शरीरलाई आवश्यक कुरा हो भन्ने थाहा पाएपछि उनीहरू बेसारको पछि लागेका हुन् ।

अमेरिका–युरोपतिरका खानामा बेसार अहिले पनि आम कुरा होइन । तर, हामीकहाँ बेसार नहुने भान्सा कसैको हुँदैन । आमाले सानैदेखि बिरामी हुँदा बेसारपानी दिँदै ‘मन नलागे पनि खाऊ बाबा’ भनेर फकाइफकाई खुवाएको त हामी सबैलाई सम्झना छ । त्यतिबेला झर्को मान्दै खाएको कुराले अहिलेसम्म हाम्रो शरीरलाई आडभरोसा दिइरहेको छ भन्नेचाहिँ हामीलाई थाहा छैन । अमेरिकामा बस्ने यो पङ्क्तिकारको भाउजू बिनिता पन्त बस्नेतले रुघाखोकीदेखि घुँडा दुख्दासम्म ‘बेसार खानुपर्छ मैसाब’ भन्दा जेमा पनि हजुरको बेसार भनेर हाँस्थेँ । समयक्रममा अहिले ‘हो त रहेछ नि’ भन्ने लागेको छ । उहाँ बेसारको सानोतिनो प्रवक्ता नै हो भने पनि हुन्छ ।

बेसार मात्र होइन, हाम्रो भान्सामा हुने लसुन, अदुवा, मेथी, तोरीको तेल, गाईको घिउ, मह, दालचिनी, ज्वानो, जिरा सबै नै औषधि हुन् । तर, हाम्रो दिनचर्या र जीवनशैलीले हामीलाई यस्ता औषधियुक्त भान्साको खाना छोडेर अजिनोमोटो हालेको होटेल र पार्टी प्यालेसको खाना खानुपर्ने बनाइदिएको छ । हामीलाई भान्सामा समय दिन अल्छी लाग्छ, घरमा खाएर या बोकेर हिँड्नु हाम्रो प्राथमिकताभित्र पर्दैनन् । परिणामतः हामी कोलोस्ट्रोल, प्रेसर, सुगरलगायतका रोगबाट ग्रसित हुँदै गएका छौँ । तैपनि जीवनशैलीमा खासै परिवर्तन भने आएको छैन । तुलसी त्यस्तै अर्को औषधि हो जसलाई अहिले विश्वले खोजी–खोजी विभिन्न प्रयोगमा ल्याइरहेको छ । कहाँ पाउँछ, कतिमा पाउँछ, पात र दाना दुवैको व्यापक खोजी छ । तुलसी टिप्न हामीले आँगनबाहिर पुग्नुपर्दैन ।

तुलसी त्यस्तै अर्को औषधि हो जसलाई अहिले विश्वले खोजी–खोजी विभिन्न प्रयोगमा ल्याइरहेको छ । कहाँ पाउँछ, कतिमा पाउँछ, पात र दाना दुवैको व्यापक खोजी छ । तुलसी टिप्न हामीले आँगनबाहिर पुग्नुपर्दैन ।

शास्त्र भन्छ– घाम अस्ताएपछि खान हुँदैन । हाम्रा पुर्खाहरू साँझ पर्नुअघि नै बेलुकाको खाना खाइसक्थे । अहिले डाक्टरहरू भन्छन्– बेलुकाको खाना चाँडै खानुस्, खानेबित्तिकै नसुत्नुस् । तर, हामी खाएर आनन्दले सुत्नुपर्छ भन्दै ओछ्यान मिलाएर खाना खान्छौँ । खाना खाँदा बोल्नुहुँदैन भन्ने हाम्रो शास्त्रीय मान्यता व्यवहारमा लागू हुन सकेको भए खान सर्किएर मानिस मर्ने परिस्थिति नै आउँदैनथ्यो । हाम्रो त हिजोआज लन्च मिटिङ, डिनर मिटिङ हुन्छ । जीवनशैली र कामकाजले स्वस्थ खान त पाइएको छैन नै, आनन्दले खान पनि दिएको छैन ।

यो पङ्क्तिकारलाई दुई वर्षअघि विपश्यनामा जिन्दगीमा पहिलोपल्ट खानेकुरा र खाने तरिकाको महत्वबोध भएको थियो । हामीमध्ये धेरैको टीभी हेर्दै, पत्रिका पढ्दै, फोनमा कुरा गर्दै, फेसबुक हेर्दै खाना खाने बानी छ, जसलाई खाना खाइरहेको भन्न मिल्दैन । सद्गुरु भन्नुहुन्छ, ‘एकैछिनमा आफू हुने कुरा खानका लागि सचेतता अपनाऊ । तिमीले खाएको फलफूल, तरकारी एकैछिनमा तिमी हुन्छ । खाना, पानी, मदिरा जे खाए पनि तिमी हुन्छ । आफूमा परिणत हुने कुरा त राम्रै खानुपऱ्यो नि । राम्रोको अर्थ स्वादभन्दा बढी स्वस्थ हो ।’ हुन पनि एकछिन अघिसम्म ह्विस्की या वाइनको नाममा रहेको मदिरा खाएपछि सम्बन्धित व्यक्ति बन्न पुग्छ । उसले बोलेका कुराहरू, उसले गरेको व्यवहार मदिराले गऱ्यो कसैले भन्दैनन्, त्यो मानिसले गऱ्यो नै भन्छन् । एकैछिनपछि आफू हुने कुरा खाँदा पनि हामी ध्यान दिइरहेका हुँदैनौँ । शरीरमा मात्र होइन, खानाले मानिसको मनोविज्ञानमा पनि प्रभाव पार्छ । माछा–मासु खानु र नखानुले फरक पार्छ, मदिरा, सुर्तीजन्य पदार्थ सेवन गर्नु र नगर्नुले शरीर र मनोविज्ञान दुवैमा फरक पार्छ ।

मानिसले कुनै पनि बेला जे पनि गरिदिन सक्छ, अन्य प्राणीले गर्दैनन् । शरीर सिस्टममा चले पनि मानिसका भावनाहरू बहकिने हुँदा अन्य प्राणीलाई जति मानिसलाई विश्वास गर्न गाह्रो छ ।

मानिसले के खाने भन्ने कुरा प्रकृतिले नै तय गरिदिएको छ, तर हामी प्रकृतिभन्दा बाहिर केमिकलवाला खानेकुरामा आश्रित हुँदै गइरहेका छौँ । शास्त्र भन्छ, ‘ऋतुफल खाऊ ।’ हरेक ऋतुमा फरक फलफूल हाम्रो शरीरलाई आवश्यक पर्ने कुराहरूसँग सम्बन्धित छन् । मधेसको तातो बालुवामा खर्बुजा, हिमालमा स्याउ, पहाडमा मह, सबै प्रकृतिको तजबिजमै आएका हुन् । फलआहार सबैभन्दा राम्रो आहार मानिन्छ जुन मानिसले बनाएको होइन । प्रकृतिले सधैँ खानका लागि विभिन्न ऋतुमा फलाउने गरेको फललाई हामीले ब्रत बस्दा, बिरामी हुँदामा सीमित गरिदियौँ । बिरामी हुँदा मासु लिएर बिरामी भेट्न नजानुको अर्थ मासुभन्दा फलफूल शरीरका लागि राम्रो हो भन्ने नै त हो । शरीरभित्रको जैविक घडीले हामीलाई कतिबेला खाने भन्ने सङ्केत गर्छ, तर के खाने भन्नेचाहिँ हाम्रो स्वविवेकमा भर पर्छ ।

भोक लाग्ने, तिर्खा लाग्ने सबै कुरा हाम्रो शारीरिक सिस्टमभित्र पर्छन् । कहिले फूल फुल्ने, कहिले फल लाग्ने, कहिले पात पलाउने र झर्नेलगायतका कुराहरूमा प्रकृति जसरी सिस्टममा चल्छ, मानिसको शरीर पनि त्यसैगरी सिस्टममा चल्छ । अन्य प्राणी र मानिसबीचको फरक के हो भने प्रायः प्राणीको खानेकुरा निश्चित छ, तर मानिसको छैन । अन्य प्राणीले कहिले के गर्छ प्रजननदेखि धेरै कुरा निश्चित छ मानिसको छैन । मानिसले कुनै पनि बेला जे पनि गरिदिन सक्छ, अन्य प्राणीले गर्दैनन् । शरीर सिस्टममा चले पनि मानिसका भावनाहरू बहकिने हुँदा अन्य प्राणीलाई जति मानिसलाई विश्वास गर्न गाह्रो छ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.