हामी कतिसम्म खराब छौँ ?

रिपोर्ट नेपाल | 2018 Jun 27 | 09:33 am 3103

– देवप्रकाश त्रिपाठी

नेपालीको चरित्रका बारेमा करिब चौध सय वर्षअघि चिनियाँ यात्री ह्वेन साङले जे भनेका छन्, त्यो उनको नेपालीहरूसँगको लामो सङ्गत या नेपाली समाजको सूक्ष्म अध्ययनको निष्कर्ष थियो भन्न सकिँदैन । यात्राका क्रममा घुम्दै गर्दा हामीलाई जस्तो देखे त्यस्तै लेखेका हुन् । उनले धूर्त, स्वार्थी, कपटी या धोखेबाज देखेछन् हिमालयको दक्षिणतर्फ बस्ने हामीहरूलाई । यसबारे सिल्भाँ लेभी र टोनी हेगनले आफ्नो पुस्तकहरूमा उल्लेख गरेका छन् । भीमसेन थापाले तीन दशकसम्म एकछत्र राज्य गरेका थिए, नेपालको इतिहासका सर्वाधिक शक्तिशाली र प्रभावशाली शासकका रूपमा उनको नाम लिइन्छ । सत्ताको शक्तिमा रहँदा भीमसेनको पाउ चुम्न यहाँका मानिस लामबद्ध हुन्थे, तर जब उनको ओरालो यात्रा आरम्भ भयो त्यसपछि ‘हाय’ भन्ने कोही भइदिएनन् । भीमसेन थापाकी पत्नीलाई नग्न शरीरमा शहर परिक्रमा गराइने हल्लाका भरमा हजारौँ नरनारी रमिता हेर्न सडकमा निस्किए, विगतमा भीमसेन थापाको जयजयकार गर्न तँछाडमछाड गर्नेहरू पनि यिनै थिए । बेइज्जतीको पराकाष्टा सहन नसकेर आत्महत्या गरेका उनको प्राण जान झन्डै नौ दिन लाग्यो, विष्णुमती किनारमा पीडाले छटपटिएर रहँदा कुनै नेपाली उनको घाउमा मल्हमपट्टी लगाउन पुगेनन् । बरु ‘भीमसेन मरिसक्यो कि ज्युँदै छ’ भनेर हेर्न जानेहरूको भीड विष्णुमति किनारमा लाग्दथ्यो ।

नेपाल एकीकरणका महानायक बहादुर शाह निकै प्रभावी र तेजस्वी मानिन्थे, सत्ताको केन्द्रमा रहँदा उनको चरण स्पर्श गरिन्थ्यो । राज्य विस्तारमा उनले पु ऱ्याएको योगदानलाई लिएर घर–घरमा चर्चा हुने गर्दथ्यो र बहादुर शाहको स्तुति गर्न पाउँदा मानिसहरू आफैँ गौरवान्वित महसुस गर्थे । तर भाउजू (राजेन्द्रलक्ष्मी) सँग मनमुटाव भएपछि जब उनले काराबासको सजाय भोग्नुपऱ्यो, कुनै नेपालीले त्यसपछि उनको गीत गाएनन् । हामी उनलाई राष्ट्रिय विभूति मान्न अहिलेसम्म तयार भएनौँ । २००७ सालको क्रान्तिमा नेतृत्व गरेर चर्चा र लोकप्रियताको शिखरमा पुगेका बीपी कोइराला २०१५ सालको संसदीय निर्वाचनमा दुईतिहाइ बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेपछि देशको सर्वशक्तिमान नेताका रूपमा स्थापित हुन पुगेका थिए । त्यसताक बीपी राजा महेन्द्रभन्दा अतुलनीय रूपमै लोकप्रिय मानिन्थे । दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बीपी कोइरालामा अहङ्कारको मात्रा जतिसुकै भए पनि उनको निकट पुग्न मानिसहरू न्वारानदेखिको सामथ्र्य लगाउँथे । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्नु या आमनिर्वाचनमा दुईतिहाइ स्थान हासिल हुनु बीपीको गल्ती थिएन, त्यसैले मानिस उनको जयजयकार गरेर थाक्दैनथे । तर, तात्कालिक राजाबाट अपदस्थ भएर आठ वर्षसम्म बिनाकारण जेल यातना भोग्नुपर्दा दुईतिहाइ मत दिने जनतामध्ये पार्टीका केही नेता–कार्यकर्ताबाहेक कोही पनि बीपीका पक्षमा बोल्न तयार भएनन् । जनप्रतिनिधिको सरकार बर्खास्त हुँदा जनतामध्येकै मानिसले द्वीप प्रज्ज्वलन गरेर राजाको कदमको स्वागत गरे । बीपीले पु¥याएको योगदान तथा उनीमाथि भएको अन्याय देख्न खोजेनन् यहाँका मानिसले ।

२०४६ सालको जनआन्दोलनका नायक गणेशमानसिंह प्रधानमन्त्रीजस्तो गरिमामय पदीय जिम्मेवारी ग्रहण गर्न अस्वीकार गरेपछि उनी लोकप्रियताको उत्कर्षमा पुगेका थिए । २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा आफ्नी पत्नी र पुत्रलाई उम्मेदवार बनाएपछि तिनै गणेशमानको सेखी झार्ने भन्दै मंगलादेवी र प्रकाशमानलाई पराजित गरियो । पत्नी र पुत्र पनि आफूसँगै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएकाले गणेशमानबाट उनीहरूलाई जनतामा जान अनुमतिसम्म भएको थियो । प्रधानमन्त्री पद त्यागेर सर्वमान्य बनेका गणेशमान सिंहले पत्नी र पुत्रलाई चुनावमा उम्मेदवार बन्न सहमति दिनुको दण्ड यसरी दिइयो कि त्यसपछि उनी पुरानो उचाइमा कहिल्यै फर्कन सकेनन् । अचेल पति–पत्नी नै ‘उम्मेदवार’ मात्र होइन एउटै सरकारमा मन्त्री नै बन्दा पनि आलोचनात्मक टिप्पणी हुने गर्दैन । शक्ति र परिस्थिति हेरेर धारणा बनाउने र त्यसैबमोजिम व्यवहार गर्ने चरित्र यहाँ देखिएको छ ।

कृष्णप्रसाद भट्टराई त्यस्ता महानतम् व्यक्तिको कोटिमा पर्दछन् जसले प्रजातन्त्र, राष्ट्रियता, स्वतन्त्रता, धर्म, संस्कृति र परम्परासहितको समृद्धिका निम्ति पूरा जीवन समर्पण गरे । प्रजातन्त्र पुनस्र्थापनापछिको ६ महिनाभित्र संविधान निर्माण गरेर वर्षदिनभित्रै संसदीय निर्वाचनसम्म गराउने कृष्णप्रसाद भट्टराईलाई उनी आफैँले गराएको निर्वाचनमा हराइयो । निष्ठा र इमानदारीको प्रतिमूर्ति मानिएका भट्टराईले काङ्ग्रेसको आत्मा बचाउन गरेको सङ्घर्षमा पराजित भएपछि आफैँ संस्थापक रहेको पार्टी परित्याग गर्दा उनीप्रति सहानुभूति प्रकट गर्ने कोही भइदिएनन् ।

कृष्णप्रसाद भट्टराई त्यस्ता महानतम् व्यक्तिको कोटिमा पर्दछन् जसले प्रजातन्त्र, राष्ट्रियता, स्वतन्त्रता, धर्म, संस्कृति र परम्परासहितको समृद्धिका निम्ति पूरा जीवन समर्पण गरे । प्रजातन्त्र पुनस्र्थापनापछिको ६ महिनाभित्र संविधान निर्माण गरेर वर्षदिनभित्रै संसदीय निर्वाचनसम्म गराउने कृष्णप्रसाद भट्टराईलाई उनी आफैँले गराएको निर्वाचनमा हराइयो । निष्ठा र इमानदारीको प्रतिमूर्ति मानिएका भट्टराईले काङ्ग्रेसको आत्मा बचाउन गरेको सङ्घर्षमा पराजित भएपछि आफैँ संस्थापक रहेको पार्टी परित्याग गर्दा उनीप्रति सहानुभूति प्रकट गर्ने कोही भइदिएनन् । किशुनजीका प्रति पनि त्यस्तै कोटिको कृतघ्नता यहाँका मानिसले दर्शाएका हुन् जुन भीमसेन थापाप्रति दर्शाइएको थियो । किशुनजीले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा लिएको अडानको मूल्याङ्कन यहाँका बासिन्दाले पटकपटक चुनावमा पराजित गराएर गरेकै थिए । सिद्धान्तच्यूत बनेको पार्टीमा सिद्धान्त र विचार पुनस्र्थापित गर्न किशुनजीले गरेको सङ्घर्षमा एक्लो परेपछि उनले पहिले पार्टी र त्यसलगत्तै प्राणसमेत त्यागेका हुन् । निष्ठा र इमानदारीको पर्याय बनेका उनीप्रति सम्मान प्रकट गर्न यो नेपाली समाज अझै पनि कञ्जुस्याइँ गर्दै छ । प्रजातन्त्रको मुद्दामा राजासँग र राष्ट्रियताको मामिलामा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगरेका किशुनजीले जीवनको अन्तिम क्षणसम्म आफ्नो अडान छोडेनन्, जुन अडान केवल नेपाल र नेपालीको हितमा केन्द्रित थियो । तर, हामीले उनको विचार, भावना, समर्पण र त्यागलाई ग्रहण गर्न सकेनौँ र उचित कदर गर्न पनि खोजेनौँ ।

त्यसो त जंगबहादुर राणामाथि पनि नेपाली समाजले न्यायिक दृष्टिकोण राख्न अझै सकेको छैन । त्यस समयमा संविधान, कानुन, प्रजातन्त्र र निर्वाचन पद्धति थिएन । भीमसेन थापाकै शैलीमा उनले पनि सत्तामा पुग्ने र टिक्ने मार्ग तय गरेका हुन् । भीमसेनले भन्दा नेपाली राष्ट्रियता र देशको हितमा दूरगामी महत्वका उपलब्धि जंगबहादुरले हासिल गरेका छन् । सत्र हजार निर्दोष मानिसको रक्त आहालमा पौडिएर प्रधानमन्त्री बन्नेहरूलाई महान् देख्ने हामी नेपाली जंगबहादुरले पु¥याएको अद्वितीय योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय विभूतिको दर्जा दिन कञ्जुस्याइँ गर्दै छौँ । हुनत जसले यो देशको स्थापना ग¥यो उसैको (राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको) अपमानमा समेत रमाउने मान्छे बस्ने देशमा जंगबहादुरलाई हेर्ने दृष्टि फोहोर हुनुलाई टिप्पणीको विषय बनाइरहनु नपर्ने हो । तथापि नेपालमा सही–गलत छुट्याउने र पात्रप्रति विवेकसम्मत धारणा बनाउने सोच, संस्कार तथा परम्परा नरहेको दृष्टान्तहरूको चर्चा गर्दा जंगबहादुर राणाको सन्दर्भ पनि उल्लेख गर्नुपरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पङ्गु, निकम्मा र राजनीतिजीवीहरूको लाचार छाया बनाउनका निमित्त मात्र लोकमानसिंह कार्कीलाई बलजफ्ती लखेटिएको थियो भन्ने महसुस नगर्ने हामीले प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका गोपाल पराजुलीलाई बलात् विस्थापित गर्दा पनि त्यसलाई जायज ठान्यौँ । पात्रका गल्ती–कमजोरी छन् भने त्यसको निरूपण गर्ने पनि विधिसम्मत बाटा हुन्छन्, तर कसैले कुनै खास स्वार्थबस नियोजित ढङ्गले चलाइएका होहल्लाका बीच गैरसंवैधानिक तथा गैरकानुनी किसिमले भएका निर्णयहरूलाई हामीले ताली बजाएर अनुमोदन ग¥यौँ । राजनीतिजीवीहरूले आफ्नो सुरक्षाका निम्ति लिएका निर्णयहरूलाई अनुमोदन गर्दै जाँदा २१औँ शताब्दीमा पनि विवेकसम्मत दृष्टिकोण बनाउन नसक्ने सऱ्यौंमुदायका रूपमा हामी नेपाली आफ्नो पहिचान बनाउँदै छौँ ।

पहिले नै धारणा बनाउने, त्यसपछि सोहीअनुकूल हल्ला र अनधिकृत सूचना एवम् तर्क मात्र सुन्न चाहने हामी नेपालीको रोचक विशेषता बनेको छ । कुनै पनि खास घटना–सन्दर्भमा त्यसको वास्तविकता बुझ्ने या अनुसन्धान तथा छानबिन प्रतिवेदनहरू प्राप्त नहुन्जेल धैर्यपूर्वक प्रतीक्षा गरेर धारणा बनाउने सोच, संस्कार र परम्परा यहाँ बसेन । नकारात्मक हल्ला–चर्चामा मनोरञ्जन लिने र सत्य बुझ्न कुनै चासो नराखीकन मनगढन्ते धारणा बनाउने परम्पराले नेपालमा धेरैलाई विषद अन्याय गरेको छ र यस्तो अन्यायमा पर्नेमध्ये एक हुन्– दार्शनिक रूपचन्द्र विष्ट । कुनै पात्र या घटनाका बारेमा तथ्य प्राप्त गर्न नखोज्ने बरु नियोजित रूपमा चलाइएका नकारात्मक हल्ला चर्चालाई सही मानेर त्यसैमा अड्डी कस्ने नेपाली संस्कारको सिकार रूपचन्द्र विष्टले यसरी हुनुपऱ्यो कि उनले नेपाली जनताको मनोदशाकै कारण मृत्युमार्ग रोज्नुप¥यो । रूपचन्द्र विष्ट, जसले आफ्नो लागि बाँच्दै बाँचेनन् । पूरै जीवन राष्ट्र र जनताका नाममा समर्पण गर्ने महानतम् दार्शनिकबाहेक रूपचन्द्रलाई अर्को कुनै रूपमा बुझ्नुपर्ने अवस्था कहिल्यै थिएन र छैन । जनता जगाउने र आफूलाई चिनेर व्यवहार गर्न सक्षम बनाउने जीवनको मुख्य उद्देश्य र कर्म पूरा गर्न उनले समाजसेवा र राजनीतिलाई माध्यम बनाएका थिए । त्यसैक्रममा उनी राष्ट्रिय पञ्चायतको निर्वाचनमा सहभागी भई विजयी पनि बनेका हुन् । स्वतन्त्रता र प्रजातन्त्रको मुद्दामा रूपचन्द्रले कहिल्यै कसैसँग सम्झौता गरेनन् । जीवनभरि केवल जनता र जनता मात्र जपिरहेका उनले स्वतन्त्रता र प्रजातन्त्रको मात्र वकालत गरिरहेका हुन् ।

तर, पञ्चायत ढलेर प्रजातन्त्रको आगमन हुनेबित्तिकै रूपचन्द्रबारे ‘बिग्रिएको’ र ‘मण्डले बनेको’ भन्नेजस्ता हल्ला–चर्चा नियोजित रूपमै कुनै कुनाबाट शुरु गरिए, हामी जनता भन्नेले आँखा बन्द गरेर रूपचन्द्र बिग्रियो भनेर पत्याइदियौँ । हरेक पात्र र घटनाका बारेमा चलेका, चल्ने या चलाइएका नकारात्मक हल्लामा रमाउने नेपाली समाजले रूपचन्द्र विष्टप्रति यति निर्मम व्यवहार गऱ्यो कि अन्ततः उनले ‘प्राण त्याग गर्ने’ निर्णय लिनुपऱ्यो । विरोधीको भन्दा जनताको सोच र भूमिका देखेर हैरान र निराश बनेका रूपचन्द्र विष्टले घटना र विचार साप्ताहिकका लागि विशेष अन्तर्वार्ता दिँदै (२०५२ जेठमा) भनेका थिए, ‘अहिलेका एमाले भन्ने मालेहरू रूपचन्द्र विष्ट बिग्रियो, मण्डले बन्यो भनेर हिँडे, अनि मण्डलेहरूले हो हामीले बिगाऱ्यौंत्यसलाई भनेर भने । काङ्ग्रेस, मसाले आदि चाहिँ हो त्यो बिग्रेकै हो भनेर हिँडे । जनसाधारणले हो रे हो रे भने । झुटै बढी मन पराउने हाम्रो नेपाली समाजको स्वभाव मनोविज्ञान छ । सत्य जतिपटक भने पनि असर नपर्ने, झुट छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाने हुँदोरहेछ ।’ अन्तर्वार्ताका क्रममा सर्वसाधारण हामी जनतालाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘यिनीहरूलाई स्वदेशी र विदेशी जनविरोधीहरूले चिनेका छन् । यिनीहरूको मनोविज्ञानलाई सुहाउँदो अनेक भ्रमहरू फैलाउँछन्, त्यही भ्रममा यिनीहरू परेका छन् । जनताको राज्य चल्नै नसक्ने देखेपछि जनविरोधीसँग एक्लै कति भिडिरहनु भनेर पन्छिन खोज्थँे, ठिक्क ठाउँमा आइपुगेको छु ।’

रूपचन्द्र विष्टले २०४६ को राजनीतिक परिवर्तनपछि पहिलोपटक २०५२ जेठमा घटना र विचार साप्ताहिकलाई अन्तर्वार्ता दिएका थिए । जनताको सोच–व्यवहारबाट आजित र निराश बनेका उनले त्यसबेला भनेका थिए, ‘ठीक राजनीति जसलाई चाहिने हो, तिनीहरू नै मान्छे शुरु भएका छैनन् । जीविका गर्ने जन्माउने प्राणीकाम, सत्य र ठीक फैलाउने मान्छेकाम । जसलाई मान्छेकाम चाहिएको हो ती प्राणीकाम मात्र गरेर बसिरहेका छन् । तिनलाई म कसरी ठीक भनौँ ? भाले खोज्ने, पोथी खोज्ने, ब्याउन खोज्ने, बच्चा हुर्काएर मर्न खोज्ने, साक्षात् मान्छेको जुनीमा मान्छेको आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छेभित्रको मान्छे जगाउने प्रयासस्वरूप थाहा आन्दोलन गरियो । या त मान्छे जाग्दै जागेनन्, जे–जति जागे ती पनि लुच्चा फटाहालाई नै काम लागे ।’ राजनीति, राजनीतिजीवी र सर्वसाधारण जनताप्रति कटाक्ष गर्दै विष्टले भनेका छन्, ‘राजनीतिको नाममा जनता झुक्याउने नीति, ठगठाग नीति, बजेट ठेक्कापट्टा हत्याउने नीति नै राजनीति भनेर हिँडेका छन् । जुन नीतिले धेरैको हित हुन्छ, त्यो राजनीति हो । लुच्चा, फटाहा, बदमास, बेइमानहरू नै यहाँका जनसाधारणले खोजेका छन्, पाएका छन् । ती सुहाउँदा जनसाधारण छन्, जनसाधारण सुहाउँदा ती छन् ।’

जबसम्म हामी आफैँलाई बदल्न तयार हुने छैनौँ, तबसम्म ‘राम्रो’ प्रोत्साहित हुने र देश समृद्ध बन्ने अपेक्षा नराखेकै राम्रो । हल्ला चर्चा र सस्ता क्रियाकलापकै आधारमा कसैलाई देवतातुल्य ठान्ने र कसैलाई दानव देख्ने हाम्रा रोगी आँखाको उपचार गर्नेतर्फ संवेदनशील हुन सकिँदैन भने हामीले बुझ्नुपर्छ– सुध्रिनका लागि हामी कहिल्यै तयार छैनौँ ।

यसरी अन्तर्वार्ता दिएको चार वर्षपछि २०५६ सालको असारमा रूपचन्द्र विष्टले नेपाली जनताबारे सोचनीय धारणा बनाउँदै देहत्याग गरे । आफूले मर्ने निर्णय लिएको कुरा उनले अन्तर्वार्ताकै क्रममा बताएका थिए । सत्तामा रहेकाहरू या रहन खोज्नेहरू, धनाढ्यहरू र आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेकाहरू सबै खराब होइनन्, हुँदैनन् । तर, हाम्रा सोच र व्यवहार ‘सफल जति खराब’ भन्ने मनोविज्ञानबाट ग्रसित छ । आफूले खराब ठहर गरेको व्यक्तिका बारेमा सकारात्मक सुन्ने क्षमता नेपाली जनतामा भएको अहिलेसम्म देख्न–सुन्न पाइएको छैन नै, कदाचित ‘त्यस्ता’ व्यक्तिका विषयमा उत्पन्न विवादको निरूपण गर्न अदालतमा मुद्दा प¥यो भने उसका पक्षमा बहस गर्ने वकिललाई समेत हामी खराब भनिदिन्छौँ । हामीले भोगिरहेको नेपाली समाज यस्तै छ ।

२०५८ सालमा राजदरबारमा बीभत्स हत्याकाण्ड भयो, त्यसबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न जनस्तरबाट माग भएन, बरु घर–घरमै बसेर हामीले ठहर गरिदियौँ, ‘पक्कै पनि फलानाले हत्या गरेको हुनुपर्छ ।’ यसरी आफूले ठहर गरिसकेपछि हामीले यस विषयमा अर्को कुनै तथ्य र तर्क सुन्न चाहेनौँ । यतिसम्म कि घटनाका पीडित र प्रत्यक्षदर्शीका कुरा सुन्नसमेत हामी तयार भएनौँ । त्यसताक वनजङ्गलतिर बस्नेहरूले चलाएको हल्ला सही ठान्ने र पीडित तथा प्रत्यक्षदर्शीले भनेका भन्दा घरमा बसेर आफैँले मनमनै ठानेका कुरा सही मान्ने हामी नेपालीको जस्तो सोच र चरित्र वास्तवमै यो धर्तीको अर्को कुनै कुनामा शायदै भेटिएला ।

उचाइ प्राप्त गरेका कसैको ओरालो यात्रा शुरु हुने सङ्केत देखियो भने रातको सन्नाटामा पूरा सडक ओगटेर हिँड्ने मदिराप्रेमीलाई गल्लीका कुकुरहरूले भुकेकै शैलीमा चौतर्फी ‘मानव भुकान’ शुरु हुने गर्छ यहाँ । त्यसैले राम्रो गर्नेको भन्दा हल्ला गर्नेको निम्ति अनुकूल बनेको छ यो भूमि । हामी जनता नै विवेकहीन भइसकेपछि ठगहरूबाट ठगियौँ भनेर किन भन्नु ? अरू कसैलाई दोषी देखाएर आफूलाई पानीमाथिको ओभानो बनाउन किन खोज्नु ? जब हामी जनता नै नकारात्मक र खराब मनोसंस्कारबाट ग्रस्त छौँ भने, हामीले चुन्ने मानिस हाम्रैजस्तो संस्कारका हुन्छन् भने तिनका बारेमा मात्र प्रश्न किन उठाउनु ? बरु हामी जनताले आफ्नैबारेमा प्रश्न उठाउन विलम्ब भइसकेको छ ।

जबसम्म हामी आफैँलाई बदल्न तयार हुने छैनौँ, तबसम्म ‘राम्रो’ प्रोत्साहित हुने र देश समृद्ध बन्ने अपेक्षा नराखेकै राम्रो । हल्ला चर्चा र सस्ता क्रियाकलापकै आधारमा कसैलाई देवतातुल्य ठान्ने र कसैलाई दानव देख्ने हाम्रा रोगी आँखाको उपचार गर्नेतर्फ संवेदनशील हुन सकिँदैन भने हामीले बुझ्नुपर्छ– सुध्रिनका लागि हामी कहिल्यै तयार छैनौँ । पहिले धारणा बनाउने र त्यसपछि आफूले बनाएको घारणालाई सही प्रमाणित गराउन अविवेकी ढङ्गले मरिमेट्ने हाम्रो प्रवृत्तिमा परिवर्तन ल्याउन नसक्दासम्म हामीले देश परिवर्तनको आशाा राख्नु पनि हुँदैन । ह्वेन साङको समयमा पनि ‘यस्तै’ थियौँ, भीमसेन थापाको कालखण्डमा पनि ‘यस्तै’ रह्यौँ अहिले पनि ‘यस्तै’ छौँ र युगौँयुगसम्म ‘यस्तै’ नै रहनेछौँ ।

(घटना र विचारबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.