स्थानीयद्वारा कुटिएका एक सैनिक जवानको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 17 | 02:02 pm 955

सिरहा, जेठ ३: बरियारपट्टी गाउँपालिकाका स्थानीयले चोरी गरेको आरोपमा कुटपिट गरी गम्भीर घाइते बनाएका एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंह रहेका छन् ।

उक्त गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवानको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

सैनिक जवान सिंह सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत थिए । उनी बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घाइते सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए । उक्त घटना भएपछि तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.