सालीकी छोरीलाई नक्कली नागरिकता बनाउने दम्पती प्रहरी खोरमा

रिपोर्ट नेपाल | 2018 Jul 14 | 12:32 pm 3180

बर्दिया,असार ३० : सालीकी छोरीलाई आफ्नो छोरी भनेर नागरिकता बनाइदिने नक्कली बाबुआमा र नागरिकता प्राप्त गर्ने एक युवती प्रहरी खोरमा बस्न पुगेका छन् ।

प्राप्त समाचार अनुसार जिल्लाको बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण पेश गरी सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका कारण अहिले दम्पती सहित तीनै जना प्रहरी हिरासतमा छन् ।

तीनै अभियुक्तलाई इलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ । बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताको सिफारिश गरेका थिए ।

गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन कार्यालय बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन् ।

उनले आफ्नो जन्म मिति २०५५ फागुन ७ गते उल्लेख गरेकी छिन । शर्माले नागरिकता प्राप्त गरेलगत्तै विदेश जानका लागि राहदानीको फर्म समेत भरेकी छन् । सुराकीका आधारमा पक्राउ परेका तीनै जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नागरिकता अनुसन्धानको क्रममा रहेकाले तत्काल राहदानी दिन नसकिने इलाका प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नगारिकता ऐनअनुसार कारवाही हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.