सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको छ : डा लोहनी

| 2019 Feb 09 | 06:14 am 2163

डा प्रकाशचन्द्र लोहनी हालै एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष हुन् । पशुपती शमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)सँग पार्टी एकता रगरेका लोहनी नेपाली राजनीतिमा खरो स्वभाव र आफ्नो विचार प्रष्टसँग राख्ने नेताका रुपमा परिचित छन् । दुई पार्टीको एकता पछि दिपक बोहराहरुले एकताका विषयमा असहमति जनाए पनि देश अप्ठ्यारोमा परेका बेला र राष्ट्रियतामाथि चौतर्फी हमला भइरहेका बेला राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार राख्ने लोहनीसँग रिपोर्ट नेपालले गरेको कुराकानीको सम्पादीत अंश प्रस्तुत गरेका छौं।

पटक पटक फूटेको र जुटेको तपाईहरुको पार्टी फेरि पनि “ए” कता हुने त होइन ?

तपाईले भनेका कुरा हामी फूटेका पनि हौं र अहिले जुटेका पनि छौं । राष्ट्रलाई अप्ठ्यारोमा परेको बेला राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नभएर हामीले दुई पार्टी एकीकरण गरेका हौं ।

पशुपती शमशेर राणाका निकट रहेका दिपक बोहरा लगाएत दुबै तर्फका थुप्रै नेता कार्यकर्ताले यो एकताको विरोध गरेका छन् त तपाई के भन्नुहुन्छ ?

जसले राष्ट्रियताको चिन्ता लिन्छ त्यसले यो एकताको विरोध गरेका छैनन् । एकताको घोषणा हुने दिन बाजागाजा सहित आएका कार्यकर्ताले यो एकतालाई स्वागत गरेका छन् । दुबै तर्फका थुप्रै साथीहरु एकताबाट हौसिएका छन् । विरोध गर्ने साथीहरु पनि विस्तारै एकतामा सहमत हुनुहुन्छ र आएर जिम्मेवारी वहन गर्नुहुन्छ ।

पहिलो गाँसमै ढुङ्गा भने जस्तै एकतामा विरोध त आयो नि होइन र ?

सबै कुरामा सबैले सहमत राख्छने भन्ने होइन । आफ्नै घर परिवारमा त सहमत र असहमत हुन्छ भने यो त पार्टी हो । प्रजातन्त्रमा असहमत जाहेर गर्नु अधिकारको कुरा पनि हो ।

एकता गर्दा पर्याप्त छलफल नभएको गुनासो सुनिन्छ त ?

धेरै चरणको वार्तालापपछि विधान कस्तो बनाउँने, चुनाव चिन्ह के राख्ने, नेतृत्व कसले गर्ने, महाधिवेशन कहिले गर्ने, हिन्दु राष्ट्र र संवैधानीक राजसंस्थामा सहमत भएपछि बल्ल एकता भएको हो । व्यक्ति–व्यक्तिमा छलपल नभए होला तर संस्थागत छलफलमा व्यापक पेट माझामाझ भएको हो ।

तपाईहरुकै पार्टीका असन्तुष्ट नेताहरुलाई के गर्नुहुन्छ ?

२०४६ सालको परिवर्तन पछि राप्रपा धेरै पटक फूटेको कुरा सत्य हो र त्यसबेलादेखि एक न एक साथीहरु असन्तुष्टी रहनुहुन्थ्यो र यस पटक वैकल्पीत शक्ति बनाउँने पवित्र उद्देश्य लिएर एकता भएको पार्टीमा उहाँहरु बिना हिचकिचावट आएर जिम्मेवारी बहन गर्न फेरि आग्रह गर्दछौं ।
कमल थापाको राप्रपा नेपालसँग संयुक्त महाधिवेशन गरेर तपाईहरु फूट्नु भएको हो, तपाईहरुको यो मोर्चामा कमल थापालाई समेट्न सक्नुहुन्छ ?

मैले अगाडि पनि भनेको छु राष्ट्रवादी शक्तिहरुको अझैपनि चेत खुलेन भने त्यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । कमलजी पनि मिल्नुको विकल्प छैन । सबै तिक्ततालाई त्यागेर देशलाई केन्द्रविन्दुमा राखियो भने कमलजी पनि आउनुहुन्छ । आजको आवश्यकता भनेको एकता हो ।

कमल थापासँग केही संवाद भएको छ त ?

अहिले हामी एकताको सन्देश दिन र एकीकृत पार्टीलाई व्यवस्थापन गर्नमा व्यस्त छौं । हाम्रो आन्तरिक व्यवस्थापनपछि कमलजीसँग मात्रै होइन राष्ट्रिय मुद्दामा अन्य पार्टीसँग पनि संवाद गर्न चाहान्छौं ।

तपाईहरुको एकताको खास उद्देश्य के हो ?

आफूलाई सबैभन्दा ठूलो र प्रजातन्त्रवादी भन्ने नेपाली काँग्रेस र नेकपाबाट जनता वाक्क दिक्क छन् । हामीले अव सबै राष्ट्रिवादी शक्तिलाई एउटै छातामुनी गोलबन्द हुँदै वैकल्पीक शक्ति बन्ने हाम्रा प्रमुख उद्देश्य हो ।

छोटो शब्दमा भन्नुपर्दा सरकारका काम कारबाही बारे के भन्नु हुन्छ ?

हेर्दा दुई तिहाइको सरकार छ तर जनता यो सरकारसँग आजित भएका छन् । यो सरकारले चाहाँदा मुलुकका लागि धेरै कुरा गर्न सक्ने थियो तर यसले जनतालाई होइन आफ्ना परिवार र चम्चेहरुलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको छ । यो सरकार भ्रष्ट्राचार गर्नका लागि गठन भएको हो कि जस्तै देखिएको छ । सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डेबेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.