सरकारको उद्घोष र जनताको निरासा

रिपोर्ट नेपाल | 2019 Sep 29 | 06:47 pm 3241

  • महेन्द्र पाण्डेय

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले नेतृत्व गरेको सरकारका मन्त्री र सचिव प्रति काम गर्न नसकेको भन्दै आक्रोशित बनेका छन् । झण्डै १३ महिना अगाडि रक्षात्मक रुपमा मुलुकका संचारकर्मी (सम्पादक) सँगको भेटमा प्रस्तुत भएका प्रधानमन्त्री यतिखेर निरिह सावित भएका छन् ।

दुई तिहाई सांसदको नेतृत्व गरेका प्रधानमन्त्री पटक पटक विरामी भएर उपचारका लागि विदेश गएको आम नेपालीलाई अवगत नै छ । रोगले ग्रस्त प्रधानमन्त्रीको उपचार विदेशमा भए पनि उनको कार्यकालमा मुलुक उनी भन्दा बढ्दा रोगले छटपटाई रहेको छ । दुई तिहाईको सरकारबाट महंगी नियन्त्रण, भष्ट्राचार समाप्ती, कालाबजारीयाको उन्मुलन, शान्ति सुरक्षा र अमन चयनको सपना देखेका नेपाली जनता यिनै कुराबाट बढी पीडित बन्न पुगेका छन् ।

जनता यतिखेर महंगीको चाँपले थिलो थिलो परेका छन् । समृद्ध नेपाल सुखी नेपालीको नारा ल्याउँदा हर्षले गदगद भएका निरिह जनता पछिल्लो समय नाराले पेट भरिदो रहेनछ भन्दै सरकारलाई सत्तो सराप गरिरहेका छन् । जनतामा निरासा नआयोस र प्रेसले निरासा बाढ्ने काम नगरोस भन्ने ओलीको एक वर्ष अघिको उद्घोष यतिखेर पानीको फोकामा परिणत भएको छ ।

सरकार गठन भएलगत्तै रेल र पानी जहाजको गफ गर्ने प्रधानमन्त्री ओलीलाई नागढुङ्गा देखि धादिङसम्मको झण्डै आठ घण्टाको सवारी यात्रा र जामले चुनौती दिइरहेको छ । सवारी जामका कारण ज्यान गुमाउने र घण्टौसम्म भोकभोकै र प्यासैप्यासको यात्रा गरेका यात्रुले सरकारको यात्राका विषयमा आक्रोश पोख्ने गरेका छन् ।

लामो समयसम्म नेपाली कांग्रेसले सत्ताको बागडोर संम्हाल्दा असन्तुष्टि रहेका जनताले कम्युनिस्टको सरकार बनेपछि मुलुक समृद्धीको बाटोमा अघि बढ्ने चिल्ला नारा सुनेर विश्वासमा परेका जनताले कम्युनिस्टलाई बहुमत दिएका हुन् । जनताको मतबाट दुई तिहाईको नेतृत्व गरेको ओली नेतृत्वको सरकार हरेक मुद्धामा असफल सावित भएको छ ।

जनतालाई आशा तर्फ लैजानका लागि जुनजुन कुरा तर्फ ध्यान दिनुपर्ने थियो सरकार ति कुरा प्रति पुरै चुकेको छ । प्रधामन्त्री केपी शर्मा ओलीले मुलुकका नाममा आफ्नै पार्टीकी पूर्व नेतृ राष्ट्रपति विद्यादेवी भण्डारीसँग ४१औं प्रधानमन्त्रीका रुपमा सपथ खाएको आज असोज १२ गते आइतबार ५ सय ९५ दिन पुगेको छ । वितेका यो अविधिमा थुप्रै बलात्कार, हत्या, हिंसा भए शान्ति सुरक्षाको स्थिति जनताले महसुस गर्न पाएनन् ।

केपी नेतृत्वको सरकार बन्नु अघिको महंगी र अहिलेको दाँजो गर्ने हो भने आकास जमिनको फरक छ । कसैबाट आयोजित कार्यक्रममा गएर समृद्धीका कुरा गर्ने र प्रतिपक्षलाई सत्तो सराप गर्ने काम बाहेक सरकारले केही गर्न नसकेको अनुभूति जनताले गरेका छन् । करको सेकाइले जनतालाई उठ्नै नसक्ने गरी आक्रमण गरिएको छ । यी सबै कुरालाई प्रधानमन्त्री ओलीले राम्रैसँग बुझेर पनि बुचपचाई रहेका छन् ।

संसारबाट पहिलो पाइला टेक्ने राजधानीको अन्तराष्ट्रिय विमानस्थलको ढोका बाटै कालो बजारीको सुरुवात छ । सडकको अवस्था विदेशी पर्यटकले होइन की नेपाली जनताले समेत धिक्कार्ने किसिमको छ । सरकार विमानस्थलका व्यापारीको कालाबजारी र सडकको दुर्दशा बारे हामीले गरेको हो र पूर्व सरकारले गरेको हो भनेर उम्कीने गरेको छ ।

राजनीतिक र सरकारी मञ्चमा संसारको उदाहरण दिँदै भाषण गर्ने सरकारका मन्त्रीहरुले यातायात मन्त्री रघुवीर महासेठको घर वरीपरीको सडक हेर्ने हो भने सरकारलाई धिक्कार्ने बाहेक स्मरण गर्ने अरु केही बाँकी रहदैन । नेपालीको महान चाड विजया दशमीले आजदेखि ढोका प्रवेश गरेको छ । हर्षोउल्लासका साथ मनाउनुपर्ने यो महान चाडमा जनताले भोग्नु परेको महंगी र यात्रामा भएको सास्तीलाई गृह मन्त्रालयको एउटा कोठामा बसेर निर्देशनबाट टुङ्गीने गरेको छ ।

गृह प्रशासनको बागडोर संम्हालेका मन्त्री रामबहादुर थापा असफल सावित हुँदा पनि प्रधानमन्त्री ओली उनलाई गद्धीमै बसाल्नमा खुसी छन् । निर्वाचनपछि नेकपा एमाले र माओवादीबीच एकता भएपछि प्रचण्डको सिफारिसमा गृह मन्त्री बनेका थापाले प्रचण्डलाई छाडेर ओली तर्फ टाँसिएपछि उनको गृह प्रशासनको असफलता पार्टी भित्रको आन्तरिक जोड घटाउले मान्यता पाएकै कारण उनी गृहमन्त्रीका रुपमा रहेका छन् ।

प्रचण्डको नेतृत्वको पहिलो माओवादी सरकारमा रक्षा मन्त्री बनाइएका थापा सरकार र सेनाबीच दरार पैदा गराउने व्यक्ति भएको आरोप लागेका व्यक्तिहुन् । त्यो बेलाको सरकार सेनाकै दरारका कारण त्यसले विकराल रुप लिएपछि प्रचण्ड राजिनामा गर्न बाध्य भएका थिए । यि सबै कुरालाई राम्रैसँग बुझेका ओलीले रामबहादुर थापालाई काखी च्याप्नुको मुख्य कारण प्रचण्डलाई कमजोरी बनाउनु बाहेक अरु केही होइन ।

गृह प्रशासन चुस्त र दुरुस्त हुने हो भने मात्रै पनि समृद्धीको आधा लक्ष्य हासिल हुन्छ भने प्रधानमन्त्री ओलीले बुझ्न जरुरी छ । मञ्चमा भाषण र बालुवाटारमा मन्त्री सचिवलाई बोलाएर निर्देशन दिदै र असन्तुष्टि पोख्दैमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैनन् । प्रम ओली ज्यू जनता यतिखेर महंगी र भष्ट्राचारको मारले थिचिएका छन् यसलाई आजैबाट नियन्त्रण गर्न खोज्नु भएन भने जनताले बाध्य भएर भन्ने छन् जुन जोगी आएपनि कानै चिरेको र सोच्ने छन् नयाँ विकल्प ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.