सगरमाथाकाे नयाँ उचाइ विवरण कहिले ?

| 2020 May 30 | 08:39 am 1133

काठमाडौं, जेठ १७ः नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ । सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।

सन् २००५ मा चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकालिएको थियो । चिनियाँ पक्षले निकालेको सर्भे विवादमा आएपछि सन् २०१० मा नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै कायम गर्ने गरी सहमति जुटेको थियो ।

चिनियाँ सर्भेमा रहेका ३० जना सगरमाथाको शिखरमा पुगेर फर्केपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बताएकी छन् । राजदूत यान्छीले ट्वीट गर्दै चिनियाँ सर्भेयरले पनि चुचुरोमै पुगेर सगरमाथाको नाप लिएको बताएकी छन् । उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन् ।

नेपालका तर्फबाट भने सगरमाथा मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । चीन र नेपालले सगरमाथाको उचाइ सार्वजनिक गर्ने विषयमा नापी विभागलाई कुनै जानकारी नभएको ढकालको भनाइ छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.