विराटनगरमा बम विस्फोट चटर्जीको गयो ज्यान

| 2019 Sep 07 | 09:00 am 1395

युद्ध लम्बिँदै जाँदा विराटनगरको लडाईँ कसरी छिटो टुङ्गोमा पुर्याउने भन्नेबारे मुक्तिसेनाका बरिष्ठ कमाण्डरहरुबीच अनेक विकल्पमाथि बहस भयो । १) गोस्वाराको चारैपट्टिका पर्खालमा जिलेटिन फिट गरी फ्युजद्वारा विस्फोट गराउने । २) हवाइजहाजबाट बम खसाल्ने । ३) एउटा शक्तिशाली तोप बनाई पर्खाल नष्ट गर्ने वा ४) ट्याङ्कको व्यवस्था गरी पर्खाल ध्वस्त बनाउने ।

युद्ध हेडक्वार्टर विराटनगर जुटमिल्सको वर्कसपमा तोप र त्यसका सेल बनाउन सक्ने पूर्वाधार थिए । जुनसुकै उपायबाट राणालाई हटाईछाड्ने दृढताका साथ तोप बनाउने कामका लागि अनुभवप्राप्त सेनानी फत्तेबहादुर नेपाली खटिए । बम बनाउने काममा पोख्त प्राविधिक तारापद चटर्जीलाई भारतका समाजवादी कार्यकर्ता भोला चटर्जीमार्फत कलकत्ताबाट विराटनगर झिकाइयो । चटर्जी नेपाली सहयोगीका साथ रातदिन बम बनाउन खटिएका थिए । फत्तेबहादुरले दुई ओटा तोप बनाए । तोपबाट बडाहाकिमको पर्खाल भत्काउने प्रयास भयो । तर अपेक्षाबमोजिम सफलता प्राप्त हुन सकेन ।

विराटनगर जुटमिल्स एरियामा तारापद चटर्जी र उनका साथीहरुले बम बनाइसकेका थिए । टेबलमा राखिएको एउटा बम बिस्तारैबिस्तारै भुइँमा खसेको उनीहरुले पत्तै पाएनन् । भयङ्कर विस्फोटन भयो । विराटनगरमात्र होइन, भारतीय सीमापार समेत डरलाग्दो आवाज आयो । भवनको केही हिस्सा नष्ट भयो ।

विराटनगर मोर्चामा युद्ध लडेका मुक्तिसेना कमाण्डर श्याम तामाङ लेख्छन्, राणाशासनविरुद्धको क्रान्तिमा सघाउन आएका तारापद चटर्जी र उनका सहयोगीको शरीर नचिनिने गरी छरपष्ट भयो । केही पनि बाँकी थिएन । शरीरका सानासाना टुक्राहरु मात्र अलि पर भित्तामा टाँसिएका देखिन्थे । बम विस्फोट भएका बेला बीपी नजिकैको अर्को कोठामा सहयोगीहरुका साथ संघर्षको योजना बनाउँदै थिए । कोठाको भित्ता आधाजति ढल्यो । हत्तपत्त सबै बाहिर निस्किए, नत्र कोही पनि बाच्ने अवस्था थिएन ।

तोपले काम गरेन । बम बनाउने मानिसहरु पनि दुर्घटनामा मारिए । त्यसपछि क्रान्तिकारीहरु एउठा ठूलो ट्याकटरलाई ट्याङ्क बनाई बडाहाकिमको पर्खाल भत्काउने योजना कार्यान्वयनमा केन्द्रित भए । विराटनगर जुटमिल्सको वर्कसपमा फत्तेबहादुरको टिमले पाँचछ दिन लगाएर एउटा ट्याक्टरलाई ट्याङ्क बनायो । क्याटरपिलर टाइपको फलामकै चक्का भएको ट्याक्टर थियो, त्यो । पाँचछ दिनमा फलामका पाताले बरेर त्यसलाई ट्याङ्कको रुप दिइयो । मुक्तिसेनाले बडाहाकिम निवास घेरेको पनि १४ दिन भइसकेको थियो ।

केशवप्रसाद कोइराला विराटनगरका जनसरकार प्रमुख र मुक्तिसेनाका कमाण्डर जिबी याक्थुम्बा पूर्वीक्षेत्रको सैन्य कमाण्डर थिए । मेजर पूर्ण सिंहलाई नेपालभर क्रान्ति सञ्चालन गर्ने र त्यसको निरीक्षणको जिम्मेवारी थियो । सबैतिर निरीक्षण गर्न सजिलो होस् भनेर उनलाई एक जना मात्र बस्न हुने बोनान्जा प्लेन उपलब्ध गराइएको थियो । त्यही जहाजमा उनी दैनिक क्रान्ति क्षेत्रको निरीक्षण गर्थे र साँझ पटना फर्किई नेताहरुलाई रिपोर्ट दिन्थे ।

डिसेम्बर २३ का दिन मुक्तिसेना आफैँले बनाएको ट्याङ्क बडाहाकिम निवासको दक्षिणतिरबाट पर्खाल तोडेर भित्र प्रवेश गर्यो । ट्याङ्कभित्रबाट गनरहरुले बे्रनगनका गोली बर्साउन थाले । ट्याङ्क जतिजति अघि बढ्दै गयो, उत्तमविक्रम र उनका फौज अत्यधिक तर्सिएर भएभरका हतियारले ट्याङ्कमा प्रहर गर्न लाग्यो ।

मुक्तिसेनाले पनि चारैतिरबाट गोली बर्सायो । निकैबेरको हानाहानपछि मुक्तिसेनाको ट्याङ्क केही समय बडाहाकिमको इनारमा फस्यो । चालक गौरमणि फसेको ट्याङ्क बाहिर निकाल्न प्रयासरत थिए । दोहोरो गोली हानाहानले वातावरण एकदमै भयावह थियो । को कुन बेला मर्ने हो, थाहा थिएन । श्याम तामाङ लेख्छन, इनारमा फसेको १०÷१५ मिनेटपछि अनेक प्रयास गर्दा बल्लतल्ल बाहिर निस्कियो ।

बडाहाकिम र सैनिकहरुले नष्ट भयो भनेर सोचेको ट्याङ्क एकाएक ब्रेनगन फयर गर्दै अघि बढेको देखेपछि उत्तमविक्रम र उनको फौजको सातोपुत्लो उड्यो । बीपीले माइकिङ सुरु गरे, बडाहाकिम तपाईलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ । आत्मसमर्पण गर्नुस् । गर्नुभएन भने मुक्तिसेना जुनसुकै बेला घरभित्रै प्रवेश गर्न सक्छ । त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली कांग्रेस हुनेछैन । क्षणभरको भाइकिङपछि घरभित्रैबाट सेतो झण्डा देखायो, अर्थात् आत्मसमर्पण ।

बडाहाकिमले आत्मसमर्पण गरे भनेपछि मुक्तिसेनाका कमाण्डर याक्थुम्बा नेतृत्वको टोली दौडिएर भित्र जाँदै थियो । बडाहाकिमका एक जना छोरा, केही पैसा लिएर सहयोगीका साथ उत्तरपट्टि भाग्दै थिए । मुक्तिसेनाको गोलीबाट ती मारिए उनका अर्का छोरा पनि घाइते भएर भर्याङमुनि लडेका थिए । उनलाई टेक्दै जवानहरु माथिल्लो तलामा उक्लिन थाले ।

विराटनगर मोर्चामा पोलिटिकल कमिसारको हैसियतमा खटिएका गिरिजाले लेखकसँग भनेका छन्, बडाहाकिमले आत्मसमर्पण गर्यो भनेर उसलाई गिरफ्तार गर्न म पनि दौडिएर निवासभित्र जाँदै थिएँ । उताबाट गोली आयो, हुत्तिएर म धकेलिएँ । बालबाल बाचें । अलिकति मात्रै ढिलो गरेको भए, त्यहीँ मारिन्थें होला । कमाण्डर याक्थुम्बासँगै दौडिएर बडाहाकिमको घरभित्र पुगेका श्याम तामाङ लेख्छन्, त्यहाँ मसानघाट जस्तै सुनसान थियो । कसैले सास फेरेकोसम्म पनि सुनिदैनथ्यो । बीपीले भनेका छन्, म दौडिदै पुगें । हाम्रा मानिस एकदम भयानक किसिमले दोडिँदै त्यहाँ पुगेका थिए । क्रोधमा थिए, के गर्लान, के गर्लान भन्ने लाग्यो । सेतो झण्डा देखाएपछि त तिनीहरुलाई हामीले संरक्षण दिनुपर्ने ।

जाडोको समय थियो । बीपी हतारहतार घरको माथिल्लो तलामा उक्लिए । त्यहाँ देख्छन् बडाहाकिमकी श्रीमती र तीनचार छोरीहरु चोकमा डरले थर्थर काँपेर बसिरहेका छन् । त्यो साँझा जस्तो संकट उनीहरुलाई जीवनमा कहिल्यै आइलागेको थिएन । याक्थुम्बाचाहिँ रिसले आगो हुँदै नकाटी छाड्दिन भनिरहेका थिए । उनी बडाहाकिमलाई भन्दै थिए, तीन सेकेन्डभित्र तल बैठकमा नआए म स्वयम् माथि आइपुग्नेछु । केहीबेरमै सेतो कमिजसुरुवाल लगाएका बडाहाकिम दयाको भीख माग्दै बैठक कक्षमा पुगे ।

काँधमा कारबाइन राइफल र हातमा नाङ्गो खुकुरी समाएका याक्थुम्बा बडाहाकिमका लागि काल बनेर पुगेका थिए । रिसको आवेगमा उनले बडाहाकिमलाई मारिहाल्छन् कि भनेर बीपी भयानकसँग रिसाए । आत्मसमर्पण गरेको मान्छेलाई काट्ने ? बीपीले बडाहाकिमकी श्रीमती र छोरीहरुलाई आश्वासन दिए, तपाईहरु नडराउनुस् । म तपाईहरुमाथि केही हुन दिन्नँ । याक्थुम्बा यति आवेगमा थिए कि हातको नाङ्गो खुकुरी देखाएर भनिरहेका थिए, नकाटी छोड्दिनँ । बीपीले याक्थुम्बालाई घचेटेर अलि पछाडि पुर्याए ।बीपी भनेका छन्, त्यसले रिसमा जोसिएर त्यहाँको एउटा खम्बामा हानेको खुकुरी त्यहाँ अड्कियो र थरर्र हल्लिन थाल्यो । त्यति क्रोधमा आएको थियो याक्थुम्बा ।

मुक्तिसेनाले विराटनगर कब्जा गरेपछि उद्धारका लागि सरकारले काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा फौज पठाएको थियो । तर यातायातको सुविधा नभएको त्यो समयमा नेपालको एक भागबाट अर्को भाग पुग्न समेत भारत हुँदै यात्रा गर्नुपथ्र्यो । भारतले शसस्त्र फौजलाई आफ्नो रेल प्रयोग गर्ने अनुमति दिएन ।

राणाफौज पैदल विराटनगर पुग्न सहज थिएन । सरकारी फौज पुग्यो भने मुकाबिल गर्न सकिँदैन भनेर मुक्तिसेनाले कोसी तर्न नदिने रणनीति बनायो । कोसी किनारको एउटा टापुमा मुक्तिसेनाको टुकुडी राखिएको थियो । राणाफौज कोसी तर्न नसकोस् भन्नका लागि सप्तरीका सबै नाउ मोरङतर्फ ल्याइएका थिए । केही नाउ भने क्रान्तिकारीले नदीमा बगाइदिए । राणाफौज चियो गरी विराटनगरमा तत्काल खबर गर्ने काममा भारतीय समाजवादी कार्यकर्ता डा कुलदीप झा खटिएका थिए । एक जना सहयोगी र साइकल उनलाई दिइएको थियो ।

सिङ्गो कोइराला परिवार क्रान्तिमा होमिएको थियो । सुप्रिम कमाण्डर मातुकाले कान्छा भाई गिरिजालाई कोसी मोर्चामै खटाएका थिए । उनले गिरिजालाई भनेका थिए, क्रान्तिमा जनताले दुःख नपाऊन, हाम्रो सेनाले जथाभावी नगरोस् भनेर हेर्ने जिम्मेवारी तिम्रो हो । कुनै निर्णय लिनुपर्दा सैन्य कमाण्डर याक्थुम्बासँग सल्लाह लिएर काम गर्नु ।

गिरिजाले लेखकसँग भनेका छन्, कोसी कानारामा गाई चराउने मानिसहरुले खबर गरे । राणाको सेना नदी पार गर्न खोज्दै छ । चिसो याम भएकाले मुक्तिसेनाका सिपाहीहरु आगो तापेर गाउँमा बसिरहेका थिए । गिरिजाले याक्थुम्बालाई भने, उनीहरु आयो भने त रोक्नु पर्या नि ! उनले भरुवा बन्दुक दिएर पठाएछन् केही सिपाहीहरु । मैले भनें, ए यस्तो बन्दुकले कसरी लड्न सक्छन् उनीहरु ? उनले भने– यिनीहरु अनुभवी छन् सक्छन् ।

मुक्तिसेनाका बाँकी जवानहरु आगो तापेर बसे । आगो बलेको देखेर राणाफौज त्यतै आउने थाल्यो । मुक्तिसेनाका जवानहरुले फायर खोलिहले । कसैको तिघ्रामा लाग्यो । कसैलाई कता लाग्यो । कोही भागे । कोही रगतले लतपत भए । यस्तै त रहेछ भनेर उनीहरु ढुक्क भए । राणाफौज इनरुवातिर लाग्यो ।

गिरिजा र याक्थुम्बाले दुई कुनामा बसेर मुक्तिसेनाको परिचालन गर्ने सल्लाह गरे । मुक्तिसेनालाई आदेश नहुँदासम्म फायर नखोल्नु भनिएको थियो । उता, राणाफौजको चियो गर्न बसेका कुलदीप झा एकदमै ठूलो आँधी आए जस्तो गरी धुलो उडेको देखेपछि आत्तिए । राणाफौज एकदमै नजिक आइसक्यो भन्ने लाग्यो उनलाई । खबर गर्ने समय नै भएर । कुलदीपले आफूसँग भएको राइफलबाट फायर खोलिदिए । संयोगवश घोडामा सवार पल्टनको क्याप्टेनलाइ नै गोली लाग्यो । दोहोरो गोली हानाहान भइहाल्यो । कुलदीप मारिए । उनको एक फायरले राणाको पूरा पल्टनमा भागाभाग चल्यो । बीपीले भनेका छन्, भीमनगरतिरबाट उनीहरु भारतीय इलाकातर्फ भागे । उनीहरुले राइफल छोडिदिए । उनीहरुबाट हाम्रा सेनाले नौ ओटा स्टेनगन र धेरै राइफल लुटे । बीपीकाे विद्राेह जगत नेपालद्वारा लिखित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.